यू–१५ चेलीको लक्ष्य उपाधि

काठमाडौं । बंगलादेशमा हुने साफ यू–१५ महिला च्याम्पियनसिपका लागि २० सदस्यीय नेपाली टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन् । पहिलोपटक आयोजना हुन लागेको यो उमेरसमूह प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, भारत र भुटानले सहभागिता जनाउनेछन् । बंगलादेशमा आइतबारबाट साफ यू–१६ महिला च्याम्पियनसिप प्रतियोगिता सुरु हुनेछ ।

नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले एक कार्यक्रम गरी बिदाइ गरेको छ । उमेर समूहमा पहिलोपटक आयोजना हुन लागेको प्रतियोगिताको उपाधि जित्ने लक्ष्यसाथ नेपाली टोलीले अभ्यास गरेको थियो । राउन्ड रोविनको आधारमा सञ्चालन हुने प्रतियोगितामा नेपालले पहिलो खेल आयोजक बंगलादेशसँग २ पुसमा ढाकास्थित वीरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्ताफा कमल स्टेडियम कमलापुरमा खेल्नेछ ।

दोस्रो खेलमा नेपालले ५ पुसमा चिरपरिचित प्रतिद्वन्द्वी भारतको सामना गर्नेछ । ६ पुसमा अन्तिम खेल भुटानसँग प्रतिस्पर्धा गर्नेछ । महिला फुटबलअन्र्तगत दक्षिण एसियामा अब्बल मानिएको नेपालको लक्ष्य उपाधि उचाल्ने रहेको छ । राउन्ड रोविनका आधारमा खेलाइने प्रतियोगिताको शीर्ष २ टोली उपाधिका लागि भिड्नेछन् ।

प्रतिक्रिया