प्यारी छोरी
शुभाशीर्वाद !
तिमीलाई थाहा छ, मान्यजनले आफूभन्दा सानालाई किन शुभाशीर्वाद दिन्छन् ? किन आफूले जानेको ज्ञान बाँड्छन् ? किनकि मान्यजनले आफ्ना सन्तान, शिक्षार्थी, विद्यार्थी, सम्पर्कमा आएका भावी पुस्तालाई सचेत, सवल र सक्षम बनाउन चाहन्छन् ।
इतिहासको पाठ पढाउँदै, वर्तमानको बोध गराएर भविष्यको धरोहर निर्माण गर्न चाहन्छन् । यही अभीष्ट मभित्र पनि जागेको छ र म तिमीलाई यो पत्रमार्फत चित्रण गर्न खोजिरहेको छु ।
प्यारी छोरी, तिमीलाई सुन्दा आश्चर्य लाग्ला, हाम्रो देशमा सुनको पैसा चल्थ्यो, सुनको पैसा त मैले देखिनँ तर चाँदीको पैसा भने मैले पनि देखेको छु ।
तर, तिम्रो देशमा सुनको मुद्रा हुँदा, कति देश पत्तै लागेका थिएनन् । कति देश मानव सभ्यताको खोजी गर्दै भौतारिँदै थिए ।
तर, अपसोच, हिजो हामीभन्दा तल्लोस्तरमा रहेका मुलुकहरू आज समृद्धिको उकालो चढिरहँदा आज हाम्रो मुलुक सस्तो कामदार उत्पादन गर्ने मुलुक, भरिया, पाले र कुल्ली जन्माउने मुलुकको रूपमा चित्रण हुँदै छ, वीर गोर्खालीहरूको मुलुक, पृथ्वीनारायण शाह, बहादुर शाह, भक्ति थापा, अमरसिंह थापा, कालु पाँडे र अन्य थुप्रै प्रातस्मरणीय पुर्खाहरूको वीरगाथाले रंगिएको यो पवित्र भूमिको वर्तमान नियतिलाई पूर्णरूपमा विस्थापित गर्दै समृद्धिको यात्रामा मुलुक लैजाने जिम्मा अव तिमीहरूको काँधमा आएको छ ।
नेपाल सरकारको छात्रवृत्तिबाट विदेश पढ्न जाने र उही पलायन हुने । नेपाल सरकारको कोटामा प्रशिक्षणको लागि विदेश छिर्ने र उतै फरार हुने ।
नेपाल सरकारको नियुक्तिमा जनताले तिरेकोे कर र तिरोको पैसाबाट तलब भत्ता बुझ्ने र विदेश जानको लागि आवश्यक भाषा कोर्स गर्ने राष्ट्रसेवक कर्मचारीहरू, तिमीजस्तै एसएलसी, एसइई र दश जोड दुई गरेका युवाहरू डिभी चिट्ठा भर्ने, विदेश पलायन हुने र देशमा भविष्य नदेख्ने एउटा डरलाग्दो रोगबाट ग्रस्त भएको र मुलुक छोड्दै गरेको देख्दा मेरो मन धुरुधुरु रुन्छ ।
अरे, के छैन मेरो देशमा ? संसारको सबैभन्दा अग्लो चुचुरो सगरमाथा मेरो देशमा छ । शालिग्राम शिला बगाउँदै हिँड्ने कालीगण्डकी, हिमालयको मुहान भएका शुद्ध पानीका स्रोत नदीहरू मेरै देशमा छन् ।
ताल तलैया, प्राकृतिक सुन्दरता, पर्यटकहरूको गन्तव्यस्थल हिमाल पहाड र तराईका हरेक भूभाग सुन्दर मनोहर र चित्ताकर्षक भई स्वागतमा उभिएका छन् ।
भगवान् पशुपतिनाथको कृडास्थली, गौतम बुद्धको पावन जन्मभूमि, जगतजननी सीताको उद्भव भूमि, गार्गी र मैत्रेयीजस्ता विदुषि, जनक, यज्ञवल्क्य र भगवान् व्यासको तपस्थली रहेको मेरो देश धार्मिक र आध्यात्मिक तीर्थस्थल पनि हो ।
हरेक सय मिटरको यात्रामा भिन्नै जलवायु पाइने, जैविक विविधताको अजस्र स्रोत, प्रचुर सम्भाव्यता र समृद्धिको निधि, प्रकृतिको सुन्दर उपहार, जलस्रोतको भण्डार अटुट हिमनदीको देश, हरियो वन, नेपालको धन भन्ने उपमा दिइएको हरियो जंगल, जडीबुटीको राजा यार्सागुम्बा र जडीबुटीको रानी अश्वगन्धाको साथै संसारमा पाइने ११ सय प्रजातिका जडीबुटीहरूमा करिब ७ सय प्रजातिको जडीबुटीहरू मेरै देशमा पाइन्छ ।
यतिधेरै सम्भाव्यता बोकेको, विश्वकै इतिहासमा कुनै विदेशी शासकले पाइला नगाडेको, सार्वभौम, स्वतन्त्र अविभाज्य अटल, वीर र वीरंगनाहरूको रगत पसिना र शौर्यले सिञ्चित स्वर्गभन्दा पनि प्यारो मेरो देशलाई समृद्धिको यात्रामा अगाडि बढाउने र देशका युवाशक्तिलाई यही देशमा भविष्य छ भन्ने दृढ विश्वास जगाउन नसक्ने, यो देशका हालसम्मका शासकहरूलाई धिक्कार छ ।
देशलाई कंगाल बनाउने पापीको शब्दमा भन्दा देशको काट्टो खानेहरूलाई पटक–पटक धिक्कार छ ।
यही मुलुक र यही माटो हो, जहाँका शासक महेन्द्र मल्ल, सबै जनताको घरबाट आगो बलेको नदेख्दा अन्न ग्रहण गर्दैनथे । यहीका शासक राम शाह न्याय दिने र दिलाउने कार्यमा इतिहासमा अमर छन् ।
नियतीको कुचक्र घुमेर हो कि ? हामी अकर्मण्यताको दास भएका हौँ, थाहा भएन, परिवर्तन समयको माग हो भन्दै परिवर्तनका लागि भएका आन्दोलनहरूमा हामीले सहभागिता जनायौँ । हामीलाई नेतृत्व गर्ने नेपाली अनुहारको विदेशी हुँदोरहेछ ।
नेपाली अनुहारको विदेशीले बाँडेको सपनालाई स्वदेशी मानेर समाहित हुनु र परिवर्तनको अपेक्षा गर्नु सायद मेरो युगको भूल थियो छोरी ।
अव्यवस्थाको दुहाई दिँदै सुव्यवस्थाको सपना बाँड्नेहरूले यो मुलुकमा पटक–पटक आन्दोलनको घोषणा गरेका छन् । ती सपनाहरूको पछि लाग्दै यो देशका हजारौँ हजार युवाहरूले शहादत प्राप्त गरेका छन् ।
कति अंगभंग भएका छन् र मुलुकको सुव्यवस्थाको लागि भन्दै आफ्नो सर्वस्व सुम्पिएका छन् ।
तर, ती पटक–पटक गरिएका आन्दोलनहरूबाट परिवर्तन पनि भएका छन् तर ती परिवर्तन जनताको जीवनस्तर र मुलुकको श्रीवृद्धिको लागि होइन, नेतृत्वमा रहेका मुट्ठीभर नेता, तिनका नातागोता, पार्टीका कार्यकर्ता, आसेपासे, हुक्के, बैठकेहरूका जीवनस्तर परिवर्तनका लागि मात्र भएका छन् ।
हजारौँको वलिदानबाट प्राप्त उपलब्धिपछि मेरो देशका सडकहरूको नाउँ, विद्यालयहरूका नाउँ र चौर र चौतारोहरूको नाउँ परिवर्तन गरेको देख्दा लाजले पनि आफैँ लाज मानेको अनुभूति हुन्छ ।
सामान्य जीवनयापनका लागि गिडगिडाउनेहरू जब परिवर्तनको नेतृत्वमा आउँछन् तिनीहरू अकुत सम्पत्तिका मालिक बन्छन्, सुनिएको छैन, तिनीहरूले आफ्नै बारीमा गाडधन भेटाए, तिनीहरूलाई चिट्ठा पर्यो, वा तिनीहरूको तान्त्रिक साधना सिद्ध भयो र लक्ष्मी वर्षिइन्, यी कुनै कुरा होइनन् छोरी ।
उनीहरूले यो देशको सक्दो दोहन गरे, यहाँका नदीनाला विक्री गरे, यहाँका उद्योग धन्दाहरू लिलाम गरे, यहाँको संस्कृति भाषा, धर्म र पहिचानलाई विक्री गरे, यहाँको अर्थतन्त्रलाई उत्पादनमुखी बन्न रोकेर उपभोगमुखी बनाउने कार्यको मतियार बने, परिणामस्वरूप मुलुक गम्भीर दरिद्रको कोटीमा दर्ज हुँदा यहाँका शासकहरू सम्भ्रान्तमा रूपान्तरित भए ।
नीतिगत निर्णयबाट शासकहरूले कसरी देशलाई बर्बाद पारिरहेका छन् भन्ने केही उदाहरण दिन चाहन्छु ।
छापिएको पुस्तकको लागि भन्सार नलाग्ने तर छापिने कागज, मसी र अन्य प्रिन्टिङ आवश्यकीयमा भन्सार लाग्ने नीतिले नेपालका प्रिटिङ उद्योग समाप्त हुन्छन् ।
छपाइका काम देशभित्र नगरी अन्यत्र बाहिर गर्नुपर्ने र नेपाली रुपैयाँ विदेशिने र नेपाली कामदारले काम नपाउने हुन्छ ।
हाम्रा पुर्खाले स्थापना गरेका औद्योगिक संरचनाहरू जहाँ उत्पादन हुन्थ्यो, ती औद्योगिक संरचनाहरूलाई परिवर्तनको नाउँमा आएका सरकारहरूले लिलामी गरेका छन् र समाप्त गरेका छन् । परिणामत प्राप्त भएको रोजागारी हटेको छ ।
त्यही उत्पादन बाहिरबाट ल्याउनुपरेको छ । देशमा काम नपाएर विदेशका मरुभूमिमा युवाहरू बेचिन बाध्य छन् । तिनै युवाहरू दिनको सरदर दुईजनाको दरले राता बाकसमा मृत रूपमा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओरालिन्छन् ।
गैरी खेत र घैली भैँसी बेचेर सुखद भविष्यको आशामा वैदेशिक रोजगारमा गएको आफ्नो आफन्तलाई मृत रूपमा पाउँदा त्यो परिवारले भोग्ने पीडाको एकरत्ति पनि यहाँका शासकलाई पीडा छैन, अनि कसरी बन्छ मेरो देश ?
प्यारी छोरी, आज समृद्धिको शिखरमा चढिरहेका कुनै पनि देश अदृश्य शक्ति भगवान् वा कुनै अलमाइटीले बनाइदिएका होइनन् ।
त्यहीँका वासिन्दाले आफ्ना प्रतिनिधिमार्फत नीति निर्माण गराएर, बनेका नीति निर्माणलाई समयानुकूल परिवर्तन, परिमार्जन गरेर, नियम र कानुनको पालना गरेर, स्वदेशी स्रोत, साधनको उपयोग गरेर उत्पादन वृद्धि गर्दै समृद्धिको शिखरमा पुग्न सफल भएका हुन् ।
समस्याको पहिचान गरेर समाधानको उपाय पहिल्याएर कार्यान्वयन गरेर अगाडि बढेका हुन् ।
ती सबै सम्भावनाहरू हामीसँग छन् र तिमीहरू जस्ता युवा पुस्ताको देश निर्माणका लागि संगठन, नेपाली अनुहारका विदेशीजन शक्तिसँग जुध्न सक्ने सामथ्र्य, देशको इतिहास, भूगोल र गौरवपूर्ण गाथाबाट प्रशिक्षित जनशक्ति, सोही जनशक्तिको अटुट दृढ इच्छा शक्ति र जुझारु नेतृत्वले मात्रै परिवर्तन ल्याउन सक्ने मैले अपेक्षा गरेको छु ।
तिमीहरूको संगठन देशव्यापी रूपमा फैलियोस् र यो मुलुको कायापलट होस् । आशा, अपेक्षा र शुभाशीर्वाद !
प्रतिक्रिया