चमिना भट्टराई
करिब तीन सातादेखि रुघाखोकी र भाइरल ज्वरोले थलिएको जाजरकोटमा झाडापखालाबाट मंगलवार थप एक जनाको ज्यान गएको छ भने अन्य तीन जना बिरामी परेका छन् । जाजरकोटलाई बेलाबेला झाडापखालाले दुःख दिइरहन्छ । उतै त दुर्गम अनि पिछडिएको जुनीचाँदे गाउँपालिका त्यहीमाथि यस्ता समस्याले स्थानीयलाई झस्काउने गरेको छ ।
भाइरल ज्वरोको प्रकोपबाट मंगलबार नै जुनीचाँदे गाउँपालिका–२ का नविन नाथको निधन भयो । योसँगै भाइरलको प्रकोपबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ भने दुई हजारभन्दा बढी बिरामी भएका छन् । यति ठूलो मानवीय क्षति हुँदासम्म राज्यले उचित पहल गर्न सकेको छैन । जाजरकोटमा प्रकोपको र मानवीय क्षतिका आधारमा राज्यले सामान्य रुपमा हेरेको अनुभूति हुँदै छ । यसको बारेमा राज्य किन गम्भीर हुन सकिरहेको छैन ?
केही वर्षदेखि असार–साउन आयोकि जारकोटेका लागि झाडापखाला नियतिजस्तै बनेर आउने गरेको छ । बर्सेनि झाडापखालालले परिवारका सदस्य गुमाउँदै आएका उनीहरूले पुसको कठ्यांग्रिने जाडोमा झाडापखलाका साथै भाइरलको प्रकोपको समाना गर्नुपरेको छ । रोगले थिलथिलिएर परिवार गुमाउनेको पीडा तीनै जारकोटेले भोगेको छन् । ‘अचनोको मर्का खुकुरीलाई के थाहा ?’ पूर्खाले त्यतिकै भनेको उखान होइन । जीवनजल र सिटामोल नपाउने जाजरकोटका दुर्गम गाउँका जनतालाई राज्य र राज्यको दायित्व र पहुँच थाहा भइदिएको भए उनीहरू पनि टायर बाल्दा हुन् वा आमहड्ताल गर्दा हुन् । अनि सुन्दो हो राज्यले त्यहाँको पीडा ।
जनतामा अहिले पनि चेतनाको कमी छ । अस्पताल र औषधि उनीहरूको पहुँच बाहिर छ त्यसैले धामी र झाक्रीका ढ्याङग्रोले परिवार बचाउन सकिन्छन की भन्दै धामीलाई भाले बुझाउँदैछन् । परिवार बचाउने आसमा तर उनीहरूका ती प्रयास धामीका लागि भाले उपलब्धी बाहेक केही हुन सकेको छैन । राज्य अन्धोजस्तै भएको छ । देखे नदेखे जस्तो गर्दै छ जाजरकोटको पीडा । दिनदिनै प्रकोप फैलँदै छ । आफ्नै अगाडि आफन्त छट्पटाएर परलोक भएको हेर्नु उनीहरूका लागि समान्य जस्तै भएको छ । भाइरलका कारण मात्र ज्यान गुमाउनेको संख्या दिनदिनै बढिरहेको छ । सिंहदरबारमा बस्नेको कानमा उनीहरूको समस्या पुग्न सकेको छैन ।
हरेक वर्ष जाजरकोटलाई यस्तै प्रकोपले चिथोरीरहेको छ । तर, राज्य थुमथुमाउनुबाहेक केही गर्दैन किन ? राज्यका करडौँ खर्चेर ज्यान बचाउन चाहने नेताहरूलाई जाजरकोटमा ज्यान गुमाएका एक महिने शिशुको परिवारले भोगेको पीडाले कहिले छुन्छ ? राज्यलाई कर जाजरकोटका चुनीचाँदे गाउँपालिकाका जनताले पनि प्रत्यक्ष वा अप्रत्यक्ष तिरेका छन् । तर, उनीहरूको जिउधनको रक्षा गर्नु राज्यको दायीत्व किन बनिरहेको छैन ? भोट माग्न चुनीगाउँ पुग्ने गरेको नेता र त्यहाँका जनताले भरोसा गरेका पार्टीलाई जाजरकोटको प्रकोपले छुनुपर्छ । जनता त्यहीँ बस्छन् यो राज्यको उपल्लो तहमा पुर्याउन तिनले पनि सहयोग गरेका थिए । फेरि पनि गर्लान् भुल्नु हुँदैन कसैले ।
