हस्तीको हार, अन्तर्घात कि आफ्नै कारण

काठमाडौं, २९ मंसिर । यस निर्वाचनमा राजनीतिका खेलाडी हारेपछि उनीहरूको हारको कारण खोज्न थालिएको छ ।
राजनीतिका भेट्रान भनिएका खेलाडी आफ्नै कारण वा अन्तर्घात वा अन्य के कारणले हारेका हुन् भन्ने चर्चा सुरु भएको हो ।

धेरैजसो नेता स्थानीय चुनावको बदलाका कारण बन्दै अन्तर्घात भएर हार्न पुगेको विश्लेषण गरिएको छ । वाम गठबन्धनका प्रमुख सूत्राधार मानिएका नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम र नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठदेखि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसम्म हारेपछि त्यो हारको कारण पहिल्याउन थालिएको हो ।

गौतम र श्रेष्ठ हार्नु पार्टीभित्रकै अन्तर्घात भएको विश्लेषण गरिएको छ । गौतम उम्मेदवार बनेको बर्दिया क्षेत्र नं. १ मा प्रदेशसभामा दुवै वाम गठबन्धनका उम्मेदवार विजयी भए पनि उनी भने हारे । आफ्ना प्रतिद्वन्द्वी कांग्रेसका सञ्जय गौतमसँग ७ सय ५३ मतले हार व्यहोरेका उनी पार्टीभित्रको अन्तर्घातका कारण हारेका हुन् ।

वामदेवले उक्त निर्वाचन क्षेत्रमा प्रदेशसभाभन्दा १ हजार ८ सय ७६ मत कम पाएका छन् । वामदेवले ४४ हजार ७६ मत पाएका छन् भने प्रदेशसभामा वाम गठबन्धनबाट निर्वाचित उम्मेदवारको मत जोड्दा ४५ हजार ९ सय ५२ मत हुन आउँछ ।

उनलाई पार्टीभित्रकै मानिसले निर्वाचनमा असहयोग गरेको आरोप लागेको छ । उनलाई हराउन श्याम ढकाल र दामोदर अर्याल लागेको चर्चा छ । उनको अर्को हार्नुपर्ने कारण उनी आफू ०७० सालको निर्वाचनमा बर्दिया र प्युठानबाट जितेर गइसकेपछि उपनिर्वाचनमा बर्दियालाई छाडेर प्युठान रोजे । राष्ट्रिय राजनीतिका नेताको रूपमा रहेका उनी बर्दियामा खासै टेकेनन् । त्यो पनि उनको हारको कारण हो ।

यस्तै, गोरखा–१ बाट वाम गठबन्धनबाट उम्मेदवार बनेका नारायणकाजी पनि पार्टीकै अन्तर्घातकै कारण पराजित भएका हुन् । उनले प्रदेशसभामा पाएभन्दा करिब ६ सय मत कम पाएका छन् । करिब ६ हजारले पराजित भए पनि उनी अन्तर्घातकै कारणले पराजित भएका हुन् ।

यस्तै, तनहु १ बाट कांग्रेसबाट उम्मेदवार बनेका रामचन्द्र पौडेल पनि अन्तर्घातका कारण पराजित भएका हुन् । करिब ६ हजार मतले पराजित भएका उनी कांग्रेसकै अर्का नेता गोविन्दराज जोशीका कारण पराजित भएका हुन् । पौडेल हारेपछि जोशीलाई कारबाही गर्न सिफारिससमेत गरिएको छ । पौडेल लगातार ०४८ सालदेखि उक्त निर्वाचन क्षेत्रबाट जित्दै आएका थिए ।

यस्तै, मधेसका अर्का हस्ती विमलेन्द्र निधि पनि पार्टीकै अन्तर्घातका कारण पराजित भएका छन् । तीन हजार मतको अन्तरमा पराजित भएका उनले प्रदेशसभाका उम्मेदवारभन्दा एक हजार मत कम पाएका छन् । उनी पनि पार्टीकै अन्तर्घातका कारण हारेका हुन् ।

यस्तै, काठमाडौं ४ बाट वाम गठबन्धनका उम्मेदवार बनेका डा. राजन भट्टराई पनि अन्तर्घातको शिकार बनेका छन् । वाम गठबन्धनको उक्त क्षेत्रमा करिब ४ हजार ६ सय मत बढी भए पनि उनले उक्त मत पाएनन् । करिब ३ हजार ४ सयको अन्तरमा कांग्रेसका गगन थापासँग हार व्यहोरेका उनले प्रदेशसभामा वाम गठबन्धनका उम्मेदवारले पाएभन्दा दुई हजार मत कम पाएका छन् । यदि उनले दुई हजार मत पाएको भए जित्ने सम्भावना थियो ।

यस्तै, कांग्रेस नेता विजयकुमार गच्छदारलाई टक्कर दिएकी एमालेकी भगवती चौधरी पनि अन्तर्घातको कारण पराजित भएकी छन् । गच्छदारसँग ३ सय २१ मतले पराजित भएकी उनीमाथि पनि अन्तर्घात भएको हो । उनलाई स्थानीय तहमा असहयोग गरेको आरोपमा अन्तर्घात गरिएको पार्टी पंक्तिमा चर्चा छ ।

यस्तै, नुवाकोटका अर्जुन नरसिंह केसी र डा. रामशरण महत पनि एकआपसमा बेमेलका कारण पराजित भएका हुन् । उनीहरूले एकले अर्कालाई सिध्याउन लाग्दा आफैँ हारेका छन् ।

प्रतिक्रिया