उनान्सत्तरी अपाङ्गलाई परिचयपत्र वितरण

म्याग्दी, २३ पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको आयोजनामा शनिबार पोखरेबगरमा अपाङ्गता परिचयपत्र वितरणका लागि घुम्ती शिविर सम्पन्न भएको छ ।

महिला तथा बालबालिका र जिल्ला स्वास्थ्य कार्यालयको प्राविधिक सहयोगमा दुई दिनसम्म सञ्चालित शिविरबाट ६९ जनालाई विभिन्न वर्गको अपाङ्गता परिचयपत्र वितरण गरिएको छ ।

३५ जना पुरुष र ३४ जना महिलालाई परिचयपत्र वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अच्युत दाहालले जानकारी दिए । उनका अनुसार क वर्गका चार जना, ख वर्गका २५ जना, ग वर्गका १७ जना र घ वर्गका २३ जनालाई परिचयपत्र वितरण गरिएको हो ।

दुर्गम ग्रामीण क्षेत्रका अपाङ्गता भएका नागरिकलाई स्थानीय स्तरमै सहज रुपमा परिचयपत्र प्रदान गरी राज्यले प्रदान गर्ने सेवा सुविधामा पहुँच बढाउने उद्देश्यले शिविर आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जानकारी दिए ।

गाउँपालिकाका आठ वटै वडाका नागरिकले शिविरबाट सेवा लिएका छन् ।

प्रतिक्रिया