सुकुम्वासी बस्तीमा खानेपानी र सरसफाइ कार्यक्रमको प्रभावकारिता

काठमाडौँ, २७ मंसिर । काठमाडौँ र भक्तपुरका विभिन्न छवटा सुकुम्वासी तथा सोवासी बस्तीमा सञ्चालन गरिएको खानेपानी तथा सरसफाइ कार्यक्रम निकै प्रभावकारी भएको मिनर्जी नामक संस्थाले दाबी गरेको छ ।

युनिसेफ नेपालको सहयोगमा मिनर्जीले काठमाडौँका भीममुक्तिश्वर, शान्तिनगर, जागृतिनगर, धौखेल र पाथीभरा तथा भक्तपुरको मनोहरामा गत वैशाखदेखि खानेपानी तथा सरसफाइसम्बन्धी जनचेतना अभिवृद्धि एवं पूर्वाधार निर्माण गरेको बुधबार राजधानीमा आयोजित कार्यक्रममा जानकारी दिइयो ।

देशका विभिन्न भेगबाट आई अव्यवस्थित रुपमा बसोबास गर्दै आएका समुदायमा खानेपानी र सरसफाइसम्बन्धी आधारभूत जानकारी र पूर्वाधारको अभावमा अनेक रोगब्याधी, वातावरणीय प्रदूषणको समस्यालाई न्यूनीकरण गर्न कार्यक्रम सञ्चालन गर्नु परेको मिनर्जीकी कार्यक्रम संयोजक स्वस्ती जोशीले बताए ।

उनका अनुसार ती बस्तीमा खानेपानी शुद्धीकरणका लागि फिल्टर जडान, नमूना शौचालय निर्माण, बायोग्यास प्लाण्ट जडान तथा जनचेतनासम्बधी विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ ।

अन्तरक्रियामा सहभागी वक्ताले राजधानीमा रहेका सुकुम्वासी तथा सो वासी बस्तीमा खानेपानी र सरसफाइको अवस्था अत्यन्त कमजोर रहेकाले यसमा सरकारी र गैरसरकारी संस्थाले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया