एमाले १८ र माओवादी ११ सिटमा अगाडि, ३ सिटको नतिजा सार्वजनिक

काठमाडौं, २२ मंसिर । पहिलो चरणमा निर्वाचन सम्पन्न भएका ३२ जिल्लाका ३७ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये वामपन्थी गठबन्धनले २९ सिटमा अग्रता लिइरहेको छ । कांग्रेस ४ सिटमा मात्रै अगाडि देखिएको छ ।

मतगणना सकिएका तीन निर्वाचन क्षेत्रमध्ये एमालेले मनाङ र मुस्ताङमा र माओवादीले पूर्वी रुकुममा बिजय हासिल गरेको छ । मतगणना भइरहेका रसुवा, हुम्ला, मुगु र बाजुरामा कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् ।

गोरखा २ मा भने नयाँ शक्तिको अग्रता छ । ललितपुर क्षेत्र नम्बर ३ मा पनि कांग्रेसले सुरुवाती अग्रता लिएको छ । पहिलो चरणको गणनामा प्रत्यक्षतर्फ नेपाली कांग्रेस माओवादी केन्द्रभन्दा पछाडि छ ।

कुन ठाउँमा कसको अग्रता ?

नेकपा एमालेका सचिव योगेश भट्टराई ताप्लेजुङबाट फराकिलो मतान्तरसहित अगाडि छन् । कांग्रेस नेता बलबहादुर केसी सोलुखुम्बुमा ४ हजार मतले पछि परेका छन् ।

गोरखा २ मा नयाँ शक्ति पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी नेता नारायणकाजी श्रेष्ठलाई पछि पार्दै अग्रता लिएका छन् । त्यहाँ दुई नेताबीच तीब्र प्रतिस्पर्धा छ ।

सिन्धुपाल्चोक १ मा माओवादी नेता अग्नि सापकोटा कांग्रेस नेता सन्चारमन्त्री मोहनवहादुर बस्नेतभन्दा दोब्बर मतले अगाडि छन् ।सिन्धुपाल्चोक ३ मा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शसमेरलाई एमालेका शेरवहादुर तामाङले पछि पारेका छन् ।

त्यस्तै ओखलढुंगामा दुई चर्चित युवा नेता एमालेका यज्ञराज सुनुवार र कांग्रेसका रामहरी खतिवडाको प्रतिस्पर्धामा सुनुवारले एक हजार मतको अग्रता लिइरहेका छन् ।

नुवाकोटमा कांग्रेसका दुई प्रभावशाली नेता रामशरण महत र अर्जुन नरसिंह केसी मतगणना भइरहँदा पछाडि परेका छन् । केसीलाई एमालेका नारायण खतिवडाले पछि पारेका छन् भने महतलाई माओवदाीका हितवहादुर तामाङले पछि पारेका छन् ।

लम्जुङमा कांग्रेसका दिलवहादुर घर्तीको शुरुदेखिको अग्रता तोडेर माओवादीका देव गुरुङ अघि बढेका छन् । मतगणना भइरहेका ३४ निर्वाचन क्षेत्रमध्ये एमालेले १८ स्थानमा अग्रता लिएको छ भने माओवादीले ११ सिटमा अग्रता लिएको छ ।

प्रतिक्रिया