रामपुरमा खरका छानारहित नगर कार्यक्रम शुरु

पाल्पा, ३ पुस । रामपुर नगरपालिकामा खरका छानारहित नगर कार्यक्रम शुरु भएको छ । नगरपालिकालाई सुन्दर र नमूना नगरका रुपमा चिनाउन नगरपालिकाले विशेष प्राथमिकतामा राखेर खरका छानारहित नगर कार्यक्रम सञ्चालन गरेको हो ।

स्थानीयवासीले नगरपालिकामा पेश गरेको आवेदनका आधारमा क्रमैसँग अबको पाँच वर्षभित्र रामपुर नगरपालिकालाई खरका छानामुक्त नगर बनाउने योजनाका साथ यो कार्यक्रमलाई तदारुकता दिइएको छ ।

खरका छानारहित नगर कार्यक्रममा ७६८ घरधुरीले आवेदन पेश गरेको नगर प्रमुख रमणबहादुर थापाले बताए ।

संकलित निवेदनका आधारमा अब छिट्टै नै प्राविधिकसहितको कर्मचारी र जनप्रतिनिधिको टोली गाउँ–गाउँमा पुगेर वास्तविकता बुझेर मात्र अनुदानस्वरुप कर्कटपाता दिने तयारीमा रहेको नगर प्रमुख थापाले बताए ।

“मूल घरमा खरको छाना भएको हुनुपर्ने र प्राविधिकको नाप नक्साङ्कनअनुसार घरको क्षेत्रफल हेरेर, कर्कटपाता छाउने तयारी गरेपछि एक घरधुरीलाई रु २५ हजारदेखि ४० हजारसम्मको अनुदानस्वरुप कर्कटपाता उपलब्ध गराउनेछौँ”, उनले भने ।

आर्थिक वर्ष २०७४÷७५ मा खरका छानारहित नगर कार्यक्रमका लागि रु ५० लाख रकम विनियोजन गरिएको छ । अझै पनि यहाँका नगरवासी आर्थिक अभावले खरका छानामुनि बसेर जीविका चलाउँदै आइरहेका छन् ।

संकलित आवेदनका आधारमा गरिब तथा विपन्न, दलित समुदायलाई कर्कटपाता राख्नका लागि छिटो अनुदान उपलब्ध गराउने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका जनप्रतिनिधिले शुरु गरेको यो कार्यक्रमबाट यहाँका नगरवासी उत्साहित बनेका छन् ।

प्रतिक्रिया