कांग्रेसको पराजयबाट लिनुपर्ने शिक्षा

जनता, जनहित र जनमतभन्दा माथि कोही छैन भन्ने तथ्य साबित भइसकेको छ । विचारको लडाइँसँग विचारले नै प्रतिकार गर्न सक्ने सामथ्र्य रहनु पर्दछ । सत्ता उपभोगका लागि मात्र एकआपसमा मिलेजस्तो गर्नु अब राजनीतिक परिवशेमा निरन्तरताले स्थान पाउने छैन ।

अञ्जु कार्की

काठमाडाैं, २७ मंसिर । संविधान कार्यान्वयन र सुदृढीकरणका लागि ०७४ माघ ७ भित्र सबै तहको निर्वाचन जरुरी थियो । नेपाली जनताको ठूलो संघर्ष र बलिदानपछि जनप्रतिनिधिद्वारा संविधान निर्माण गर्ने अवसर प्राप्त भएको हो ।

तीन वटै तहको निर्वाचन सम्पन्न भएसँगै संविधान कार्यान्वयनको मार्गचित्र निर्माण भएको छ । जनप्रतिनिधिमुलुक संस्था भनेका संविधान कार्यन्वयनसँगै मुलुकको समृद्धिका साधन हुन् ।

त्यसैले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मुलुकको राजनीतिमा निकै ठूलो अग्रगामी छलाङ हो ।
शान्तिपूर्ण तवरबाट जनताले आफ्नो मताधिकारको प्रयोग गरेका छन् ।

मुलुकका राजनीतिक पार्टीहरू दुई वटा गठबन्धनमा उत्रिएर चुनावमा जानु आफैँमा अत्यन्त सकारात्मक पक्ष थियो । चुनावपछि बहुमतको स्थिर सरकार गठन हुने लक्षण दलहरूले निर्वाचनमा जानुअघि नै देखाएका थिए ।

जसलाई जनताले अन्त्यन्त सकरात्मक रूपमा लिए । एकातिर एमाले नेतृत्वमा वाम गठबन्धन र अर्कातिर नेपाली कांग्रेसको नेतृत्वमा लोकतान्त्रिक गठबन्धन चुनावमा होमिएका थिए ।

निर्वाचन परिणामले नेपाली कांग्रेसलाई भने लज्जास्पद हार स्विकार्नु परेको अवस्था छ । कुनै वेला नेपाली जनताको अगाध श्रद्धा र सम्मान पाएको मुलुककै जेठो पार्टी नेपाली कांग्रेस ठूलो पार्टीको हैसियतमा थियो ।

कांग्रेसको विधिवत स्थापना ०३ साल माघ १२ र १३ गते भएको हो । ७० वर्षको लामो इतिहास बोकेको कांग्रेसको राणाशासन अन्त्यदेखि लोकतान्त्रिक संघीय गणतन्त्रसम्म आइपुग्दा १३औँ महाधिवेशन सम्पन्न भइसकेको छ ।

पछिल्लो महाधिवेशनपछि सभापतिको बागडोर सम्हालेका सभापति शेरवहाबदुर देउवाका निम्ति निर्वाचनको यो परिणाम निकै ठूलो झड्का हो ।

पार्टीको नेतृत्व र देशको प्रधानमन्त्री पद सम्हाल्दा देउवाबाट भयानक भूलहरू भएका छन् । उनले आफूलाई सच्याउनुपर्ने थुप्रै पक्षहरू छन् । अब त्यसको समीक्षा र करेक्सन होला ।

कांग्रेस सबैभन्दा खत्तम वा खराब पार्टी भएर भन्दा पनि सभापति देउवाकै कार्यशैली तथा राजनीतिक जोड घटाउ मिलाउन चुक्दा यो नतिजा आएको हो ।

