नयाँ सरकारको कार्यभार

डा. डिआर उपाध्याय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्ष तथा समानुपातिक मतपरिणाम सबै आइसकेको छ । प्रतिनिसभाको प्रत्यक्ष र समानुपातिकतर्फको मतपरिणामअनुसार नेकपा एमालेले ८०+४४=१२४, कांग्रेसले २३+४२=६५, माओवादी केन्द्रले ३६+१७=५३, राजपाले ११+३=१४, संघीय फोरमले १०+४=१४ जितेका छन् । राप्रपा, राजमो, नयाँशक्ति पार्टी र नेपाल मजदुर किसान पार्टीले १÷१ सिट प्रत्यक्षमा जितेका छन् । स्वतन्त्रले १ सिट जितेको छ । समानुपातिकमा यी दलहरूले कुनै सिट ल्याउन सकेनन् ।

संविधानको धारा ९३ बमोजिम प्रतिनिधिसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संघीय संसद्को अधिवेशन तथा धारा १८३ बमोजिम २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्नुपर्छ । धारा ७६ मा प्रधानमन्त्री नियुक्तिप्रक्रिया स्पष्ट पारिएको छ । राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतलाई प्रधानमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुने व्यवस्था छ ।

तर, कुनै एक दलको स्पष्ट बहुमत नरहेको अवस्थामा भने प्रतिनिधिसभा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बुहमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्य प्रधानमन्त्री नियुक्त हुन सक्छ । यतिवेला वाम गठबन्धनको बहुमत आएको हुनाले वाम गठबन्धनकै सरकार बन्नुपर्छ । राजनीतिक दलहरूको अबको कार्यभार भनेको सरकार निर्माण गर्ने हो । सरकार निर्माण गर्ने वेलामा पनि केही कठिनाइ आउने देखिन्छ । वाम गठबन्धनबीच चुनावअघि जुन किसिमको सहमति भएको थियो । त्यो सहमतिअनुसार काम भएन भने मुलुकमा फेरि त्रिशंकु सरकार बन्ने सम्भावना पनि उत्तिकै देखिन्छ ।

किनकि, यसपालिको चुनावमा पनि किङमेकर पुष्पकमल दाहाल नै हुन् । उनी जता लाग्यो उतै सरकार बन्ने सम्भावना बलियो रह्यो । कांग्रेस माओवादी केन्द्र मधेसकेन्द्रित दल र मिले पनि सहमतीय सरकार बन्ने सम्भावना देखिन्छ । एमाले अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच विश्वासको धागो टुट्नेबित्तिकै त्यो स्थिति नआउला भन्न सकिन संविधानले मन्त्रिपरिषद्को संख्या २५ भन्दा बढी हुन नहुने भनेर तोकी दिएको छ । मन्त्रालयका संख्या १५ मात्रै कायम भएका छन् ।

विगतमा दलहरूले मन परि जम्बो मन्त्रिपरिषद् बनाएर आलोचित बनेका थिए र अहिले पनि काम चालउ सरकार जम्बो नै छ । अब संविधानको मर्म र मान्यताअनुसारको मन्त्रिपरिषद् बनाउने हो भने १५ देखि २५ हो । वाम गठबन्धनको सरकार बने पनि एमाले र माओवादी केन्द्रका नेताबीच नै मन्त्री हुनेको आकांक्षी धेरै छन् । चुनावअघि ४०÷६० को भागबण्डा लगाएर चुनाव लडेका यी दुई पार्टीबीच सरकार बनाउने वेलामा सकस नहोला भन्न सकिँदैन । जुन वेला पार्टी एकीकरण होला, त्यो वेला वाम गठबन्धनको हालत के होला ?

सरकार निर्माण हुने वेलामा उत्पन्न हुन सक्ने आपसी अविश्वासका परिस्थितिको व्यवस्थापनमा पनि विशेष ध्यान दिन जरुरी छ । यो गठबन्धनलाई टुटाउन भित्रदेखि बाहिर सबै तिर ठूलै प्रयास भएको छ । त्यसलाई चिरेर मात्रै वाम गठबन्धन अघि बढ्न सके मात्र भविष्य राम्रो छ । दाहाल र ओलीबीच विश्वासको वातावरणमा कालो बादल लाग्यो भने वाम गठबन्धन सरकार बन्न सक्ने छैन । अब यी दुई शीर्ष नेताको काँधमा ठूलो जिम्मेवारी छ । वाम गठबन्धन सरकार बनाउने की कांग्रेस माओवादी र मधेसकेन्द्रित दल सम्मेलित त्रिशंकु सरकार बनाउने ? यो दाहालको हातमा छ ।

