मोहन चन्द
बैतडी । सुदूरपश्चिम तथा मध्यपश्चिममा लोकप्रिय बाजा दमाह अहिले लोप हुने क्रममा छ । परम्परागत तथा कलासंस्कृतीसँग जोडिएको यो दमाह बाजा अहिले काहीँकतै मात्र देख्न र बजेको सुन्न पाइन्छ ।
मन्दिरमा देवता पुज्दा, विवाह, व्रतबन्धजस्ता शुभकार्य गर्दा दमाह बाजा अनिवार्य रूपमा बजाउनुपर्ने परमपरागत मान्यता छ । अहिले भने यो बाजा लोप हुने क्रममा छ । चारैतिरबाट ताम्रपत्रले बनेको र बिचमा जनावरको छालाले बनेको दमाह सुरिलो धुनमा बज्ने गर्दछ । पुरानो पुस्तासँगै अहिले दमाह बाजा पनि लोप हुन थालेको हो । यो बाजा जातिसँग पनि सम्बन्धित छ । विशेषगरी दलित जातिले बजाउने यो बाजा अहिले सबै जातजातिले बजाउने गर्दछन् ।
यो बाजा परम्पराअनुसार निःशुल्क बजाउनुपर्ने हुनाले पनि नयाँ पुस्ताले यो पेसा छाडेको पाइन्छ । यो पेसा छोड्दा दमाह बाजा नै हराएर लोपोन्मुख अवस्थामा पुगेको हो । यो परपरागत बाजा हो । यदि हामीले कला संस्कृतीको जगेर्ना नगर्ने हो भने यो पछिल्लो पुस्ताले थाहा नपाउने हुनाले संस्कृति नै धरापमा पर्ने भएकाले यसको संरक्षण गर्नु आवस्यक रहेको बताउँछन् पञ्चेश्वर गाउँपालिका–३ का रामबहादुर चन्द । बाहिरी संस्कृति भित्रिँदै र हाम्रो स्थानीय कलासंस्कृति लोप भइरहेको हँुदा नयाँ पुस्तालाई जानकारी गराउनको लागि समयसमयमा स्थानीय कलासंस्कृति झल्किने मेला–महोत्सवको आयोजना गरिनुपर्ने चन्दको भनाइ छ ।
स्थानीय जानकारका अनुसार पूजापाठ गर्दा ध्यान केन्द्रित गर्न र बाहिरको अवाज नसुनियोस् भन्नको लागि दमाह बाजा बजाउने गरिन्छ । दमाहलाई पूजापाठमा मात्र सीमित नराखी विवाह व्रतबन्ध रमाइलोका लागि पनि प्रयोग गर्दै आइएको थियोे । अहिले यो बाजा व्यवसायिक पनि बन्दै गएको छ ।
परम्परागत बाजाको संरक्षण गर्ने हो भने हामी बाजा बजाउनेको स्थानीय तहले पारिश्रमिक तोकिदिनुपर्ने पञ्चेश्वर छलिया बाजा समितिका अध्यक्ष मुकेशराम औजीले बताए । अहिले यो बाजा केही मात्रामा धार्मिक कार्यमा मात्र नभई बिदाइ, स्वागत, पार्टी, विवाह, व्रतबन्धजस्ता मनोरञ्जनात्मक कार्यमा पनि शुल्क लिएर बजाउने गरिन्छ । नयाँ पुस्ताले भने यो पेसालाई अँगालेका छैनन् । छलियाँ हुडकेली, गौरामा पनि दमाहको प्रयोग हुन्छ । यस्ता परमपरागत बाजा कलासंस्कृतिको जर्गेना गरेर विदेशी संस्कृति भित्रिन रोक्नुपर्छ ।
प्रतिक्रिया