सडकमा रहेकी कान्छी सन्यासीको व्यथा

सुभानु आचार्य

काठमाडौं । रत्नपार्कमा अचेल दैनिकरूपमा विभिन्न तारिकाले मागेर खानेको जमात बढ्दै गएको छ । त्यसै जमातमा करिब ७० वर्षकी एक महिला छिन् । जसको आफ्नै व्यथा र कथा रहेको छ ।

सडकमा पहेँलो पिताम्वर वस्त्र पहिरिई नारायण नारायण भन्दै भगवान्को जप गरेर बसिरहने महिला हुन्, दोलखा घर भएकी कान्छी सन्यासी । उनी दिनहँुजसो अधिकांश समय रत्नपार्कमा बिताउँछिन् र दैनिकी गुजार्ने जोहो गर्छिन् । कान्छी सन्यासी अन्य मगन्तेसरह माग्ने काम भने गर्दिनन् ।

उनी सडकको पेटीमा बसेर भगवान्को नाम जप्दै बसिरहन्छिन् । कुनै बटुवालाई दया वा माया लागेर दिने रकम नै कान्छीको दैनिकी गुजार्ने बाटो बनेको हो । जन्मजातै कान्छी सन्यासीको कोही नभएका होइनन् । आफ्नै कोखबाट सन्तान नभएर समस्यामा डुबेकी कान्छीलाई भतिजाले यो अवस्थामा ल्याएको बताउँछिन् ।

विगत सम्झँदै उनी भन्छिन्, ‘उमेर हँुदै पति बिते । पतिको देहवसानपछि भतिजको संरक्षणमा घर चलाउँदै आएको थिएँ ।’ सुरुसुरुमा कोखको सन्तानभन्दा बढी माया गरेको थियो भतिजाले, तर उसको आँखा भने सम्पत्तिमा रहेको कान्छीले पछि मात्र थाहा पाइन् । केही वर्ष आमाभन्दा प्यारोगरी पालिरहेको भतिजाले ललाईफकाई कान्छीको नाममा रहेको सबै सम्पत्ति आफ्नो नाममा गराएको रहेछ ।

सम्पत्ति नाममा गराएपछि मात्र भतिजाले खेलेको खेलको रहस्य कान्छीले थाहा पाइन् । सबै सम्पत्ति आफ्नो नाममा पारेपछि भतिजाले उनलाई घरबाट निकालिदियो, कान्छीले बताई । त्यसपछि सुरु भयो कान्छी सन्यासीको यस्तो असली जिन्दगी । उमेर ढल्किँदै गएपछि उनको जीवन जिउने साहारा अहिले रत्नपार्कको सडकपेटी बनेको छ ।

यद्यपि, उनी सडकमा बटुवासँग रकम भने माग्दिनन् । केवल भगवान्को उपासना गरी सडकमा बस्दा बटुवाले दिएको रकमको भरमा जीवन चलाउँछिन् । त्यसो त उनी रत्नपार्क मात्र होइन कहिले पशुपति, कहिले सुन्धाराका सडकपेटीमा बस्छिन् । उनको सम्पत्तिका नाममा अहिले पोकोमा रहेको लुगा मात्र छ ।

सम्पत्ति नभए पनि कान्छीको मन भने ठूलो रहेको छ । उनले दैनिक खाएर जोगिने रकम अन्य अनाथ तथा सडकमा रहेका मगन्तेलाई दिने गर्दछिन् । सडकपेटीमा बस्ने अन्य वृद्धवृद्धा पनि कान्छीबाट परिवारसरह सहयोग र माया पाएको भन्दै कान्छीमा ममताको खानी भएको बताउँछन् । चोक तथा गल्लीबाट कान्छीले असहायको रूपमा थुपै्र मानिसबाट माया बटुल्छिन् ।

‘असहाय भएर बाचुन्जेल जनताले पाल्छन् र मरेपछि सरकारले फाल्छन्’ भन्ने अठोटका साथ कान्छी आफ्नो जिन्दगी अहिले पनि हाँसीखुसी बाँचिरहेकी छन् । उपत्यकामा कान्छीजस्तै कैयौँ वृद्धवृद्धा आजभोलि मागेर जीवन निर्वाह गर्न बाध्य भएका छन् । अझ यो जाडोको समयमा उनीहरूलाई रात कटाउन निक्कै गाह्रो परेको छ । जसलाई सम्बन्धित निकायले अहिलेसम्म सम्बोधन गर्न नसकेको भन्दै उनीहरूले गुनासोसमेत गरे ।

उपत्यकामा विभिन्न निकायबाट सञ्चालित वृद्धाश्रम कान्छी र उनका साथीको हितमा प्रयोग भएका छ्रैनन् । कान्छीजस्ता कैयौँ वृद्धवृद्धाको जीवन सडकमा अलपत्र परेको छ । सरकारले वृद्धवृद्धाको हितमा कानुन बनाउने हो भने यस्तो मागेर खानुपर्ने अवस्थाको सिर्जना हुने थिएन ।

प्रतिक्रिया