मुलुकको सबैभन्दा ठूलो दलका हैसियतले अब एमाले अध्यक्ष ओलीले ठूलो छात्ति, ठूलो चित्त बनाएर वाम गठबन्धन सरकारको नेतृत्व गर्न आफूले ठूलो भूमिका खेल्नुपर्छ । दाहालको चित्त बुझाएर एमाले अध्यक्ष ओली अघि बढ्नु भयो भने निश्चित रूपमा वाम गठबन्धन सरकार बन्छ । यदि दाहालको चित्त दुख्ने काम भयो भने दाहालकै नेतृत्वमा त्रिशंकु सरकार बन्न पनि कुनै बेर लाग्दैन । विगतका नजिरले सबै प्रस्ट देखाएको छ । राजनीति भनेको घुमाउरो पाराले चल्ने चक्र हो । जुनवेला जे पनि हुन्छ सक्छ ।

चुनावअघि वाम गठबन्धन गरेर चुनाव लडेका एमाले, माओवादी केन्द्र चुनावपछि पार्टी एकता गर्ने उद्घोषका साथ चुनावी मैदानमा कडा थिए तर चुनाव सकिएको यति धेरै दिन भइसक्यो । खै पार्टी एकताको कुरा ? वाम गठबन्धनलाई जनताले दिएको म्यान्टेड के हो ? वाम एकताका चुनौती के–के छन् ? वाम एकता गरेर चुनाव लडियो अब पार्टी एकता हुन्छ कि हुँदैन ? यो धेरै जनताको मनमा उठेको प्रश्न हो । एकतापछिको कम्युनिस्ट पार्टी कस्तो हुन्छ ? पार्टीको अध्यक्ष प्रचण्डलाई बनाउने कि केपी शर्मा ओलीलाई ?

प्रचण्डलाई प्रधानमन्त्री या पार्टी अध्यक्ष नदिईकन पार्टी एकीकरण सम्भव छ ? शान्तिप्रक्रियाका बाँकी काममा दुवै पार्टीले कसरी एउटै धारणा बनाउलान् ? अब बन्ने कम्युनिस्ट पार्टीले दुई छिमेकी देशलाई सन्तुलित रूपमा कसरी विश्वासमा ल्याउन सक्लान् ? यी नै अहिलेका महत्वपूर्ण प्रश्न हुन् । चुनावअघि जनताको घरदैलोमा पुगेर वाम गठबन्धनका उम्मेदवारले दिएको वचन र सपना पूरा गर्नुपर्छ । जनताले वाम गठबन्धनलाई त्यसै यति धेरै मत दिएका होइनन् । जनतामा यिनीहरू प्रति धेरै आशा र भरोसा छ । वाम गठबन्धनले जनताको आशा र भरोसामा सरकार गठन गरेपछि पूरा गर्दै जानुपर्छ ।

अब बन्ने सरकार वाम गठबन्धनकै बन्नुपर्छ । जनताको म्यान्डेट पनि त्यही हो । अहिलेको संविधानमा संसद्मा बहुमत प्राप्त दलको नेतालाई राष्ट्रपतिले सिधैँ प्रधानमन्त्री नियुक्त गर्ने र ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने प्रावधान राखिएको छ । जनमतबाट अुनमोदित भइसकेका वामपन्थी शक्तिले नै सरकार बनाउनुपर्छ । एमाले र माओवादीबीचको सबैभन्दा ठूलो चुनौती भनेकै वाम गठबन्धन सरकार गठन गर्नु हो । वाम गठबन्धनविरुद्ध धेरै षड्यन्त्र सुरु भइसकेका छन् ।

नयाँ सरकार गठन पार्टी एकता दुवै पक्षलाई क्रमैसँग बलियो बनाएर जाने दिशामा वाम दलहरू क्रियाशील हुनु पर्छ । केन्द्रदेखि प्रदेशसम्मका सरकार निर्माण र पार्टी एकतासम्म प्रस्ट खाका कोरेर कार्ययोजना साथ अघि बढ्नु आजको आवश्यकता हो । प्रतिपक्ष र अन्य दलहरूलाई समेत समेटेर अघि बढ्ने सोच वाम गठबन्धनले गर्नु पर्छ । चुनावको वेलामा ठूला–ठूला कुरा गर्ने चुनाव सकिएपछि ती सबै कुरा बिसर्ने रोग नेपाली राजनीतिमा त्यति नौलो विषय होइन ।

चुनावका वेलामा घोषणा–पत्रमा जे–जे कुरा उल्लेख गरेर जनताको हात हातमा बाँडिएको थियो, ती सबै कुरा पूरा गर्दै जानुपर्छ । जनतालाई झुक्याउने र पूरा नहुने सपना बाँड्नु राजनीतिक दलको पुरानो परम्परागत शैली नै छ । त्यस्तो स्थिति नहोस् । चुनावी घोषणा–पत्र जनतालाई झुक्याउनको लागि नै हो, कार्यान्वयनका लागि होइन भने भन्नु केही छैन । अहिलेको निर्वाचनमा वाम गठबन्धनले जारी गरेको संयुक्त घोषणा–पत्रमा जनता धेरै आशावादी छन् ।

