पहिलो कमाइ बुबा, आमा र गुरुलाई उपहारमा खर्चे – ओमा कर्की

ओमा कर्की, क्यामरा पर्सन

काँधमा ठूला क्यामरा लिएर पुरुषसँगै भिडभाडमा काम गर्न महिलाका लागि कम कठिन हुँदैन । अझ महिलालाई त्यो सजिलो छैन । अर्को कुरा हाम्रो समाजमा त्यो काम पुरुषको मात्र हो भन्ने सोचाइ पूर्णरूपमा अन्त्य पनि भएको छैन । आन्दोलन, धर्ना झडपका बेला अझै कठिन हुन्छ । तर, त्यहि असहजतालाई सहजता बनाएकी छन् क्यामरा पर्सन ओमा कार्कीले ।

सानैदेखि टेलिभिजनमा देखाइने कार्यक्रम हेर्न सौखिन उनी आमाको गाली नखाँदासम्म टेलिभिजनमा झुम्मिएको सम्झना अहिले पनि ताजै छ । स्कुल र कलेजका पढाइमा भन्दा उनलाई टेलिभिजन हेर्नमा सोख थियो । त्यही सोखले उनलाई पुरुष क्यामरा पर्सनको भिडमा प्रवेश गर्ने आँट दिलाएको छ ।

ओमाको मथिंगलमा बाल्यकालका ती दिनहरू क्यामराका रिलजस्तै फनफनी घुम्दा ती दिनहरू सम्झन्छिन, ‘म टेलिभिजन हेर्दाहेर्दै टोलाएर सोच्थेँ, यो दृश्य कसरी बनाएको होला ? सुटिङ कसरी गर्छन् होला ? यस्तो सोचिरहँदा आमाको गाली धेरै खाएको छु । यो जतिबेला पनि त्यही टिभीमा झुन्डिन्छे भन्दै आमाले धेरै हप्काउनुभयो ।

यही क्रममा एकदिन एउटा सुटिङ हेर्ने अवसर पाए । अनि थाहा भयो यही क्यामरामा लिएको दृश्य नै दर्शकका बीचमा पुग्दा रहेछन् भनेर, त्यही दिनदेखि क्यामरा पर्सन बन्ने सपना देखेँ ।’ म पनि ठूलो भएर यस्तै क्यामरा चलउँछु र आफूले लिएको दृश्य देखाएर दर्शकलाई रमाइलो अनुभूति दिन्छु भन्ने ।


हरेक कामका लागि सीप र ज्ञानको आवश्यकता हुन्छ भन्ने उनले बुझिन् । गुरु मानबहादुर थापासँग ‘ड्रिम्स क्रियसन’ तालिम लिइन् । तालिमपछि विभिन्न कम्पनीमा काम गर्दै उनलाई टेलिभिजनमा काम गर्ने रहर जाग्यो । टेलिभिजनका दर्शक बढी हुने भएकाले उनको ध्यान टेलिभिजनतिर गएको बताउँछिन् ।

उनको पहिलो टेलिभिजन प्रवेश एभिन्युजबाट भयो । यतिबेला एक वर्षदेखि जनता टेलिभिजनमा नयाँ प्रविधिका क्यामरा चलाउँछिन् । ‘जनतमा आएपछि फ्लू ‘एचडी’ प्रविधिका स्टुडियो डकुमेन्टको प्रयोग, नयाँ प्रविधिसँग मन खोलेर काम गर्न पाउँदा अझ बढी ज्ञान हासिल गर्ने मौका मिलेको छ ।’ उनले भनिन् ।

काम गर्ने क्रममा उनले धेरै म्युजिक भिडियो, टेलिफिल्म, टेलिभिजनमा प्रसारण हुने टक सोजस्ता कार्यक्रममा धेरै निर्देशकसँग काम गरेको उनले बताइन् । उनको अनुभव र काम गर्दा आफूभन्दा सिनियरसँग पाएको माया, प्रेरणा र हौसलाले काम गर्न सहज भएको उनलाई लाग्छ । यस्तै अवसर र माया पाइरहे जीवनमा अझै धेरै प्रगति गर्ने उनको चहाना छ ।

कामको पहिलो अनुभव सम्झँदै उनले भनिन्, ‘भर्खरै क्यामरा चलाउन सिक्दै थिएँ, एउटा विवाह समारोहको भिडियो खिच्नु थियो । विवाहमा गएर क्यामरा निकालेर क्यामरामा टेप राख्नु पर्ला भनेर हेरेको त टेप राख्ने ठाउँ नै भेटिनँ, अब के गर्ने भन्दै मलाई सिकाउने गुरुलाई फोन गरे, उहाँले क्यामरोको मोडल सोध्नुभयो, अनि उहाँले मेमोरि कार्ड होला झोलामा खोजेर राख र मेनुमा हेरेर फरम्याट गरी खिच भन्नुभयो ।

