-प्रदीप उप्रेती लोकतन्त्रको आत्मा भनेको निर्वाचन हो । यसलाई शिरोधार्य गर्दै मुलुकमा हालै प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भई हिजोको तिक्ततालाई क्रमशः मेट्दै लामो संक्रमण अवस्थालाई सफलतापूर्वक पार गरेको छ । दशवर्षे सशस्त्र द्वन्द्वलाई पूर्णविराम लगाउँदै नेपाली धर्तीबाट सदाका लागि राजतन्त्रलाई विस्तापित गरी संघीय गणराज्यको रूपमा मुलुकलाई रूपान्तरण गरी संविधान कार्यान्वयनको सफलतामा निर्वाचनले उल्लेख्य भूमिका निभाएको छ ।
मुलुकको राष्ट्रिय राजनीतिमा सहकार्य र सहमतीय व्यवहारलाई आत्मसात गर्दै आएको परिणामस्वरूप आसन्न निर्वाचन सफलता उन्मुख पथमा अगाडि बढी आफ्नो लक्ष्यमा पुग्न सफल भएको हो । यसै परिपेक्षमा निर्वाचनका परिणामहरू सतहमा आइसकेका छन् । वर्तमान परिवर्तित परिवेशमा आमनेपाली जनसमुदायले राष्ट्रिय राजनीतिमा केही सन्देशमूलक तथ्यहरू औँल्याएको देखिन्छ । निर्वाचन यस्तो कडी हो, जहाँ कुनै एक पक्षको विजय तथा अर्को पक्षको पराजय निश्चित हुन्छ । यो नै निर्वाचनको वास्तविकता र यथार्थ पनि हो ।
लोकतन्त्रमा जनता नै सर्वोपरि भएको हुँदा जनमतको भावना एवं मर्मलाई जुन प्रजातान्त्रिक शक्तिले सही रूपमा अवलम्बन गर्दछ, त्यसै शक्तिलाई विजयमाला पहि¥याइनेछ । तर, त्यसो भन्दैमा हिजोको प्रजातान्त्रिक सह–यात्रामा हजारौँ सहिदको बलिदान दिई मुलुकको अस्मितालाई अक्षुण्ण राख्ने कार्यमा अहोरात्र लागिपर्ने लोकतान्त्रिक समूहलाई जनमतले औँल्याएको पराजयको आधारमा मात्रै अलग्याए हिँड्न अवश्य पनि मिल्दैन । यो कुन कारक तत्व हो जसलाई जनमतले सहज रूपले आत्मसात गर्न नसक्दा अभिमतका अगाडि केही हदसम्म भए पनि लज्जाबोध गर्दै पराजयको सामना सहन गर्न वामगठबन्धनको सामू लोकतान्त्रिक शक्ति बाध्य भयो ।
मुलुकको राजनीति तथा आम जनामानससँग अधिकांश समय समीप रहँदै आएको तथा लामो प्रजातान्त्रिक छवि बोक्न सफल भई राज्य सञ्चालनको अभिभारा लामो समयसम्म वहन गर्दै आएको कुनै पनि लोकतान्त्रिक शक्तिहरूले लोकतन्त्रको आधारस्तम्भको रूपमा रहेको सार्वभौमसत्ता सम्पन्न जनताको जनभावना विपरीत हुने कार्यमा कुन चाहिँ यस्तो कार्यारम्भ गरे जसको कारण निर्वाचनको वास्तविक परीक्षामा आफ्नो अमूल्य मत सहजै प्रदान गर्न आम नागरिक समाज हच्कियो ।
