चमिना भट्टराई
माघीको रौनक सुरु भएको छ । तराईमा बसोवास गर्ने थारू समुदायले अत्यन्तै हर्षोल्लासपूर्वक मनाउने माघी पर्व पुस अन्तिमबाट सुरु भई माघ २ गतेसम्म मनाउने गरिन्छ । विगत वर्षमा आफूले गरेका कामको समीक्षा गर्दै नयाँ अध्याय सुरु गरिने भएकाले माघीलाई थारू समुदायले नयाँ वर्षको रूपमा पनि लिने गर्छन् ।
दुःख–सुख गरेको जुटाएको मीठोमसिनो खाँदै नाचगान गरी थारू समुदायले यो पर्व मनाउने गर्छन् । पुसको अन्तिम दिन माछा र मासुले तयार गरिएको परिकार खाएर मघौटा नाँच्दै माघी मनाइन्छ । पुसलाई बिदाइ गर्दै माघ १ गते थारू समुदायले नयाँ वर्षलाई स्वागत गर्न रातभर धमार गाएर जाग्राम बस्ने चलन पनि छ ।
माघी पर्वसँगै थारू समुदायमा विधिवत् रूपमा विवाह, अंशबन्डालगायत कार्यको थालनी हुने गर्छ । मुलुकमा लोकतन्त्र स्थापना भएपछि माघी मनाउने चलनमा केही परिवर्तन आएको छ । माघीका नाममा हुने गरेको सामाजिक विकृति अहिले समाप्त भएका छन् । हुनेखाने जमिनदारले हुँदा खाने अवस्थाका थारूका छोरीचेलीलाई एक प्रकारको बँधुवा मजदुरजस्तै बनाउने, कमलरीको मोलमोलाइ हुने दिनका रूपमा पनि माघी मनाइन्थो, आज त्यो अन्त्य भएको छ ।
नेपालको मध्य–पश्चिम र पश्चिमका केही जिल्लामा सामाजिक विकृतिका रूपमा रहेको कमैया प्रथा रहँदा माघी पर्वको अवसर पारेर कमैया मुक्त हुने र इच्छाएका व्यक्ति कमैया बस्ने चलन थियो । कानुनी रूपमा यो प्रथालाई हटेको छ । अहिले कमैया राख्ने र बस्ने दुवै कार्यलाई नेपालको कानुनले बन्देज लगाएको छ । माघीमा थारू समुदाय एकातिर धुमधामले माघी मनाउँथे भने अर्कोतर्फ आफ्ना छोरीचेलीलाई साहु जमिनदारका घरमा कमलरी बस्न पठाउँथे । यो दिन मकलरीको मोलमोलाइसमेत हुने गथ्यो ।
तर, अहिले मुलुकमा कमलरी प्रथा अन्त्य भएको छ । किशोरीहरूले कुन जमिनदारको घरमा कमलरी बस्न जानुपर्ने हो भन्ने चिन्ताबाट मुक्ति पाएका छन् । आज मुलुक तीनै कमलरीमध्येले बनाएको कानुनले सञ्चालित छ । हिजो माघीका दिन कुन जमिनदारको घरमा कमलरी बस्न जानुपर्ने हो भनेर पिरलिनेहरू आज निर्णय बनेका छन् ।
यो समयसँगै आएको परिवर्तनको सकारात्मक पक्ष हो । अहिलेका माघीमा न जमिन्दार छ, न हलिया र कमलरी सबै जनता भएका छन् । यो चारु समुदाका लागि मात्र होइन देशकै लागि रहेको विकृतिको अन्त्य हो । माघी मनाउने क्रममा उनीहरू माघ १ गते बिहानै नजिकैको तलाउ, नदी, दहमा गएर नुहाउने गर्दछन् । यसरी बिहानै स्नान गर्दा पुण्य प्राप्त हुने उनीहरूको जनविश्वास रहेको छ । स्नान पछि आफ्ना र समुदायका ठूलाबडा, मान्यजनको आशीर्वाद लिने र इष्टमित्र आफन्तलाई भेटघाट गरी एक आपसमा शुभकामना दिँदै खुसी साटासाट गरेर माघीमा रमाउँछन् थारू समुदाय ।
