शिक्षासेवी डा. पोखरेलप्रति श्रद्धाञ्जलि

काठमाडौँ, २५ पुस । दिवंगत पूर्वसभासद् एवं शिक्षासेवी डा. बाबुराम पोखरेलप्रति मंगलबारपूर्वप्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेता एवं शिक्षाकर्मीले श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

मीनभवनस्थित विनायकसुधा (भिएस) निकेतनमा राखिएको उनको शवमा उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदार, नेकपा एमालेका नेता माधवकुमार नेपाल, काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, पूर्वसभामुख सुवास नेम्वाङ, काँग्रेस नेता चन्द्र भण्डारी, एमाले नेता भानुभक्त ढकाल, त्रिविका उपकुलपति डा. तीर्थराज खनियाँलगायतले श्रद्धाञ्जलि व्यक्त गरे ।

हृदयाघातका कारण यही पुस २३ गते थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएका निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सनका पूर्वअध्यक्ष डा. पोखरेलका एक छोरा विदेशबाट आउन समय लागेका कारण उनको मंगलबार पशुपति आर्याघाटमा अन्त्येष्टि गर्न लागिएको हो ।

अन्त्येष्टिका लागि मीनभवनबाट शवयात्रा शुरु भएको छ । डा. पोखरेल दोस्रो संविधानसभामा तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकबाट समानुपातिकतर्फबाट सभासद् भएका थिए । उनका श्रीमती र दुई छोरा छन् ।

प्रतिक्रिया