मतदाताले कांग्रेसलाई हराएका होइनन् । कम्युनिस्टहरू एकजुट भएर कांग्रेसलाई पराजित गरेको अवस्था हो । अघिल्ला निर्वाचनमा भन्दा यसपटक कांग्रेसले पाएको कुल मत खासै घटेको छैन र कतिपय ठाउँमा बढेको पनि छ ।

समानुपातिकतर्फको नतिजाले पनि त्यसलाई पुष्टि गरेको छ । केही स्थानलाई छोडेर कांग्रेसका उम्मेदवारले ५ देखि ३/४ हजारको मतान्तरले पराजित भएका छन् । जुन माओवादीको मत हो ।

तरिका मिलेन, ढंग पनि पुगेन होला तर कांग्रेस यसपटक सबै कम्युनिस्टहरूसँग एक्लै मैदानमा भिड्यो । यो नै आफैँमा महत्वपूर्ण पक्ष हो । मतदाताले सच्चिन र बलियो बन्न कांग्रेसलाई अवसर प्रदान गरेका छन् ।

स्वभाविक रूपमा कांग्रेसका पात्र र प्रवृत्तिप्रति मतदाताको गुनासो तथा वितृष्णा हुनसक्छ । तर, एउटा भरपर्दो प्रजातान्त्रिक संस्थाका रूपमा कांग्रेसप्रति मतदाताले देखाएको माया र भरोसाको हिस्सा कमजोर छैन ।

केही पात्रहरू खत्तम भए पनि कांग्रेस खराब छैन भन्ने सन्देश मतदाताले दिएका छन् । यसबाट कांग्रेसले शिक्षा लिएर आफूलाई पुनर्जागृत र पुनर्संरचना गर्दै आफ्नो भूमिका र छविलाई सच्चाउन आवश्यक छ ।

यो बाटोमा कांग्रेस अघि बढे उसको भविष्य टाढा छैन । कांग्रेसको नीति र नेतृत्वमा लागेको खिया सफा गर्न अब युवा पुस्ता अग्रसर हुनुपर्छ ।

जननायक बिपी कोइराला, लौहपुरुष गणेशमान सिंह, सन्तनेता कृष्णप्रसाद भट्टराई, श्रद्धेय नेता सुवर्णशमशेर, शान्तिनायक गिरिजाप्रसाद कोइराला र नेपालको संविधान २०७२ निर्माणका प्रमुख अभियन्ता सुशील कोइराला लगायतका नेताहरूले आ–आफ्नो कालखण्डमा उनीहरूको भूमिका सिद्धान्त र निष्ठाका लागि आदर्श मानिन्छन् ।

इतिहासका विभिन्न समयमा नेपाल र नेपाली जनताका लागि सम्पूर्ण जीवन संघर्षमा अर्पण गरेका थिए ।

देउवा पार्टी नेतृत्वमा आएपछि पार्टीलाई क्षतविक्षत गरेको पार्टीलाई आफ्नो बिर्ता ठानी निजी स्वार्थका लागि सिद्धान्त च्युत बनाउँदै लानु नयाँ पुस्तालाई समाजवादप्रति आकर्षित गर्न नसक्नु अर्थात् कांग्रेसभित्र समावेश गराउन नसक्नु साथै पार्टीभित्र अन्तरविरोध बढ्नु मुख्य कारण हुन् ।

पटक–पटक गरेर चौथोपटकसम्म प्रधानमन्त्री बनेका देउवा पूर्वराजा ज्ञानेन्द्र राजाको पालामा समेत अक्षम भनेर फालिएका थिए ।

जति वद्नाम भए पनि सत्तामा रहने उनको यो सत्ता मोहले मुलुकलाई पटक–पटक क्षति पुर्याएको छ । उनले प्रजातन्त्रमा अनेक विकृतिका नजिर स्थापना गरेका छन् ।

जम्बो मन्त्रीमण्डल, सांसद्को खरिद–बिक्री, संसद्विघटनलगायत देउवाद्वारा सिर्जित विभिन्न काण्डले लोकतन्त्र वद्नाम हुन पुगेको छ । पछिल्लोपटक प्रधानमन्त्री हुँदा पनि उनले काण्डैकाण्ड मच्चाए ।