यस सन्देशमूलक अभिव्यक्तिले के औँल्याउँछ भने आज जुन समुदाय वा प्रजातान्त्रिक शक्तिलाई विजयको माला पहिल्याउन आतुर देखिएको नेपाली जनमत यदि विजयपश्चात् जनहित विपरीतका कार्यमा लाग्ने कुचेस्टा गरेमा पाँच वर्षका लागि दिइएको अभिमतलाई बाध्यकारी अवस्थामा विचमै परिवर्तन गरी अर्को प्रजातान्त्रिक समूहलाई जनादेश प्रदान गर्न सक्नेछन् । तसर्थ सम्प्रभू नेपाली जनमतको विश्वासलाई हृदयगंम गर्दै जनभावनाको प्रतिकूल नहुने गरी कार्य गर्न निर्वाचनका माध्यमवाट सचेतात्मक सन्देश प्रदान गरिएको नमूनास्वरूप प्राप्त हुने चुनावी मत परिणामका नतिजाहरू हुन् ।
अतः मुलुकको राजनीतिमा वर्तमान अवस्था सृजना हुनुमा लोकतन्त्रको आदर्शलाई सहजरूपमा पालना गर्न नसकेको परिणतिस्वरूप जनमतले अस्वीकार गरेको सन्देशात्मक टिप्पणी हो । त्यसो भएको हुँदा जनमतको निर्णयलाई कसैले पनि तिरस्कार गर्न सक्दैनन् । यसका अतिरिक्त मुलुकमा व्याप्त दलीय संरक्षणमा गरिने भ्रष्टाचारजन्य कसुरलाई न्युनीकरण गर्नुपर्नेमा लोकतन्त्र प्राप्तिपछि अत्यधिक रूपमा वृद्धि हुनुले जनभावनामा नकारात्मक प्रभाव पर्न गई प्राप्त हुन आएको सन्देशको रूपमा समेत यसलाई बुझ्न सकिन्छ ।
बहुमत वा सहमतीय आडमा जनमत विपरीतका कार्य गरेमा कस्तो प्रकारको नतिजा भोग्न बाध्य पारिन्छ भन्ने ज्वलन्त उदाहरणका रूपमा चुनावी मतपरिणामलाई मान्दा फरक पर्ने छैन । जनहित अनुकूल कार्य गर्ने प्रजातान्त्रिक शक्तिलाई आमनागरिक समाजले पारितोषिकवापत आफ्नो अमूल्य मत प्रदान गरी विजयको वास्तविक हकदार बनाउने कुरालाई विशेष हेक्का राख्दै आज विजय वा पराजय जे–जस्तो परीस्थिति हासिल गरेता पनि भविष्यमा हुने निर्वाचन तथा आम मतदाताको आखॉ‘मा आफुलाई अब्बल दर्जामा राख्न आजै देखि जन आकांक्षाअनुरूपको कार्य आरम्भ गर्नुपर्ने हुन्छ ।
लोकसम्मतिको मूल्य र मान्यतालाई क्रमबद्ध रूपमा लत्याउँदै सिद्धान्तविहीन अवस्थामा अवसरवादी चरित्रलाई आत्मसात गरिँदा सधैँ नै जनमत आफ्नो पक्षमा कदापि रहन सक्दैन भन्ने उदाहरण निर्वाचनको समयमा प्राप्त हुन आएको नतिजाले औँल्याएको छ । किनकि विश्वका कुनै पनि मुलुकका आस्थावान राजनीतिक सिद्धान्तलाई अवलम्बन गर्ने शक्तिहरूले विपरीत सिद्धान्तमा आधारित रहने समूहसँग कहिल्यै कुनै पनि हालतमा हातेमालो गर्ने चेष्टा कदापि पनि राख्दैनन् । यस्ता क्रियाकलाप कहिलेकाहिँ प्रत्युत्पादक रूपमा देखिन सक्छ । तसर्थः जनमतमा आएको तीव्र निराशाका कारण विकल्पको स्वरूप अन्य शक्तिलाई जनादेश प्रस्तुत गरिएको हो । निर्वाचनको परिणाम जे भए पनि मुलुकमा लोकतन्त्र संस्थागत गर्ने कार्यले सफलता हासिल गरेको छ ।
