महिलाले समान ज्याला पाएनन्

तपेन्द्र कुँवर
अछाम, २३ पुस । विहानै सुर्य नउँदाउदै साँफेबगरको छिपेखोलामा गिट्टी कुट्न जाने मायादेवी थापा सुर्य अस्ताएपछि मात्रै घर फर्किन्छिन । पुसको कठ्याग्रिदो चिसो र कडा मेहनतकासाथ गिट्टी कुट्ने थापाको गिट्टी भने विक्रि हुँदैन । गिट्टीले बजार नपाउँदा थापा सस्तोमा गिट्टी बेच्न वाध्य भएकी छन् ।

महिलाले पुरुष सरह काम गर्दै आए पनि समान कामको समान ज्याला पाउन नसकेको उनले गुनासो गरिन् । सरकारले समान कामको बराबर ज्याला तोके पनि त्यो कार्यान्वयन नहुँदा ज्यालामै विभेद भइरहेको उनको छ ।

कम ज्याला दिनेलाई कारबाही गर्ने स्पष्ट कानुन नबनेका कारण कामदार महिलाले पुरुष सरह ज्याला पाउन नसकेको लक्ष्मीदेवी कार्कीले बताईन् । एकातिर पुरुष कामदारको तुलनामा ज्याला कम दिने र अर्कोतिर ज्याला चाँडै नदिने ठेकेदारको झुलाउने प्रवृत्तिका कारण दोहोरो मार खेप्न बाध्य रहेको उनले बताईन् । आफूले पुरुष सरह नै काम गर्दै आए पनि ज्याला भने कम पाउने गरेको गुनासो पोखिन ।

‘हामीलाई पुरुषभन्दा ५ सयदेखि ६ सय रुपियाँ ज्याला कम दिने गरिन्छ ।’ उनले भनिन–‘एउटै काम गरेर पुरुषले दैनिक १ हजारका दरले ज्याला बुझ्दा हामी महिलालाई ५ सयदेखि ६ सय रुपियाँ दिइन्छ ।’ गुजाराका लागि ज्यालादारी काममा महिलाको सहभागिता बढ्दै गएपनि उचित ज्यालको अभावमा समस्या भएको बताईन् ।

मजदुरी गर्दा पुरुष जतिकै काम गर्दै आए पनि उनीहरूको तुलनामा न्यून ज्याला पाउने गरेको साँफेबगरका रमिता कुमालले बताईन् । ‘जति काम पुरुषले गरेका हुन्छन् हामीले पनि त्यति नै काम गर्ने गरेका छौं ।’

उनले भनिन– ‘ज्यालामै विभेद हुँदा निकै समस्या भएको छ ।’ महिला र पुरुष कामदारले समान कामको समान ज्याला पाउने व्यवस्था संविधानले नै गरेको बताइएको छ तर काम एउटै भए पनि महिला भएकै कारणले कामदार महिलाले कम ज्याला पाइरहेको महिला अधिकारकर्मीे पशुपति कुँवरले बताईन् ।

ज्यालामा विभेद गर्नेलाई सजायको व्यवस्था नहुँदा समस्या भएको उनले बताइन् । महिला र पुरुष श्रमिकबीचको ज्याला समान बनाउनका लागि ज्यालामा विभेद गर्नेलाई कडा कारबाही हुनुपर्ने कानुन बनाउन आवश्यक रहेको उनको भनाई छ । साँफेबगर नगरपालिका प्रमुख कुल बहादुर कुँवरले समान कामको समान ज्यालको लागि पहल गर्ने बताए ।

उनले पुरुष झै महिलाहरुले पनि समान ज्यालको समान पैसा पाउनुपर्ने बताए । वुढीगंगाको किनारमा गिट्टी कुटेर जीविकोपार्जन गदै आएका महिलाहरुको अधिकारको लागि नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्ने बताए ।

प्रतिक्रिया