१९ उम्मेदवारको जमानत जफत


पाँचथर, २ पुस । प्रतिनिधि र प्रदेशसभाका प्रत्यक्षतर्फ २५ जना उम्मेदवारमध्ये १९ जना उम्मेदवारको जमानत जफत भएको छ । प्रतिनिधितर्फ ९ जनामध्ये वाम गठबन्धनका विजयी वसन्तकुमार नेम्वाङ र प्रतिस्पर्धी लोकातान्त्रिकतर्फका भीष्मराज आङदेम्बेबाहेक ७ जनाको जमानत जफत भएको निर्वाचन आयोगले जनाएको छ ।

नेम्वाङले ३८ हजार ६ सय ४१ मत ल्याएका थिए । आङम्बेले २८ हजार २५ मत प्राप्त गरेका थिए । कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको जमानत जफत हुने प्रावधान रहेको छ । प्रतिनिधिसभामा संघीय समाजवादी फोरमका उम्मेदवार प्रेमराज लावतीले १ हजार ९ सय ९४ मत, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लिम्बुवानका सागर केरुङले १ हजार ५ सय ९३ मत, मालेका दिननाथ घिमिरेले ८ सय ९० मत, राष्ट्रिय जनमुक्ति पार्टीका भगिरथ लिम्बूले ४ सय १८ मत , नयाँशक्ति पार्टीका दिलबहादुर लावतीले १ हजार ३२ मत, एकीकृत राप्रपा राष्ट्रवादीका शान्तिमाया सिगुले २ सय ९४ मत, मंगोल नेसनल अर्गनाइजेसनका टोमराज थाम्सुहाङले १ सय ९४ मत पाएका थिए । यिनीहरू ७ जनाले सदर मतको १० प्रतिशत मत प्राप्त गर्न सकेनन् ।

त्यस्तै प्रदेशसभा सदस्यतर्फ ‘क’ मा वाम गठबन्धनबाट विजयी गणेशकुमार काम्वाङ र प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका नरेन्द्रकुमार केरुङबाहेक सबै उम्मेदवारको जमानत जफत भएको छ । प्रदेशसभा ‘क’ मा संघीय समाजवादी फोरमका बिर्खबहादुर वाइबा, लिम्बुवान मञ्चका हर्कजङ लिङदेन, मालेका प्रिय रिमाल, नयाँ शक्तिका खगेन्द्र लोवा, राप्रपा राष्ट्रवादीका नेत्रप्रसाद पोखरेल, मंगोल नेसनल अर्गनाइजेसनका किरण थाम्सुहाङले पनि कुल मतको १० प्रतिशत मत प्राप्त गर्न सकेनन् ।

त्यस्तै, प्रदेशसभा ‘ख’ मा वाम गठबन्धनका इन्द्रबहादुर आङवो, मौसम र उनका प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार सुरेन्द्रकुमार दाहालबाहेक सबैको जमान जफत भएको छ । ‘ख’ मा फोरमका एविराज आङम्बे, लिम्बुवानका दीपेन्द्र चेम्जोङ, लावाहाङ, जनमुक्तिका इच्छाबहादुर चेम्जोङ, जनसमाजवादी पार्टीका रामकुमार तुम्रोकले पनि १० प्रतिशत मत प्राप्त गर्न सकेनन् ।

जमानत जफत जोगिनका लागि कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था छ । प्रतिनिधिसभा सदस्यका उम्मेदवारले १० हजार धरौटी राख्नुपर्ने व्यवस्था छ । दलित अल्पसंख्यक, समावेशी कोटाबाट प्रतिनिधित्व गर्ने उम्मेदवारले ५ हजार धरौटी राख्नुपर्छ ।

प्रदेश सभामा ५ हजार धरौटी राख्नुपर्ने व्यवस्था छ । वाम र लोकातान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका ६ जनाबाहेक १९ जनाको धरौटी रकम जफत भएको आयोगले जनाएको छ ।

प्रतिक्रिया