पार्टी एकता चाँडै टुंगो लाग्छ : दाहाल

सौर्य समाचार
देवघाट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वामदेव गौतम नेतृत्वको कार्यदलको सुझाव आएपछि पार्टी एकताको टुंगो लाग्ने बताएका छन् । तनहूँको देवघाटमा वेद वेदांग विद्यालयको भवन शिलान्यास गर्दै दाहालले पार्टी एकताको छलफल अगाडि बढिरहेको बताएका हुन् ।

माओवादी केन्द्र र एमालेले निर्माण गरेको कार्यदलको प्रतिवेदन आएपछि मात्रै पार्टी एकता संयोजन समितिको बैठक बस्ने र पार्टी एकीकरण बारे टुंगो लगाउने दाहालले बताए । पार्टी एकताका विषयमा देखिएका शंका आशंका प्रति खण्डन गर्दै दाहालले एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएरै छाड्ने दाबी गरे । दाहालले देवघाट क्षेत्र ऐतिहासिक र धार्मिक रूपमा निकै महत्वपूर्ण रहको भन्दै भारतका कुनै पनि ठूला धार्मिक क्षेत्र भन्दा देवघाटको धार्मिक महत्व कम नभएको बताए ।

देवघाटधाम देशकै पवित्र तीर्थस्थल रहेकाले सबैको प्रयासमा यसको संरक्षरण र प्रवद्र्धन हुनुपर्ने दाहालको भनाइ थियो । देश विदेशबाट पनि देवघाटलाई निकै महत्वका साथ हेरिएको उल्लेख गर्दै दाहालले देवघाटको विकासमा सधैँ लागिरहने प्रतिवद्धता जनाए । देवघाटको योजनाहरू लिएर आफूलाई भेटेमा त्यसको लागि आफूले सक्दो पहल र प्रयत्न गर्ने दाहालको भनाइ थियो ।

आइतबारदेखि देवघाटमा सुरु भएको विराट धनधान्याञ्चल महायज्ञको अवलकोनपछि दाहालले आध्यात्मिक चिन्तनका विद्धान जन्माउने कुरामा आफ्नो सहयोग रहेको भन्दै वेद वेदांग विद्यालय निर्माणका लागि एक लाख रुपैयाँ सहयोगको घोषणा गरे । पछिल्लो समयमा आध्यामिक चिन्तनको कमीले समाज विघटनतिर गइरहेको दाहालको भनाइ थियो । आध्यात्मले विकृति विसंगति हटाउँदै समाजलाई शान्त र मर्यादित बनाउन ठूलो सहयोग पुग्ने दाहालले बताए ।

प्रतिक्रिया