शहरका विद्यार्थी गाउँमा बसेर प्राविधिक शिक्षा पढ्दै

कञ्चनपुर, १० पुस । कृषि क्षेत्रमा दक्ष प्राविधिकको अभाव पूर्ति गर्नका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीमा रहेको श्रीकृष्ण माध्यमिक विद्यालयले सञ्चालन गरेको बाली विज्ञान (पिजेटिए) विषय शहरका विद्यार्थी गाउँमा बसेर पढ्न थालेका छन् ।

प्राविधिक बाली विज्ञान विषयको पढाइ गाउँकै विद्यालयमा सञ्चालन भएपछि धनगढी, महेन्द्रनगर, बैतडीलगायत क्षेत्रका विद्यार्थी झलारीमा रहेको विद्यालयमा पढ्न थालेका छन् ।

थोरै शुल्कमा प्राविधिक शिक्षा पढेर सहजै सरकारी र गैरसरकारी संस्थामा रोजगारी पाइने भएकाले बाली विज्ञानप्रति विद्यार्थीको आकर्षण बढ्न थालेको हो ।

कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा वसोवास गर्दै आएका हिक्मत धामीले कृषि विषयमा पढाइ हुने विद्यालय बजार क्षेत्रमा नहुँदा ग्रामीण क्षेत्रमा रहेको विद्यालयमा भर्ना भएर पढ्दै आएको बताए ।

अठार महिना पढेर सहजै रोजगारी पाउन सकिने भएकाले यस विद्यालयमा भर्ना भएर पढ्दै आएको उनले बताए । विद्यालयमा बैतडी, कृष्णपुर, कैलाली, रैकवार विचवा, बेदकोट र शुक्लाफाँटा नगरपालिका विद्यार्थी पढ्दै आएका छन् ।

फलफूल बाली, तरकारी, बीउ, फूल, माटो, रोग किरा, माछा, माहुरी, रेशम, च्याउ, फार्म मेसिनरी, कृषि उपकरण, आइपिएम पाठशालालगायतका ११ विषयमा पढाइ हुने गरेको विद्यालयका प्रमुख कार्यक्रम संयोजक राजेन्द्रप्रसाद पाण्डेयले बताए ।

विद्यार्थीलाई ८० प्रतिशत प्रयोगात्मक र बाँकी २० प्रतिशत सैद्धान्तिक रुपमा पढाइ गर्ने व्यवस्था गरिएको छ ।

“सैद्धान्तिकका लागि १३० घण्टा र प्रयोगात्मकका लागि एक हजार २४० घण्टा पढाइ गर्ने गरी समय निर्धारण गरेका छौँ” संयोजक पाण्डेयले भने ।

विद्यालयमा पढ्दै आएका विद्यार्थीलाई सहजता प्रदान गर्नका लागि दुई किस्तामा शुल्क लिने व्यवस्था विद्यालयले गरेको छ ।

विद्यार्थीको पढाइ शुल्कबापत विद्यालयले लिने रु ७४ हजार ४०० रकममध्ये पहिलो किस्ताका रुपमा रु ४७ हजार ४०० र दोस्रो किस्ताका रुपमा रु २० हजार रकम लिने व्यवस्था गरेको छ ।

“यसबाट विद्यार्थीका अभिभावकमा एकै पटक भार नपर्ने भएकाले दुई किस्तामा रकम लिने व्यवस्था गरेका हौँ” संयोजक पाण्डेयले भने ।

अठार महिने बाली विज्ञान विषय पढेर विद्यार्थीले प्राविधिक खरिदारसरहको रोजगारी पाउने उनले बताए ।विद्यालयको स्वामित्वमा रहेको अढाइ बिगाह जग्गामा विद्यार्थीले प्रयोगात्मक कक्षा लिँदै आएका छन् ।

बाली विज्ञान विषय पढ्ने ४० विद्यार्थीमध्ये अतिविपन्न परिवारका पाँच प्रतिशत विद्यार्थीको शैक्षिक शुल्क मिनाहा गरिएको छ ।

प्राविधिक विषयका कक्षा सञ्चालन गर्न, भौतिक तथा कृषि सामग्री खरिदका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको धान ब्लकअन्तर्गत रु तीन लाख र शुक्लाफाँटा नगरपालिका-१० को कार्यालयले रु पाँच लाख सहयोग रकम उपलब्ध गराएको छ ।

प्रतिक्रिया