ब्रेनट्युमर पीडित दीपाको उपचारमा सहयोग

खोटाङ, १७ माघ । ऐँसेलुखर्क गाउँपालिका-२, बाकाचोलकी ब्रेन ट्युमर पीडित बालिका दीपा राईलाई रु ७८ हजार ४९५ रुपैयाँ सहयोग प्राप्त भएको छ ।

यसअघि हङकङ निवासी शुभेच्छुकबाट एक लाख १४ हजार ४०० सहयोग प्राप्त भएकोमा ती १२ वर्षीया बालिकालाई पुनः उपचार खर्चस्वरुप सहयोग प्राप्त भएको हो ।

दीर्घायु गुरु अस्पताल, चाबहिलमा शल्यक्रिया गरिएकी बालिकालाई हलेसी तुवाचुङ नगरपालिका-८ धितुङ दियाले घर भई हाल पोर्चुगलमा कार्यरत अनिल राईको पहलमा संकलन भएको रु ४५ हजार, हङकङमा रहेका मिठासरी राईको पहलमा संकलन भएको २२ हजार ८४५ रुपैयाँ प्राप्त भएको छ ।

यस्तै, ओखलढुङ्गा नारायणस्थान अँधेरी घर भई हाल कोरियामा रहेका युन्ना राईबाट रु १० हजार प्राप्त भएको ‘दीपा राई बचाउ अभियान’ले जनाएको छ ।

बिरामी परेपछि गत मंसिर ५ गते शीक्षण अस्पतालमा पु¥याएपछि दीपालाई ब्रेन ट्युमर भएको पुष्टि भएको बाबु वीरबहादुर राईले बताए । चार छोरीमध्ये घरकी जेठी छोरी दीपा जालपा मावि बादेलमा कक्षा ७ मा अध्ययनरत छिन् ।

अर्थ अभावमा भारत लैजान नसकिएपछि बालिकाको दीर्घायु गुरु अस्पताल चाबहिलमा पुस ८ गते शल्यक्रिया गरिएको थियो । आर्थिक अवस्था कमजोर रहेको राई परिवारमा दीपालाई ब्रेन ट्युमर भएपछि समस्या भएको छ ।

प्रतिक्रिया