प्रदेश सांसदलाई पनि क्वार्टरको व्यवस्था

हरि हुमागाई
हेटौंडा । प्रदेश–३ को अस्थायी राजधानी हेटौँडा भएसँगै यहाँका सांसदहरूलाई पनि भाडाको घरमा बस्नु नपर्ने गरी हेटौँडा उपमहानगरपालिकाले व्यवस्था मिलाउँदै छ । देशका अरू ६ वटा प्रदेश र प्रतिनिधिसभाका सदस्यहरूलाई समेत अरूको घर भाडामा लिएर बस्नुपर्ने बाध्यता भइरहेको समयमा हेटाँैडामा भने प्रदेशका सबै सांसदहरूलाई पनि भाडाको घरमा बस्नु नपर्ने गरी सरकारी क्वार्टरको व्यवस्था गर्नेगरी कामको थालनी गर्न लागिएको हो । तर, हेटौँडामा भने सरकारी संरचना धेरै भएर पनि सांसदहरूलाईसमेत सरकारी घरमा राख्नका लागि सजिलो हुने भएको हो ।

हेटौँडामा रहेका एक दर्जनभन्दा बढी सरकारी संरचनामा प्रदेशका सांसदहरूलाई पनि बस्नेगरी व्यवस्था गर्न लागिएको हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताए । प्रदेश–३ का मन्त्री, सचिवहरूलाई राख्नका लागि यहाँका विभिन्न सरकारी संरचनामा क्वार्टर तयार भइसकेका छन् । अझै पनि बाँकी रहेका सरकारी संरचनामा प्रदेशका सांसदहरूलाई भाडाको घरमा बस्नु नपर्ने गरी सरकारी घरकै व्यवस्था गर्नका लागि तयारी थालिएको मेयर महतले बताए ।

यहाँका आधा दर्जन सरकारी संरचनामा सांसदहरू अट्ने व्यवस्था गर्न सकिने बताउँदै मेयर महतले भने, ‘प्रदेश–३ का १ सय १० जना सांसद मध्येमा १० जना जति मन्त्री बन्दै हुनुहुन्छ । अरू चार जना मकवानपुरको हुनुहुन्छ, यस जिल्लासँग सिमाना जोडिएको चितवनका ६ जना सांसद हुनुहुन्छ । उनीहरू बाहेक ९० जना सांसदलाई सरकारी भवनमा राख्न सकिने गरी व्यवस्था गर्नका लागि लागिपरेका छौँ ।’

प्रदेश सांसदलाई हेटाँैडा सिमेन्ट उद्योगको लामसुरेमा रहेको मन्त्री राख्ने भन्दा बाहेकको अरू क्वार्टर, सिमेन्ट उद्योगको भैसेमा रहेको क्वार्टर, हेटौँडा कपडा उद्योगको खाली भवनमा, हेटौँडाको टिसिएनमा रहेको टिम्बरअफ कर्पोरेसनको क्वार्टरहरू, डिभिजन सडक कार्यालय हेटौँडा, हेबी इकुप्मेन्टको मन्त्री राखेर बाँकीरहने क्वार्टर, हेटौँडा औद्योगिक क्षेत्रमा बन्द अवस्थामा रहेका उद्योगका खाली क्वार्टरहरू लगायतका क्षेत्रमा सरकारी क्वार्टरमा नै सांसदहरूलाई राख्न सकिने मेयर महतले बताए ।

प्रदेश सांसदहरूलाई बस्नका लागि भवन उपमहानगरपालिकाले उपलब्ध गराउने, सामान्य मर्मत, सफाई गर्नका लागि प्रदेश सरकारले खर्चगरेमा यहाँ बस्नका लागि कुनै समस्या नहुने बताउँदै मेयर महतले भने, ‘अहिले स्थानीय तहमा धेरै सरकारी कार्यालयहरू जाने भएपछि ती हेटौँडामा रहेका संरचना उपमहानगरपालिकाको मातहतमा आइरहेका छन् । ती सरकारी भवनमा पनि त क्वार्टर बनाएर बस्न सकिन्छ नी ।’

यसैगरी मुख्यमन्त्रीको निवास अख्तियार दुरूपयोग अनुसन्धान आयोगको भवनमा रहने भएको छ । अख्तियार भने आफ्नै नयाँ भवनमा सरिसकेर यो भवन अहिले खाली नै छ । सभामुख र उपसभामुख सडक डिभिजन कार्यालयको कम्प्लेक्समा रहने गरी व्यवस्था मिलाइएको छ । प्रदेशका सबै मन्त्रीहरूको सामूहिक निवास भने हेटौँडा सिमेन्ट उद्योगको क्वार्टरमा रहनेछ । त्यस्तै मुख्यसचिवको निवास क्षेत्रीय वन कार्यालयको निवासमा हुने गरी व्यवस्था मिलाइएको मकवानपुरका सिडिओ चक्रबहादुर बुढाले बताए ।

प्रतिक्रिया