रुपन्देहीमा मतगणना शुरु

बुटवल, २२ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाका लागि दोस्रो चरणअन्तर्गत बिहीबार सम्पन्न निर्वाचनको रुपन्देहीमा मतगणना शुरु भएको छ ।

प्रतिनिधिसभामा जिल्लाका पाँच निर्वाचन क्षेत्र र १० प्रदेशसभाअन्तर्गत भैरहवा बहुमुखी क्याम्पसमा क्षेत्र नं १,२ र ३ को मतगणनास्थल तय गरिएको छ ।

अहिले अपराह्नदेखि क्षेत्र नं १, २ र ३ को मतगणना प्रारम्भ भएको मुख्य निर्वाचन अधिकृत नरिश्वर भण्डारीले जानकारी दिए । यस्तै क्षेत्र नं ४ र ५ को जिल्लास्थित शैक्षिक तालिम केन्द्र बसडिलवामा मतगणना गर्ने व्यवस्था मिलाइएको छ ।

ती क्षेत्रको पनि सर्वदलीय सहमति कायम गरेर गणना शुरु भएको छ । जिल्लामा पाँच लाख २२ हजार ६०२ मतदातामध्ये तीन लाख ९३ हजार १५ मत अर्थात् ७५।२१ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख अयोध्याप्रसाद भण्डारीले जानकारी दिए ।

उनका अनुसार क्षेत्र नं १ मा ८७ हजार १९, क्षेत्र नं २ मा ७४ हजार ४०९, क्षेत्र नं ३ मा ८४ हजार १६२, क्षेत्र नं ४ मा ६७ हजार ८६१ र क्षेत्र नं ५ मा ७९ हजार ५६४ मत खसेको छ ।

रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले मतगणनास्थलमा उच्च सुरक्षा सतर्कता अपनाइएको जानकारी दिए । मतगणनास्थलमा सुरक्षा सतर्कताका लागि सिसी क्यामेराको व्यवस्था मिलाइएको छ । मतगणनास्थलमा उम्मेदवार र बाहिर समर्थकको ठूलो उपस्थिति छ ।

प्रतिक्रिया