उहाँले भनेजस्तै गरेर खिचे । क्यामरामा टेप राख्छन् भनेको त, ‘एसडी’ कार्ड लाग्दोरहेछ भन्ने त्यतिबेला थाहा पाएँ । त्यो दिन सम्झँदा अहिले पनि हाँसो उठ्छ । त्यो दिनदेखि काममा जानुअघि सचेत हुन थालेँ ।’ विनातयारी वा जानकारी गइयो भने दुःख पाइन्छ भन्ने सिकाइ भयो त्यो दिन मलाई ।


कामको सिलसिला धेरै निर्देशकसँग वरिष्ठ क्यामरा पर्सनसँग काम गर्ने अवसर पाएको उनले बताइन् । मान्छेलाई क्यामरा पुरुषले मात्र चलाउँछन् भन्ने ठान्छन् । ओमालाई भने आफू महिला भएकाले यो काम पुरुषको हो भन्ने कहिल्यै लागेन । परिवारको साथ र काम गर्ने क्षेत्रमा साथीभाइको सहयोगले उनलाई सहजता महसुस भएको छ ।

समय क्रममा उनले नयाँ प्रविधि र नयाँ मान्छेसँग काम सिक्न र बुझ्न पाएको सुनाइन् । आफूलाई महिला भएका कारण कहिल्यै हीनताबोध नभएको उनको अनुभव छ । महिला भनेर सबैले माया गर्छन् कतिलाई यसलाई गाह्रो हुन्छ भन्ने ठान्दा रहेछन् र सहयोग गर्छन् । अहिलेसम्म सबैबाट माया र सहयोग पाइरहेको उनले सुनाइन् ।

काम गर्दा धेरैले प्रेरणा दिएको उनले बताइन् । घरमा पनि आमाबुबाको सहयोग र प्रेरणा पाएकी छन् उनले । कहिलेकाहीँ पाउने मानसम्मान र पुरस्कार उनको थप हौसला र कामप्रति दबाब ठान्छिन् उनी । ओमाले जीवनमा कमाएको पहिलो कमाइ आमाबुवा र गुरुका लागि मायाको चिनोमा खर्चिएको सुनाइन् । ‘मैले आफ्नो पहिलो कमाइ जन्मदिने बुबा, आमा र ज्ञान दिने गुरुका लागि खर्च गरेँ, मिहिनेत गरेर कामाएको पैसा हात पर्दा निकै खुसी लाग्यो, त्यो पैसाले उहाँहरूको लागि मायाको चिनो किनेँ ।’ कमाइको रकम भने खुलाउन चाहिनन् उनले ।

आउने दिनमा पनि क्यामरा चलाउने कामलाई मुख्य पेसा बनाउने उनको चाहना छ । समयअनुसार आफूलाई निखार्नु र क्षमताको विकास गर्नुपर्ने उनले बताइन् । अझै धेरै सिक्नु बाँकी रहेको उनले सुनाइन् । भविष्यमा राम्रो छायाँकार बन्ने उनको लक्ष्य छ । अझ राम्रा चलचित्रमा छायांकन गर्ने उनको योजना छ । यो क्षेत्र हरेक दिन नयाँ नयाँ प्रविधि आउने भएकाले प्रविधिका बारेमा हरेक दिन जानकार हुनु आवश्यक रहेको उनले सुनाइन् ।


नेताहरूको भाषण छायांकन गर्दा वा औपचारिक कार्यक्रममा जाँदा समस्या हुँदैन । तर, कहिलेकाहीँ धर्ना, जुलुस र प्रदर्शनमा अलि गाह्रो हुन्छ, फेरि त्यतिबेलै सोच्छु यही गाह्रोले त मलाई सबैका सामु चिनाउँछ ।

काममा निखार ल्याउँछ भन्ने सोचेर कामको समस्या भुल्छु ।’ उनले भनिन् । काममा कहिल्यै रोजेर वा ईच्छाले भन्दा अह्राएको गर्ने गरेको उनले सुनाइन् । भविष्यमा पनि यसैगरी काम गर्दै जाने र आफूलाई प्रविधि र समयसँग निखार ल्याउने प्रयास गर्ने उनको चाहना छ ।

प्रस्तुतिः चमिना भट्टराई

प्रतिक्रिया