सी–मोदीको सन्देश : ओली सरकारसँग उच्चतम सहकार्य

काठमाडौँ, २७ मंसिर । भारत र चीन सहितका छिमेकी मित्रराष्ट्रहरूले अब बन्ने सरकारसँग मजबुत सम्बन्ध कायम गर्दै उच्चतम सहकार्य गर्ने जनाउ दिएका छन् ।

चुनावी परिणामलगत्तै वाम पक्षीय लोकतान्त्रिक गठबन्धनका कमान्डर रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आगामी सरकारसँग सहकार्य गर्ने जनाउ दिएका हुन् ।

निर्वाचन परिणाम आउन सुरु भएपछि नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरी, चिनियाँ राजदूत यु होङ र जर्मनका राजदूत माथियश मायरले एमाले अध्यक्ष ओलीसँग भेट गरी आफ्नो देशको तर्फबाट बधाई दिई सहकार्यका साथ अघि बढने जनाएका हुन् ।

नेपाली कांग्रेस लगायतका केही दलले वाम गठबन्धनको सरकारप्रति छिमेकी मित्रराष्ट्रहरू सकारात्मक नरहेको प्रचार गरेपछि भारत र चीनका राजदूतले आफ्नो देशको सरकार प्रमुखको तर्फबाट स्पष्ट बहुमत प्राप्त भएकोमा बधाई दिँदै सहकार्यका साथ अघि बढ्ने जानकारी दिएका हुन् ।

ओलीलाई सबैभन्दा पहिला बधाई तथा सहकार्यको प्रस्तावसहित सहकार्यको प्रस्ताव गर्नेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रहेका छन् ।

भारतीय राजदूत पुरीले मतगणनाको प्रारम्भिक परिणाम आएलगत्तै प्रधानमन्त्री मोदीको तर्फबाट वाम गठबन्धनका कमान्डर ओलीलाई बधाई दिनुका साथै सहकार्यका साथ अघि बढने सन्देश पुर्याएका हुन् ।

त्यसलगत्तै चिनियाँ राजदूत होङ पनि राष्ट्रपति सी जिनपिङको सन्देश लिएर ओली निवास बालकोट पुगेकी हुन् ।

जर्मनका राजदूत मागियश मायरले पनि आफ्नो देश नेपालको नयाँ सरकारसँग अझै उच्चस्तरको सम्बन्ध कायम गर्दै सहकार्य गर्न तयार रहेको भन्दै जितका लागि बधाई दिएका हुन् ।

भारत, चीनसहित अन्य देशका राजदूतहरूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डलाई पनि फोनमार्फत एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा अब बन्न लागेको सरकारसँग उच्चतम सहकार्य गर्ने सन्देश दिएका छन् ।

माओवादी अध्यक्ष दाहालले अबको सरकार ओलीकै नेतृत्वमा हुने बताएपछि भारत, चीन सहितका मित्र राष्ट्रहरूले सहकार्य गर्ने भन्दै बधाई दिएका हुन् ।

एमाले अध्यक्ष ओलीले निर्वाचन परिणामपछि दुवै छिमेकी मित्रराष्ट्रले समानताका आधारमा दुई पक्षीय सम्बन्ध सुदृढ गर्दै अघि बढ्ने र नेपाल सरकारको चाहनाअनुसार जस्तोसुकै सहकार्य गर्न तयार रहेको जानकारी दिएको बताए ।

‘चीन, भारत, जर्मनी लगायतका राजदूतहरूले भेटेरै आफ्नो देशको सरकारप्रमुखको तर्फबाट निर्वाचनमा प्राप्त सफलताका लागि बधाई दिनुभएको छ, साथसाथै नयाँ सरकारसँग उच्चतम सहकार्य गर्ने बताउनु भएको छ,’ अब बन्ने सरकारको नेतृत्व गर्न लागेका एमाले अध्यक्ष ओलीले भने ।

चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदीले नेपालमा स्थिर सरकार निर्माण भई राजनीतिक स्थायित्व कायम होस् भन्ने आफ्नो चाहना यसपटकको निर्वाचनमार्फत् पूरा भएको धारणासमेत आफ्ना राजदूतमार्फत राखेका छन् ।

‘नेपालमा स्थिर सरकार निर्माण भई राजनीतिक स्थायित्व कायम होस् भन्ने आफ्नो चाहना यसपटकको निर्वाचनमार्फत् पूरा भएको छ, यसका लागि तपार्इंलाई हार्दिक बधाई छ, नेपाल अब साँच्चीकै विकासको गतिमा अघि बढ्नेछ भन्ने हाम्रो विश्वाश छ,’ चिनियाँ र भारतीय राजदूतले आफ्नो देशको सरकार प्रमुखले ओलीलाई पठाएको सन्देश उधृत गर्दै स्रोतले भन्यो ।

ओलीको अव बन्ने सरकारले नेपाली जनताको चाहनाअनुसार विकासको गति दिनेमा आफूहरू विश्वस्त रहेको जानकारी पनि दुवै देशका कार्यकारीप्रमुखले गरेका छन् ।

बधाई सन्देश लिएर आइपुगेका दुवै देशका राजदूतलाई ओलीले मैत्रीपूर्ण सम्बन्धका लागि आफूहरू सँधै तत्पर रहेको भन्दै नेपाल सरकारले गर्ने प्रस्तावको आधारमा सहयोग हुने अपेक्षा गरेको बताएका छन् ।

‘अब बन्ने सरकारले नेपाललाई गरिब देश भन्ने हटाउन चाहेको छ, विकासको तीव्र रफ्तारमा अघि बढाउन चाहेको छ, यातायातको पहुँच सबैतिर होस् भन्ने चाहेको छ, यो काममा मित्रराष्ट्रबाट नेपालले सहयोगको अपेक्षा गर्नु स्वाभाविक हो,’ दुवै देशका राजदूतसँग ओलीको भनाई थियो ।

वाम गठबन्धनका कमान्डर ओलीले चुनावी अभियानकै क्रममा आफूहरू मित्रराष्ट्रसँग मित्रतापूर्ण सम्बन्ध कायम गर्ने उल्लेख गर्दै अर्काे राष्ट्रको आत्मसम्मानमा कसैल पनि चोट पुर्याउन नहुने धारणा सार्वजनिक गरिसकेका छन् ।

सोही आधारमा दुवै देशका कार्यकारी प्रमुखले राजदूतमार्फत सन्देश पठाउँदै अहिलेसम्म भएको भन्दा उच्चतम सहकार्य हुने प्रष्ट पारेका हुन् ।

 

प्रतिक्रिया