अफगान बलको कारबाहीमा नौजना आइएस मारिए

अफगानिस्तान, २५ मंसिर । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा अफगान सुरक्षा बलले आइतबार बिहान गरेको कारबाहीका क्रममा नौजना आइएस सशस्त्र आतङ्ककारी मारिएका छन् ।

यस कारबाहीका क्रममा अन्य चारजना आतङ्ककारी घाइतेसमेत भएका पनि समाचारमा जनाइएको छ । यस कारबाहीका क्रममा नौजना इस्लामिक स्टेटस् (आइएस) का आतङ्ककारी मारिएका प्रान्तीय सरकारका प्रवक्ता अताउल्लाह खोग्यानीले सोमबार जानकारी दिएका छन् ।

नान्गाहार प्रान्तको एक जिल्लामा लुकेर बसेका आतङ्ककारीलक्षित सुरक्षा कारबाहीमा आइएसका ती लडाकू मारिनुका साथै घाइते भएका थिए । उनीहरुलाई केही तालिबानका लडाकूले संरक्षण दिएको पनि खुलेको छ ।

यस कारबाहीका क्रममा आइएस लडाकू लुकेर बस्ने गरेका केही बासस्थानसमेत ध्वस्त भएको र हातहतियारसमेत बरामद गरिएको सुरक्षा स्रोतले जानकारी दिएको छ । नान्गाहार प्रान्तमा आतङ्ककारी समूहको बलियो प्रभाव रहेको मानिन्छ ।

अफगान र अन्तर्राष्ट्रिय बलले गएको केही महिनायता सोही जिल्लामा गरेको कारबाहीका क्रममा आइएसका सयौँ सशस्त्र लडाकू र कमाण्डरसमेत मारिएका छन् । सो क्षेत्रमा अफगानिस्तानको सेनाले यसअघि पनि सशक्त कारबाही चलाएको थियो । जसका कारण दर्जनौँ लडाकूले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया