नेपाली युवाका लागि वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य बनेको छ, दक्षिण कोरिया । नेपालमा भएका वेला आफूले खाएको थाल माझ्न र लगाएको सर्ट धुन पनि मरेजस्तै ठान्ने युवाहरू कोरिया पुगे के–के न गरूँला भन्ने ठान्दछन् । तर, त्यही कोरिया जाँदा अपनाउनुपर्ने सावधानी र त्यहाँ जाने नेपालीको भोगाइ जान्न पनि चाहँदैनन ।
पछिल्ला केही वर्षयता वैदेशिक रोजगारीका लागि सबैभन्दा पहिलो रोजाइमा पर्छ कोरिया । तर, कारियामा जाने युवाबारे समाचारहरू आउन थालेका छन् । पछिल्लो तथ्यांकअनुसार रोजगारीका लागि कोरियामा गएकाहरू कहिले ओछ्यानमा मृत त कहिले रुखमा झुन्डिएको अवस्थामा शव भेटिनु पनि नौलो हुन छोडेको छ ।
सन् २०१८ को जनवरी १० अर्थात् गत साता बुधबार महोत्तरी बर्दीवासका २५ वर्षीय प्रकाश थापामगर कम्पनीपछाडि झुन्डिएको अवस्थामा मृत भेटिए । अनेक दुःख गरेर उनी ७ महिनाअघि मात्रै कोरिया पुगेका थिए । उनको कोरिया सपना पूरा भए पनि भविष्यको सपना भने त्यसै मरेर गयो । कोरिया पुगेपछि प्रकाश गम्भीर रोग लागेको भन्दै घर फर्किने तयारीमा टिकटसमेत लिइसकेका थिए । तर, उनी परिवारका लागि कफनमा शव बनेर फर्कंदै छन् ।
प्रकाश प्रतिनिधिपात्र हुन्, धन कमाएर परिवारलाई सुखी र खुसी बनाउन ऋण काढेर कोरिया गएका अरूको पनि त्यस्तै हाल छ । प्रकाशको आत्महत्या वा हत्या, अन्योल छ । यसबारेमा स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको छ । इपिएस नेपालको तथ्यांकअनुसार २००८ मा इपिएस प्रणाली सुरु भएदेखि अहिलेसम्म दक्षिण कोरियामा ८१ जना नेपाली कामदारले ज्यान गुमाएका छन् । यो ओझेलमा पर्ने गरेको छ । त्यहाँ गएर भोगेका युवाको भोगाइ छायामा परेका छन् । कोरिया जानेहरूले आफूखुसी चल्न पाउँदैनन् । अर्कोको देशको नियमलाई पच्याउनैपर्छ ।
यो ९ वर्षको अवधिमा कोरियामा ज्यान गुमाएकामध्ये कतिले सुतेको ठाउँबाट बिहानी देख्नै पाएका छैनन् । यसरी सुतेको समयमा मृत्यु हुनेको संख्या १८ छ भने आत्महत्या गर्नेको संख्या त्यसैको हाराहारीमा १७ रहेको इपिएस शाखाले जनाको छ । त्यसबाहेक कम्पनीभित्र काम गर्ने क्रममा हुने दुर्घटनामा १० जना, सडक दुर्घटनामा ७ जना, सँगै बसेका वा सँगै काम गर्ने साथीसँगको आपसी झगडामा २ जना, स्वाभाविक ढंगबाट १ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ । यसरी कोरियामा ज्यान गुमाउने बाँकी २६ जनाको मृत्युको कारण भने खुलेको छैन । यसबारे नेपालमा हुने परिवार अहिले पनि अनभिज्ञ छन् ।
वैदेशिक रोजगारीमा जाने नेपाली युवाले जानुपूर्व अपनाउनुपर्ने सचेतनताबारे ध्यान दिन नसक्दा अनेक प्रकारका समस्या झेल्ने गरेका छन् । त्यो समस्यबाट कोरिया जानेहरू पनि अछुतो भने छैनन् । विदेशमा भाषाको समस्या, औद्योगिक ज्ञान र सीपको कमीलगायतले त्यहाँ काम गर्नेले समस्या झेल्ने गरेका छन् । त्यसलै परिवारबाट टाढा त्यो नि आफ्नो इच्छाले गएको मान्छेले किन मृत्यु रोज्छ वा मृत्यु हुने गर्छ भन्नेबारे अहिलेसम्म कारण निश्चित हुन सेकेको छैन ।
