प्रचण्डले सच्याए गल्ती, रामचन्द्रले पत्तै पाएनन्

शरद शर्मा

काठमाडौं । एमाले उपाध्यक्ष वामदेव गौतमको पुस्तक ‘नेपाल नवनिर्माण महाअभियान’ को विमोचनमा थरीथरीका दृष्य देखिए । तोकिएको समय एक नबज्दै राष्ट्रिय सभागृह खचाखच थियो । तर, बोलाइएका अतिथि थिएनन् । डेढ घण्टा ढिला मञ्चमा एकसाथ आइपुगे, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड, एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल ।
शीर्ष नेता आइसकेपछि मात्र प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुन मञ्चमा पुगे ।

त्यसपछि सबै जनाले पुस्तक खोलेर विमोचन गरे । विमोचनपश्चात् गौतमले पुस्तकबारे जानकारी गराए । त्यसलगत्तै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो धारणा राखे । पौडेलले सम्बोधनकै क्रममा प्रचण्डलाई नेकपा माओवादी संयुक्तका अध्यक्ष भन्दै सम्बोधन गरे । हल हाँसोमा गुञ्जियो । तर, पौडेलले किन हाँसो छायो भन्ने भेउ पाउन सकेनन् । उनले आफ्नो भनाइ पनि सच्याएनन् ।

पौडेललगत्तै बोल्ने पालो आयो प्रचण्डको । उनले पूर्ववक्ता पौडेलको भनाइलाई सम्झिए । अनि भनिदिए रामचन्द्र पौडेल कमरेड ।’ फेरि हलमा हाँसो आयो, उनले तत्कालै मुस्कान दिएर आफ्नो कुरा सच्याए, अनि हाँस्दै भने सरी । ‘यसअघि भनिसक्नुभएको छ कमरेड राम…,’ प्रचण्ड बीचमै रोकिए । अनि भने, ‘नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भन्दै मन्तव्य अघि बढाए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले भने आफ्नो सम्बोधन अवधिभर सबैको ध्यान तानिरहे । ३१ मिनेट ३३ सेकेण्ड बोलेका ओलीले तथ्यसहित दमदार भाषण दिँदा सिंगो हल हाँसोसँगै लगातार तालीले गुञ्जिरह्यो । कार्यक्रममा एमाले र माओवादीका दोस्रो तहका नेता उपस्थित भए पनि दर्शक दिर्घामै बसाइयो । प्रमुख अतिथिको रूपमा रहेका उपराष्ट्रपति पुन सबैले बोल्ने भनेर बसिरहेका थिए ।

तर, कार्यक्रम सूचीमा नभएपछि प्रमुख अतिथि रहेर नबोली हिँडे । हिड्ने वेलामा लेखक गौतमले उनलाई मायाको चिनो प्रदान गरे । मञ्चमै रहेका एमाले वरिष्ठ नेताद्वय खनाल, नेपालसँगै माओवादी केन्द्रका नेता रामबहादुर थापाले पनि बोल्न पाएनन् । तर, पुस्तकको विमोचन भने गरे ।

पहिले शीर्ष नेतालाई बोल्न दिए पनि दोस्रो चरणमा पुस्तकबारे टिप्पणी गरिएको थियो । पुस्तकमाथि मोदनाथ प्रश्रित, डा. युवराज संग्रौला, सूर्यराज आचार्यले टिप्पणी गरे । तर, त्यसवेला हल खाली भइसकेको थियो । शीर्ष तीन नेता बोलेपछि हलमा १० प्रतिशत उपस्थिति पनि थिएन ।

प्रतिक्रिया