महोत्तरीमा १८० उम्मेदवारको जमानत जफत

गौशाला, २८ मंसिर । महोत्तरी जिल्लामा मंसिर २१ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा १८० उम्मेदवारको जमानत जफत भएको छ ।

निर्वाचन अधिकारी पिंकी रायका अनुसार जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिएका २१३ उम्मेदवारमध्ये १८० जनाको जमानत जफत भएको हो ।

कूल खसेको सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने कानूनी व्यवस्था बमोजिम जिल्लामा सम्पन्न निर्वाचनमा पूर्व सांसद चन्देश्वर झासहित १८० जनाको जमानत जफत भएको उनले बताए ।

पूर्व सांसद झाले महोत्तरी ३ नं क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनमा राजपाको बागी भएर स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

निर्वाचन अधिकारी रायका अनुसार प्रतिनिधिसभा सदस्यतर्फ निर्वाचन क्षेत्र नं १ मा नौ, क्षेत्र नं २ मा १६, क्षेत्र नं ३ मा १८ र क्षेत्र नंम्बर ४ मा १६ जनाको जमानत जफत भएको हो ।

त्यस्तै प्रदेशसभा सदस्यतर्फ निर्वाचन क्षेत्र नं १ को (क) मा आठ, (ख) मा १२, क्षेत्र नं २ को (क) मा पाँच, (ख) मा १९, क्षेत्र नं ३ को (क) मा ११, (ख) मा ३०, क्षेत्र नं ४ को (क) मा १५ र (ख) मा २१ जनाको जमानत जफत भएको उनले जानकारी दिए ।

जमानत जफत हुनेमा ३६ जना स्वतन्त्र र बाँकी अन्य दलका उम्मेदवार थिए ।

प्रतिक्रिया