त्यसैले, वाम गठबन्धनले चुनावी घोषणा–पत्रलाई कार्यान्वयनमा लैजान कार्ययोजनाका साथ अघि बढ्नु जरुरी छ । यसरी अघि बढ्न सके मात्र जनताको विश्वास दीर्घकालसम्म रहनेछ । वाम गठबन्धनले जनताको आकांक्षाअनुरूपको काम गरेर देखाउन सकेनन् भने जनतामा निराशा आउन सक्छ । अबका दिनमा वाम गठबन्धनले जनताको भावना र आवश्यकतालाई बुझेर काम गर्नु पर्ने आवश्यकता देखिएको छ । वाम गठबन्धनले जनतासामु निर्वाचनका वेलामा जे आश्वासन दिएका थिए ।  जे घोषणा गरेका थिए । त्यसलाई पूरा गर्ने दायित्वबाट पछि हट्नु हुँदैन ।

वाम गठबन्धनले बहुमत प्राप्त गरेको अवस्थमा अब सरकारको नेतृत्व विषय प्रश्न पनि उठ्न सक्छ । एमाले अध्यक्ष ओली, माओदवादी केन्द्र अध्यक्ष दाहालबीचको पहलमा वाम गठबन्धन र चुनावपछि तुरुन्तै पार्टी एकता भन्ने मूल एजेन्डाले वाम गठबन्धनको विजय सम्भव भएको हो । जनताले यो बहुमत बलियो स्थिर सरकार निर्माण गर्न दिएका हुन् । यसपटकको बहुमत आउनुको पछाडि एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल बीचको एकता र सहकार्यताको कारण हो ।

सरकारको नेतृत्व ओलीले गर्ने र पार्टी एकतापछिको नेतृत्व दाहालले गर्ने सहमति दुवै पार्टी बीच भयो भने अब स्थिर बलियो र कसैले ढाल्न नसक्ने पाँच वर्षसम्म चल्ने सरकार बन्न सक्छ । यो विषयमा दुवै पार्टीबीच छलफल हुन जरुरी छ । मुलुकलाई विकास र समृद्धिको सपना पूरा गर्नु छ । पूर्वाधार निर्माण, जलस्रोतको उपयोग, कृषिको आधुनिकीरण, मानव संसाधानको विकासजस्ता पक्षलाई हरेक क्षेत्रमा पु¥याई त्यसको माध्यमबाट रोजगारी सिर्जना गराउनुको साथै स्वरोजगार तथा उद्यामशीलता अभिवृद्धि गराउनु अब बन्ने वाम गठबन्धन सरकारको प्रमुख कर्तव्य र दायित्व हो । यतिखेर आम रूपमा यो वामगबन्धन साँच्चै टिक्छ त ?

यो गठबन्धन पार्टी एकतासम्म पुग्ला त ? भन्ने प्रश्न गर्नेहरूको कमी छैन । अहिलेसम्मको इतिहास हेर्ने हो भने कम्युनिस्टहरू एक भएर जान सकिरहेका छैनन् । बरु कम्युनिस्टहरू विभाजन भएको इतिहास धेरै छ । अब नेपालका कम्युनिस्टहरूले मिलेर चुनावमा पनि जान सिकेका रहेछन् र सरकार निर्माण गर्न पनि मिलेर कम्युनिस्टहरूले जाने रहेछनन् भन्ने चमत्कार देखाउनुपर्ने आवश्यकता छ । एकपटक मुलुकमा कम्युनिस्टको शासन हेर्न जनता आतुर छन् ।

अबका दिनमा वाम गठबन्धनमा फैलिएका भ्रमलाई चिर्दै तिनका शीर्ष नेताहरू अघि बढ्नुपर्छ । वाम गठबन्धनले जनताबाट एउटा निक्कै सुनौलो अवसर पाएको छ । आगामी दिनहरूमा राम्रो काम गरेनन् भने जन आकांक्षा सम्बधोन गर्न सकेनन् भने राष्ट्र जनातको समृद्धिमा योगदान दिन सकेनन् भने वाम गठबन्धनका लागि अथवा कम्युनिस्टका लागि यो नै अन्तिम मौका पनि हुनसक्छ । वाम गठबन्धनले राम्रो काम गरेर देश र जनतालाई देखाउन सके भने धेरै लामो समयसम्म शासन व्यवस्था चलाउन पनि सक्नेछन् ।

प्रतिक्रिया