६ महिनादेखि खुल्लाचौरमै पढाइ

-मीना बुढाथोकी  सल्यान । सल्यानको एक विद्यालयमा विद्यालय भवन भत्किएको ६ महिनासम्म मर्मत नहुँदा विद्यार्थी खुल्ला चौरमा पढ्दै आएका छन् । कुमाख गाउँपालिका–७ स्यानीजिमालीमा रहेको जनता आधारभूत विद्यालयको भत्किएको भवन मर्मत हुन नसकेपछि समस्या भएको हो । गएको साउनमा विद्यालयको चार कोठे भवन भत्किएपछि ६ महिनादेखि विद्यार्थी खुलाचौरमा पढ्न बाध्य छन् । बाल विकासदेखि कक्षा ६ सम्म सञ्चालन भएको विद्यालयमा चार वटा कक्षाकोठाको अभाव छ ।

‘भत्किएको भवन मर्मतको लागि जिल्ला शिक्षा कार्यालय हुँदै विभिन्न सरोकारवालासँग अनुरोध ग¥यौँ’ विद्यालयका प्रधानाध्यापक जनकराज डिसीले भने ‘तर, कहीँ कतैबाट पनि सहयोग प्राप्त भएन ।’ गएको साउनमा वर्षाका कारण विद्यालयको चारकोठे भवन भत्किएको थियो । भवन नहुँदा विद्यार्थीले निकै सास्ती झेल्नुपरेको प्रअ डिसीले बताए । ‘पानी परेको वेलामा दुई÷तिन वटा कक्षा एकै ठाउँमा राखेर पठाउँछौँ’, प्रधानाध्यापक डिसीले थपे, ‘कि त विद्यालय नै बन्द गर्छाैं ।’

कहीँ कतैबाट भवन मर्मतका लागि सहयोग आएमा आफूहरूले आवश्यकताअनुसार श्रमदान गर्न तयार रहेको विद्यालय व्यवस्थापन समितिका सदस्य अकवर बोहराले बताए । बोहराले भने, ‘कसैले विद्यालयको मर्मतमा सहयोग गरेको खण्डमा हामीले गर्न सक्ने सवै काम श्रमदानबाटै गर्न सक्छौँ ।’ हाल विद्यालयमा बाल विकासदेखि कक्षा ६ सम्म ९९ जना विद्यार्थीले अध्ययन गरिरहेका छन् ।

माथिल्लो कक्षा पढाइ हुने अर्को विद्यालय टाढा भएकोले विद्यालयले आगामी शैक्षिक सत्रदेखि कक्षा ७ समेत सञ्चालन गर्ने योजना बनाएको छ । तर, भवन नहुँदा त्यस योजनामासमेत असर परेको बोहराले बताए । भवन मर्मत नहुँदा विद्यार्थीले खुल्ला आकाशमा पढिरहेका छन् । पानी परेको दिन अधिकांश विद्यार्थी खुला चौरमा पढ्नुपर्ने वाध्यताले विद्यालय नै नआउने गरेको विद्यालयका प्रधानाध्यापक डिसीले बताए ।

विद्यालयले हाल सिकाइ उपलव्धी सुधारको लागि कक्षा १ र २ मा इजिआर विधिबाट पठनपाठन गरिरहेको छ । भने बाल विकास केन्द्रमा प्रारम्भिक साक्षरता र गणितीय सीपको ज्ञान सिकाइरहेको छ । भवन नहुँदा प्रर्याप्त मात्रामा शैक्षिक सामग्री प्रयोग गरेर सिकाउन नसकिएको प्रअ डिसीले बताए । ‘बाहिर पढाउँदा विद्यार्थीको ध्यान विकेन्द्रित हुने भएकोले समस्या परेको छ’, डिसीले भने ।

 

प्रतिक्रिया