जाजरकोटका गाउँगाउँमा भाइरल र झाडापखालाका बिरामी छटपटाइरहेका छन् । प्रभावित क्षेत्रका एक हजारभन्दा बढी बिरामीको उपचार गरिसकेको जिल्ला जनस्वास्थ्य कार्यालयले जानाएको छ ।
केही गाउँपालिकाका अधिकांश वडामा प्रकोप फैलिएको छ । प्रकोप नियन्त्रण आउनको सट्टा बढ्दै गएपछि मंगलबार थप स्वास्थ्यकर्मी परिचालन गरिएको छ । तर, त्यहाँ परिचालन गरिएको स्वास्थ्यकर्मी प्रयाप्त छैन । एउटा जिल्लामा प्रकोपले दर्जनभन्दा बढी मान्छेको ज्यान जाँदा राज्य गम्भीर हुनुपर्छ । तर, गम्भीर छैन । एउटा मान्छे मर्दा आमहड्ताल हुन्छ जाजरकोटको प्रकोप रोक्न र प्रभावितको उपचारमा ध्यान देउ भन्दै कसले गर्ने आमहड्ताल यो प्रश्न बन्नु पर्छ कि पर्दैन ? भाइरलले पाँच वर्षमुनिका बालबालिका र दीर्घरोगीलाई बढी सताएको छ । प्रभावित क्षेत्रमा सोमबार र मंगलबार बिहान थप दुई जनाको
ज्यान गएको छ स्थानीयका अनुसार सोमबार जुनीचाँदे गाउँपालिका–२ मौगानका एक महिने शिशुको भाइरल रोगका कारण मृत्यु भएको छ । मृतक शिशुमा कडा खालको भाइरल अर्थात् एच वान एन वानको संक्रमण भएको आशंका गरिएको छ । उनको खकार र सिँगान स्वास्थ्य विभागको काठमाडौंस्थित रोग नियन्त्रण महाशाखाको प्रयोगशालामा ल्याइएको छ । उनले परीक्षणबाट एच वान एन वान प्रमाणित भए गाउँमा भाइरलको महामारी नै हुनसक्ने चिकित्सकको भनाइ छ । त्यस्तै भाइरल प्रभावित गाउँमा जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटबाट परिचालित चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरूको टोलीले रोग नियन्त्रणमा ल्याउन नसकेपछि मंगलबार जिल्ला अस्पतालबाट थप चिकित्सक र औषधि प्रभावित क्षेत्रमा पठाइएको छ ।
राजधानीसम्म आएको नमुना परिक्षणमा एच वान एन वान भाइरल नभए राम्रो हो । यदि भएका यसले पार्न सक्ने असरका बारेमा खोई सरकारको योजना ? मान्छे मरेको, परिवार विक्षिप्त भएको कुराले कहिले छुन्छ सिंहदरबारमा बस्ने जिम्मेवार निकायलाई ? समस्या आउनुभन्दा समस्या आउन नदिन सचेत हुनुपर्छ ।
चिकित्सकसहित १० जना स्वास्थ्यकर्मी, नेपाली सेनाका स्वास्थ्यकर्मी टोलीले उपचारमा सहयोग गर्दा पनि प्रकोप नियन्त्रणमा आउन नसकेपछि जिल्ला अस्पताल जाजरकोटका मेडिकल अधिकृत नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवकसहित अन्य स्वास्थ्यकर्मीको समूह औषधिसहित प्रभावित क्षेत्रतर्फ गएका छन् । त्यो कति प्रर्याप्त छ सोचौँ ?
बिरामी रोग लाग्ने बित्तिकै उपचारका लागि स्वास्थ्य संस्था जानुभन्दा झारफुक र धामीझार्कीको भरपर्दा बढी मानवीय क्षति भएको देखिन्छ । एउटै घरमा तीन/चार जनासम्म बिरामी पर्न थालेपछि स्थानीयमा त्रास फैलिएको छ । जिल्लाको जुनीचाँदेका साथै छेडागाडका सुवानाउली र टीकाचौरमा पनि रुघाखोकीका बिरामी बढेका छन् । राज्यको ध्यान छिटोभन्दा छिटो जाजरकोटमा पुग्नुपर्छ । त्यहाँको जनता यो राज्यको पनि हो भन्ने अनुभूति दिनु राज्यको दायित्व हो । अबका दिनमा जाजरकोटमा प्रकोपले ज्यान गुमाउनेको समाचार लेख्ने र सुन्ने दिन बन्द हुनुपर्छ ।
प्रतिक्रिया