लोकमानसिंह कार्की काण्ड, सुशीला कार्की काण्ड, नवराज सिलवाल काण्ड, राजदूत नियुक्ति काण्डजस्ता काण्डै काण्डका कारण नेपाली कांग्रेसले जनताको विश्वास र माया पाउन सकेन उनको नेतृत्वकालमा ।

फलस्वरूप आज नेपाली कांग्रेस यो अवस्थामा आउन पुग्यो । यसले नेपाली कांग्रेसमा जीवन र जिन्दगी समर्पण गर्ने कार्यकर्ता र कांग्रेसप्रति आस्था बोकेका जनतालाई ठूलै निरास र विक्षिप्त बनाएको छ ।

देउवाको अक्षम नेतृत्वको चारैतिर चर्को आलोचना भइरहेको देखिन्छ । नेपालको राजनीतिक क्षेत्रमा क्रमशः नयाँ तरंगहरू प्रस्तुत हुँदै आएका छन् ।

लोकतान्त्रिक संघर्षको उच्च स्थानमा रहेको नेपाली कांग्रेसले आज यो हविगत व्यहोर्नुपर्दा राष्ट्रिय तथा अन्तराष्ट्रिय शक्तिहरूको पनि निकै चासो बढेको छ ।

नेपाली कांग्रेस पार्टीमा सहजतापूर्वक समाजका बौद्धिक वर्ग एवं विभिन्न समुदाय, पेसा, नागरिक समुदाय एवं सामाजिक, आर्थिक क्षेत्रलाई समेट्दै जनताले आस गरेको नेतृत्वदायी क्षमता भएको नयाँ पुस्ताले पार्टीको कार्यभार लिनुपर्ने देखिन्छ ।

यस समयमा राजनीतिक संगठन सक्रियता आमजनतामा पुनर्जागरणको आभाष दिलाउन आवश्यक छ । कांग्रेसले आफ्नो पराजयसँग जोडिएका केही पृष्ठभूमि र पक्षहरूलाई केलाउन आवश्यक छ ।

नेपाल प्रहरीको आइजिपी नियुक्ति प्रकरणमा सिंगो कांग्रेसले अपजस खेप्नुपर्यो । देउवाले अडान लिन खोजे तर गृहमन्त्री रहेका पार्टीकै वरिष्ठ नेताविपरीत लाइनमा देखिए ।

संस्थागत अडान र परिपक्क गृहकार्य नहुँदा प्रहरी संगठनमा हस्तक्षेप गर्न खोजेको आरोप मात्रै खेप्नुपर्यो । राजदूत प्रकरणमा पनि देउवाको भूमिका विवादित बन्यो ।

अस्वाभाविक र अपरिचित पात्रहरू डिलका आधारमा राजदूतमा सिफारिस भए पछि पार्टीभित्रै हंगामा भयो र बाहिर पनि आलोचना भयो । यी दुवै घटनाक्रमले कांग्रेसको छविमा पनि धक्का लाग्यो ।

प्रधानन्यायाधीशविरुद्ध महाअभियोग ल्याउनु ठीक कि बेठीक भन्ने बहस आफ्नो ठाउँमा हुनसक्छ तर माओवादी केन्द्रसँग मिलेर रातारात ल्याइएको महाअभियोगबाट कांग्रेसले बढी अपजस र आरोप खेप्नुपर्यो ।

महाअभियोगमा अडिने अवस्था भएन र अन्ततः यो फिर्ता भयो । महाअभियोग एउटा भुल थियो भनेर ढिलो स्विकार्नुपर्यो ।

यसलाई भजाएर विपक्षीले कांग्रेस स्वतन्त्र न्यायालयको पक्षमा छैन भन्ने सन्देश पनि चुनावी मैदानमा राम्रैसँग प्रवेश गरायो ।

