२५ वर्ष पुरानो भ्रुणबाट शिशुको जन्म

वासिंगटन । अमेरिकाकी एकमहिलाले २५ वर्ष पुरानो भ्रुणबाट एक स्वस्थ्य शिशुको जन्म दिएकी छन् । यो मानवको सबैभन्दा लामो समय सुरक्षित राखिएको भ्रुण थियो । अमेरिकी नेसनल इम्ब्रायो डोनेसन सेन्टरका मेडिकल निर्देशक जेफरी किननले अघिल्लो महिना शिशुको जन्म भएको बताए । शिशुको नाम एम्मा रेन गिब्सन राखिएको छ । यसअघि २० वर्ष पुरानो भ्रुणबाट बच्चाको जन्म गराएको थियो ।

टिना गिब्सनले २५ नोभेम्वरमा सो शिशुलाई जन्म दिएकी हुन् । जन्मको समय बच्चाको तौल तीन किलोग्रामभन्दा केही बढी थियो भने लम्बाइ २० इन्च थियो । टिनाले खुसी व्यक्त गर्दै भनिन् ‘म अहिले २५ वर्षकी भएँ । उही समयमा यो भ्रुणको जन्म भएको भए हामी साथी हुन सक्थ्यौँ । मलाई वल्र्ड रेकर्डको मतलब छैन । बच्चा पाएकोमा खुसी छु ।’टिनाको विवाह सात वर्ष पहिले भएको थियो ।

उनका पति प्रजनन क्षमता कम हुने रोगबाट पीडित थिए ।  यसबीच टिनाका पिताले उनीहरूलाई अरूको भ्रुण लिएर गर्भधारण गर्न सल्लाह दिए । उनीहरूले सन् २०१६ मा भ्रुणका लागि निवेदन दिए । कैयौँ मेडिकल परीक्षणपछि उनको गर्भमा भ्रुण प्रत्यारोपण गरियो । प्रत्यारोपणको समयमा चिकित्सकहरूले भनेका थिए ‘यो २५ वर्ष पुरानो भ्रुण हो । यसबाट स्वस्थ्य शिशु जन्मेमा वल्र्ड रेकर्ड हुन सक्छ ।’

 

प्रतिक्रिया