पदमार्गमा झोलुङ्गे पुल निर्माण

म्याग्दी, २८ मंसिर । नारच्याङदेखि अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्गअन्तर्गत निलगिरि खोलामा झोलुङ्गे पुल निर्माण भएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को आर्थिक सहयोग र स्थानीयवासीको श्रमदानमा उक्त पुल निर्माण भएको हो ।

एक्यापको रु १० लाख अनुदानमा ३७ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको गाउँ संरक्षण तथा पर्यटन प्रवद्र्धन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले जानकारी दिए ।

यस वर्ष निलगिरि खोलाकै अन्य दुई स्थानमा झोलुङ्गे पुल निर्माणका लागि पहल भइरहेको अध्यक्ष गुरुङले बताए । पुल निर्माण भएपछि जंघार तरेर जोखिमपूर्ण र घुमाउरो बाटो हिँड्नुपर्ने समस्या हटेको छ ।

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने पदमार्गमा पूर्वाधार निर्माणले तीव्रता पाएको छ ।

अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने आधार शिविर जोड्ने छोटो उक्त पदमार्गलाई व्यवस्थित बनाउन स्थानीय बासिन्दा र सरोकारवालाले सक्रियता देखाएका छन् ।

पदमार्गको स्तरवृद्धि, अस्थायी टहरा र झोलुङ्गे पुल निर्माणलाई प्राथमिकता दिइएको छ ।

पर्यटन विभागको रु ४० लाख अनुदानमा २०७२ सालमा नारच्याङ गाउँदेखि छेलुङ हुँदै निलगिरि खोलाको किनारैकिनार भएर आधार शिविर पुग्ने पदमार्ग निर्माण भएको थियो ।

गत वर्ष रु १० लाखको लागतमा विभिन्न ठाउँमा पदमार्ग सुधार गरिएको छ । पदमार्ग निर्माण गरेपछि आरोही र पर्यटक हेलिकप्टरबाट जानुपर्ने समस्या हटेको छ ।

पदमार्गको स्तरवृद्धि र झोलुङ्गे पुल निर्माण गरेपछि नारच्याङदेखि दुई दिनमै अन्नपूर्ण आधार शिविर पुगिने भएको छ । यो अन्नपूर्ण आधार शिविर पुग्ने सबैभन्दा छोटो पदमार्ग भएको अध्यक्ष गुरुङले बताए ।

यसअघि सहज पदमार्ग नहुँदा पर्यटक हेलिकप्टर तथा मुस्ताङको कुञ्जो हुँदै घुमाउरो बाटो भएर अन्नपूर्ण आधार शिविर जाने गरेका थिए ।

एक्याप इलाका कार्यालय घान्द्रुकका प्रमुख विदुरविक्रम कुइँकेलले पुराना पदमार्ग सडकका कारण विस्थापित भएको अवस्थामा नारच्याङ-अन्नपूर्ण बेसक्याम्प पदमार्ग वैकल्पिक गन्तव्य बन्न सक्ने सम्भावना रहेको बताए ।

पदमार्गको स्तरवृद्धिसँगै त्यहाँ पुग्ने पर्यटकको आवास सुविधाका लागि सामुदायिक लज सञ्चालन गर्नका लागि एक्यापले दिगदर्शन तयार पारेको छ । नारच्याङको लेकगाउँमा होमस्टे सञ्चालनको तयारी भएको छ ।

समथर फाँट निलो तलाउ र नजिकै उभिएका अग्ला हिमाल, सूर्योदयले चम्केका सेताम्मे हिमाललाई आँखाले चौफेरो लगाउन पाउनु अन्नपूर्ण आधार शिविरको प्रमुख विशेषता हो ।

अग्ला पहाड हुँदै झर्ने झरना, जंगली जनावर, चराचुरुङ्गी, वनस्पति, जडीबुटी र मनमोहक हिमाल उक्त पदमार्गको थप आकर्षण हो ।

प्रतिक्रिया