यसको प्रमुख श्रेयस्वरूप सार्वभौमसत्ता सम्पन्न नेपाली जनतालगायत सम्पूर्ण प्रजातन्त्रप्रेमी नेपालका राजनीतिक दलको यस सकारात्मक कार्यको मुक्तकण्ठले प्रशंसा गर्नुपर्ने हुन्छ । यो नै वास्तविक रूपमा प्रजातान्त्रिक आचरण पनि हो ।वर्तमान परिवेशमा कुनै प्रजातान्त्रिक शक्तिले बहुमतको आडमा संविधानको मूलमर्म तथा भावनाको प्रतिकूल नहुने गरी कार्य गर्नु नै सही अर्थमा नेपाली जनभावनाको प्रतिनिधित्व गरेको मान्न सकिन्छ । यसबाहेक अन्य कुनै विचारमा आधारित संविधान मुलुकमा लाद्न खोज्ने चेष्टा गरिए जे पनि हुन सक्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशमा आएको लोकतन्त्रको जनलहरलाई पनि मध्यनजरमा राखी कार्य गर्नुपर्ने हुन्छ ।
यसका अलावा छिमेकी राष्ट्रहरूले अख्तियार गर्ने विदेश नीतिले पनि धेरै हदसम्म नेपालको राजनीतिमा सकारात्मक वा नकारात्मक प्रभाव पार्ने भएको हुँदा विशेष हेक्का राख्नु नै उच्च राजनीति दक्षता मान्न सकिनेछ । सामाजिक व्यवहारमा रहेको धनी र गरिबबीचको खाडल, जात–धर्म, भाषागत, सम्प्रदायगत वा वर्णगत आधारमा रहने समानताजस्ता न्युनतम आधारभूत कुराहरूलाई मुलुकको राजनीतिमा सहज रूपमा आत्मसात् गर्नु जरुरी छ । मलुकको धरातलीय यथार्थताको सही रूपमा तालमेल मिलाउन नसकिँदा राजनीतिक माहोल कतिसम्म भयावह हुनसक्छ भन्ने तथ्य नै निर्वाचनको समयमा आउने अप्रत्यासित नतिजा हुन् ।
अधिकांश समय सत्तामा रहेका लोकतान्त्रिक शक्तिले नेपाली सामाजिक परिवेश र जनचाहना अनुसारको कार्यमा समयानुकूल ध्यान दिन नसक्दा जनमतले एकपटक भिन्न परिवेशमा फरक स्वभावहरू देखाउन खोजेको देखियो । बहुसंख्यक नेपाली जनमतले लोकतान्त्रिक शक्तिलाई रुष्ट व्यवहार देखाउनु विशेष कारण हुन सक्छन् । अत्यधिक अशिक्षाका कारण लोकतन्त्रको मूल्य, मान्यता वा आधारभूत सिद्धान्तलाई सहज रूपमा बुझ्न सकेनन्, तत्पश्चात हल्लाको भरमा क्षणिक असन्तुष्टिको प्रतीक चुनावमा रुष्टता मात्र व्यक्त गरेका पनि हुन सक्छन् । कहिलेकाहिँ क्षणिक आवेशमा आई गरेका जनमतका निर्णयहरू कालान्तरमा सच्याउनुपर्ने अवस्था आउन सक्छ ।
यस्तो परिस्थितिको नियति भोग्नुपर्ने अवस्था आएमा मुलुकमा अकल्पनीय अत्यन्तै ठूलो राजनीतिक दुर्घटनाको सम्भावनासमेत रहन्छ । यो सम्भावनालाई जनमतले केही हदसम्म सूक्ष्म रूपमा औँल्याउन खोजेको हो कि ? । यसको नतिजा हेर्ने केही समय प्रतिक्षा गर्नुबाहेक अर्को विकल्प नेपाली जनमतसँग नरहेको अवस्था हो यो । आसन्न निर्वाचनको बलले संक्रमणकालीन परिवेशलाई पूर्णरूपमा अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा नेपाली जनमतलाई विश्वस्त तुल्याउँदै अघि बढ्नु वाम गठबन्धनको पहिलो कर्तव्य हो । साथै विकास निर्माणका मार्ग पहिल्याउँदै मुलुकमा आर्थिक समृद्धि हासिल गर्न सदा प्रयत्नरत रहने जनादेश हो यो ।
प्रदीप उप्रेती
उचबमष्उगउचभतष्ठड२नmबष्।िअयm
फोन ः ९८४१७५८२८०
प्रतिक्रिया