छिमेकीसँगको सम्बन्ध र कुटनीतिक सन्तुलनमा कांग्रेसले देखाएको संवेदनशीलता र सतर्कता आफ्नो ठाउँमा ठीक होला तर मास सेन्टिमेन्टलाई उपेक्षा गर्दा त्यसको परिणाम थप पीडादायक हुन्छ भन्ने सन्देश यसपटक मतदाताले दिन खोजेका छन् ।

पाँच महिना लामो नाकाबन्दीलाई नाकाबन्दी भन्न नसकेको आक्षेप खेपिसकेको कांग्रेसका लागि ‘भारतपरस्तको ट्याग’ सदाबहार आरोप हो ।

मधेसी दलहरूलाई सडकबाट संसद्मा ल्याउने महत्वपूर्ण काम कांग्रेसले गर्यो र मधेसलाई सम्बोधन गर्न संविधान संशोधनको प्रस्ताव पनि अघि बढायो ।

तर, कांग्रेसको यो पहल र सदासयतालाई मधेसी दलहरूले सम्मान गर्न सकेनन् । स्थानीय निर्वाचनका वेला पटक–पटक चुनावको मिति सारेर पहल गर्दा पनि कांग्रेसले राजपालाई चुनावमा सामेल गराउन सफल हुन सकेन ।

दुई नम्बर प्रदेशलाई अलग गरेर चुनाव गर्नुपर्ने अवस्था उत्पन्न भयो । यसमा कांग्रेसले उल्टो अपजस व्यहोर्नुपर्यो । कांग्रेसले न मधेसलाई विश्वासमा लिन सक्यो, न त तोकिएको मितिमा सबै प्रदेशमा एकैपटक चुनाव गराउन सक्यो ।

एमालेले राष्ट्रवादी ट्यागलाई ब्यानर बनाएर मतदातालाई तरंगित गर्याे । देउवा नेपाली कांग्रेस पार्टीभित्रमात्रै असफल देखिएका होइनन् । यतिवेला उनलाई अरू प्रमुख दल र नेताहरूले सम्म अक्षम ठहर्याएको महसुुस हुन्छ ।

नेकपा माओवादी केन्द्रले पनि आफ्नो अप्ठ्यारो परिस्थितिमा प्रयोग गरेर आफ्नो अनुकूलमा मौकाको फाइदा लिन सफल भएको देखिएको छ ।

तर, देउवाले आफू प्रधानमन्त्री बन्न माओवादी केन्द्रसँग कतिपय गलत सहमतिसमेत गरेका देखिन्छन् । यसवेला देशमा परस्पर बिरोधी धारहरू देखा परेका छन् ।

वाम गठबन्धनमार्फत देशमा आफूलाई प्रभावशाली देखाउन आफ्नो वैचारिक रूपमा फरक पार्टीहरू आफ्नो दुनो सोझ्याउँदै अघि बढेको देखिन्छ ।

जनता, जनहित र जनमतभन्दा माथि कोही छैन भन्ने तथ्य साबित भइसकेको छ । यसले स्वतन्त्र र सर्वोपरि महत्व राख्छ । विचारको लडाईसँग विचारले नै प्रतिकार गर्न सक्ने सामथ्र्य रहनुपर्दछ ।

सत्ता उपभोगका लागि मात्र एक आपसमा मिलेजस्तो गर्नु अब राजनीतिक परिवेशमा निरन्तरताले स्थान पाउने छैन ।

नेपालको राज्यशक्तिको स्रोत नेपाली जनता नै भएको र नेपालको सार्वभौमसत्ता नेपाली जनतामा नै नीहित रहेको तथ्यलाई हृदयंगम गरी देशको नयाँ इतिहास लेख्नका लागि नयाँ बाटोमा नयाँ संकल्पका साथ अघि बढ्न सबै नेपाली जनतालाई समयले दबाब दिइरहेको यस घडीमा नेपाल निर्माणका लागि एकजुट हुनु आवश्यक देखिन्छ ।

 

प्रतिक्रिया