छिट्टै धेरै पैसा कमाउने उच्च महत्वाकांक्षा राख्ने तर, नयाँ ठाउँ र नयाँ परिवेशबारे यथार्थ जानकारी नहुँदाका कारण कैयौँ समस्या आउने गरेको दूतावासमा आउने गुनासो र नेपाल फर्कनेहरू गर्छन् । यस्तै, तालमेल नमिल्दा कैयौँ दुःखद घटना हुने गरेको इपिएसको अनुसन्धानमा देखिन्छ । यसैगरी, कोरिया जाने छनोट प्रक्रिया सही नभएको गुनासो पनि आउने गरेको छ । जे भए पनि यो ९ वर्षको अवधिमा कोरियामा ८१ जना नेपालीले किन ज्यान गुमाए ओझेलमा पारिनुहुँदैन । नेपाली युवाहरूको रोजगारीका लागि रोजाइ बनेको कोरिया जानेहरू जे सोचर गएका छन् । त्यसैगरी नेपाल फर्किऊन् भन्नेमा सरोकारवालाले वेलैमा सोच्नुपर्छ ।
कोरिया जानेहरूको छनोट प्रक्रियामा उनीहरूलाई कार्यालयमा काम गराउने लाने जसरी गरिने र काम भने शारीरिक बलको गर्नुपर्दा उनीहरूमा हीनताबोध हुन सक्छ । जाने समयमा अनेक प्रकारका पढाइ–लेखाइ पास गर्नुपर्ने उता गएर मेसिन चलाउन पर्दा उनीहरूमा फ्रस्टेसन हुन सक्छ । यस्ता समस्याले वैदेशिक रोजगारीमा गएकाहरू समयअवधिअगावै फर्कने गरेका धेरै नै उदाहरणहरू छन् । जसरी पनि जाने र गएर दुःख पाउनेहरू पछुताउनुबाहेक केही रहँदैन ।
अर्को कुरा परिवर्तित ठाउँ र परिवेशअनुसार आफूलाई तयार गर्न नसक्नु पनि समस्या हुने गरेको छ । दिनभरि काम गरेर साँझ परिवारसँग कुरा गरी सुतेको मान्छे आत्महत्याजस्तै सुतेकै अवस्थामा मृत्यु हुनेको संख्या पनि उत्तिकै छ । सुतेकै अवस्थामा मृत्यु हुनुका कारण पत्ता नलागे पनि धेरै रक्सी पिएर सुत्नु, कोठामा अक्सिजनको कमीजस्ता कारण हुने गरेको छ ।
हत्या, आत्महत्या, वा जेजसरी नेपालीहरूको कोरियामा मृत्यु हुने गरेको छ त्यसको रोकथामका लागि इपिएस नेपालले पहल थालेको छ । यी सबै प्रकारका समस्या समाधान गर्न इपिएसले यसै महिनामा मनोरोग विशेषज्ञ तथा मुटुरोग विशेषज्ञको टोली कोरिया पठाउने भएको छ । आखिर कोरियामा किन ज्यान गुमाइरहेका छन् नेपालीहरू ? चासोको विषय बनेको छ । टोलीले त्यहाँका नेपाली कामदारको मनोभाव बुझ्ने तथा स्वास्थ्यअवस्थाको जाँच गर्ने भएको छ ।
तलब सुविधाको दृष्टिले आकर्षक रोजगार गन्तव्यको रूपमा हेरिएको दक्षिण कोरियामा नेपाली कामदार औपचारिक रूपमा जान थालेको ९ वर्ष पूरा भएको छ । सन् २००८ बाट एम्प्लोइमेन्ट परमिट सिस्टम (इपिएस नेपाल) तथा ह्युमन रिसोर्स डेभलपमेन्ट (एचआरडी) कोरियाको संयोजनमा नेपाली कामदारहरू औपचारिक रूपमा कोरियामा रोजगारका लागि जान लागेका हुन् ।
सन् २००८ देखि २०१७ सम्ममा वैधानिक रूपमा रोजगारीका लागि कोरिया जाने नेपालीको संख्या ५० हजार १ सय ९८ पुगेको छ । २०१७ मा भएको भाषा परीक्षामा १२ हजार १ सय ८ जना उत्तीर्ण भएका छन् । उनीहरूमध्ये १० हजार २ सय जनाले कोरियामा रोजगार पाउनेछन् । जानु मात्रै ठूलो कुरा होइन, त्यहाँ गएर सुरक्षित भएर काम गर्नु अर्को ठूलो कुरा हो, यसमा जानुपूर्व सचेत हुनु आवश्यक छ । सौर्य डेक्स
प्रतिक्रिया