माघी खानु र खुवाउनसँग मात्र सीमित छैन । यो दिनमा आपसी वैमनस्य, रिस र राग त्यागेर आफन्त, इष्टमित्रलाई भेटघाट गरी मासु, तरुल लगायतका परिकार एक आपसमा बाँडेर खाने र खुवाउने गर्छन् । यसलाई थारू समुदायले ठूलो पर्वका रूपमा लिने गर्छन् । बालबालिकादेखि वृद्धवृद्धासम्मले रमाउँदै पर्वको आनन्द लिने गर्छन् । पहिले कामले एक दिन आराम हुने र मीठो खान पाइने भएर दंग हुने उनीहरू अहिले माघीमा समुदाय, क्षेत्र र पहिचानका कुरामा बहस गरेर अधिकार स्थापित गर्न समय खर्चिन्छन् ।
थारू समुदायले माघीको तेस्रो दिनलाई खिचरहुवा भन्ने गरिन्छ । उनीहरू यो दिन गाउँ चलाउनका लागि भलमन्सा, अघरिया, चौकीदारलगायत गाउँका नेतृत्वकर्ता चयन गर्ने गरिन्छ । यसलाई भुरा खेल भनिन्छ । यसैदिन प्रत्येक घर–घरमा माघी देवानीसमेत हुने गरेको छ । विगतमा घरको कामकाजको समीक्षा गर्दै आगामी कार्यक्रम पनि यही बेला तय हुने गर्छ । जसलाई ‘खोज्नी बोज्नी’ भन्ने पनि गरिन्छ ।
माघी पर्वको अवधिभर थारू समुदाय ‘माघ लहैली सुरज पाइँ लग्ली रे हाँ, सखिये हो बाबाकी सगरम मुरिया लहान’ जस्ता बोलको कोरस गाउँदै बूढापाका, तन्नेरीहरू नाचगान गर्ने गर्दछन् । यसलाई ‘मघौटा नाच’ भन्ने गरिन्छ । समयसँगै माघीको गीतमा आधुनिकताले प्रवेश पाएको छ । अचेल माघीको गीतलाई ठट्यौली पारामा ‘माघ लहैली सुरिक सिकार खैली रे हाँ, सखिये हो माघक पिली गुरीगुरी जाँर’ गीत गाउँदै युवापिँढीहरू नाचगान गर्ने चलन पनि छ ।
माघी पर्वको धार्मिक, सांस्कृतिक, सामाजिक महत्व रहेको छ । पहिचानको माग बढी रहेको बेला थारू समुदायका बुढा पाका मात्र होइन युवा पुस्तामा पनि माघीले राम्रो स्थान बढाउँदै गएको छ । परिवारको हैसियत जस्तोसुकै रहे पनि सबैले माघी पर्व मनाउँछन् । ऋणधन गरेर भए पनि उनीहरू माघीमा रहमाउन र मीठो खाने अवसरबाट पछि पर्दैनन् । सबै थारूका घरमा माछा मासु लगायतको परिकार पाक्छ । यतिवेला तराईका थारू मात्र होइन जहाँ बसेका थारू पनि एक आपसमा माघीको रौनकमा रमाउने गर्छन् ।
केही वर्ष पहिला तराईमा मात्र सीमित रहेको माघीको रौनकले राजधानी लगायतका ठाउँमा बस्ने थारू समुदायलाई पनि प्रभाव पार्न थालेको छ । माघी पर्वका साथै राजनीतिक विचार र कुण्ठा पोख्ने मञ्चको रूपमा पनि विकास हुँदै छ । हरेक पार्टीमा आस्था राख्ने थारू समूदायले आ–आफ्ना समूहमा यो पर्व मनाउँछन् ।
प्रतिक्रिया