‘डान्स क्लब’ मा गोलीहानी १४ को हत्या

ब्रसिलिया, १४ माघ । ब्राजिलको उत्तरपूर्बी सहर फोर्टालेजामा रहेको एउटा ‘डान्स क्लब’ नृत्य सहितको रेष्टुरेन्टमा अज्ञात व्यक्तिले गोलीहानी कम्तीमा १४ जनाको हत्या गरिएको समाचार छ ।

यस दुर्घटनामा परी अन्य १४ जना घाइते भएको स्थानीय अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । फोर्रो डो गागो नामक डान्स क्लवमा अत्याधिक भिड भएका बेला शनिबार एकाविहानै सहभागीहरुलाई लक्षित गरेर गोली चलेको थियो ।

प्रत्यक्षदर्शीहरुले स्थानीय ग्लोबो टिभीलाई बताएअनुसार बन्धुकधारीहरु कारमा आएर क्लबमा पसेका थिए र अन्धाधुन्द गोली प्रहार गरेका थिए ।

झण्डै आधा घण्टासम्म नै उनीहरुले उक्त क्लबमा आक्रमण गरेर फरार भएका प्रत्यक्षदर्शीले जनाएका छन् । आक्रमणबाट घाइते हुनेमध्ये केही बालबालिका समेत परेका छन् ।

घाइतेमध्ये केहीको अवस्था चिन्ताजक हरेको अस्पतालका अधिकारीहरुले बताएका छन् । केही व्यक्तिहरुले सामाजिक सञ्जालमा राखेको फोटोमा कम्तीमा १२ जनाको शव भुइँमा लडेको देखिएको छ भने तीमध्ये अधिकांश महिला रहेका छन् ।

स्थानीय प्रहरी अधिकारीहरुले यो घटना अहिलेसम्म देखेको भन्दा क्रुर घटना भएको बताएका छन् । डान्स क्लबका भित्ताहरु, घरको वरिपरी र त्यहाँका सवारी साधनहरुमा गोली लागेको दागहरु देखिएका छन् भने क्लब पुरै रक्तपातपूर्ण भएको छ ।

स्थानीय प्रहरी अधिकारीहरुले घटना पुरै पुर्व तयारी अनुसार भएको जस्तो देखिएको बताएका छन् । उनीहरुले घटनाका बारेमा अनुसन्धान सुरु गरिसकिएको जानकारी पनि दिएका छन् ।

प्रतिक्रिया