सौर्य समाचार
काठमाडौं, १५ पुस । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एउटा संस्था छाडेको ६ महिनासम्म अर्काे संस्थामा नियुक्त हुन नपाउने व्यवस्था गरेको छ । सिइओ र सञ्चालक नियुक्ति सम्बन्धमा अस्वस्थ अभ्यास देखिएको भन्दै राष्ट्र बैंकले पुस १३ गतेबाट यस्तो नियम लागू गरेको हो ।
नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बिहीबारबाटै लागू हुने गरी निर्देशिका जारी गरेको छ । ‘इजाजत प्राप्त संस्थाको प्रमुख कार्यकारी अधिकृतको नियुक्ति सम्बन्धमा देखिएको अस्वस्थ्य अभ्यासलाई नियमन गर्दै संस्थागत सुशासन कायम गर्न यस बैंकबाट इजाजत पत्र प्राप्त कुनै संस्थामा कार्यरत प्रमुख कार्यकारी अधिकृत जुनसुकै कारणले आफ्नो सेवाबाट निवृत्त भएपछि कम्तीमा ६ महिना अवधि पूरा गरेपछि मात्र यस बैंकबाट इजाजत प्राप्त अर्काे कुनै पनि संस्थामा प्रमुख कार्यकारी अधिकृत हुन पाउने,’ राष्ट्र बैंकले जारी गरेको निर्देशनको पहिलो बुँदामा भनिएको छ ।
राष्ट्र बैंकले सिइओ हटेको अवस्थामा सोही संस्थामा ६ महिनासम्म सञ्चालक हुनसमेत रोक लगाएको छ । ‘इजाजत प्राप्त संस्थाको प्रमुख कार्यकारी अधिकृत आफ्नो पदावधि समाप्त नहुँदै जुनसुकै कारणबाट हटेमा त्यस्तो व्यक्ति पुनः सोही कार्यकाल वा ६ महिना नपुगी सोही इजाजत प्राप्त संस्थामा सञ्चालक हुन नपाउने,’ निर्देशनमा भनिएको छ ।
सञ्चालकको हकमा पनि यस्तै व्यवस्था गरिएको छ । ‘कुनै एउटा इजाजत पत्र प्राप्त संस्थामा सञ्चालक रहेको व्यक्ति सञ्चालक पदबाट जुनसुकै कारणबाट हटेमा कम्तीमा ६ महिनाको समय व्यक्तिगत नभई अर्काे कुनै पनि इजाजत पत्र प्राप्त संस्थामा सञ्चालक हुन नपाउने तर स्वतन्त्र सञ्चालकको हकमा यो व्यवस्था लागू नहुने,’ निर्देशनको दोस्रो बुँदामा भनिएको छ ।
राष्ट्र बैंकले सञ्चालनको हकमा पनि पदबाट हटेकालाई सोही कार्यकालमा सोही पदमा नियुक्त हुन नपाउने व्यवस्था गरेको छ । ‘इजाजतपत्र प्राप्त संस्थाको कुनै सञ्चालक आफ्नो पदावधि समाप्त नहुँदै जुनसुकै कारणबाट हटेमा त्यस्तो व्यक्ति पुनः सोही कार्यकालभित्र सोही इजाजत पत्र प्राप्त संस्थामा सञ्चालक पदमा निर्वाचित वा मनोनीत हुन नपाउने,’ निर्देशनमा भनिएको छ ।
राष्ट्र बैंकले पुस १२ गतेसम्म सिइओ नियुक्त भइसकेको हकमा भने यो निर्देशन लागू नहुने जनाएको छ । यो निर्देशनसँगै नबिल बैंक फर्कन लागेका अनिल केसरी शाहले काम गर्न नपाउने भएका छन् । नबिल सञ्चालक समितिले शाहलाई सिइओ नियुक्त गर्ने निर्णय गरे पनि नियुक्ति पत्र पाएका छैनन् ।
प्रतिक्रिया