पुस्तक व्यवसायीलाई मर्यादित हुन मन्त्रीकाे आग्रह

काठमाडौँ, ८ माघ । शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले पुस्तक व्यवसायीलाई मर्यादित हुन आग्रह गरेका छन् ।

पाँचौँ राष्ट्रिय पुस्तक दिवस एवं वसन्तपञ्चमीका अवसरमा सोमबार राजधानीमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, काठमाडौँद्वारा ‘पठन संस्कृतिको विकासमा राष्ट्रिय पुस्तक दिवसको महत्व’ विषयक विचार गोष्ठीमा राज्यमन्त्री अधिकारीले पुस्तक व्यवसायमा हुने विकृति र विसंगतिलाई निरुत्साहित गरी मर्यादितरुपमा पठन संस्कृतिको विकासमा लाग्न आग्रह गरेका हुन् ।

“पुस्तकालयलाई व्यवस्थित गर्न डिजिटल प्रविधिलाई विद्यालय तहसम्म आत्मसात् गराउन पहल गरिएको छ,” उनले भने ।

नेकपा एमालेका केन्द्रीय सदस्य ठाकुर गैह्रेले आफूहरु विद्यार्थी आन्दोलनमा लाग्दा पुस्तक पढ्न पाउने अधिकारका लागि लडाइँ गर्नुपरे पनि अहिलेको लोकतान्त्रिक गणतन्त्रले लेखकीय र अभिव्यक्ति स्वतन्त्रता दिएकाले यसको उपयोगमा जोड दिए ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले पठन संस्कृतिको विकासका लागि राज्यका सबै निकायले पुस्तकलाई प्रवद्र्धन गर्नुपर्ने बताए ।

नेकपा माओवादी केन्द्रका पोटिलब्युरो सदस्य हिमाल शर्माले प्रत्येक स्थानीय तहमा पुस्तकालयको विकास र प्रवद्र्धन गर्नुपर्ने बताए ।

शिक्षाविद् डा. विद्यानाथ कोइरालाले प्रविधिको विकासले पुस्तकलाई मोबाइलको एप्समा सीमित गरिसके पनि नयाँ पुस्तालाई आवश्यक र सन्देशमूलक पुस्तकको सही बजारीकरण हुन नसकेको बताए ।

महासंघका केन्द्रीय अध्यक्ष हरि अर्यालले पुस्तक दिवसलाई नेपाल सरकारले राष्ट्रिय मान्यता दिनुपर्ने माग गरे । कार्यक्रम अघि महासंघले भृकुटीमण्डपदेखि पुतलीसडक हुँदै बागबजारको शहीद शुक्र माविसम्म पदयात्रा गरेको थियो ।

प्रतिक्रिया