नयाँ दिल्ली,१८ मङसिर । भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय काँग्रेस पार्टीको अध्यक्ष पदमा राहुल गान्धीले उम्मेदवारी दर्ता गराएका छन् ।
राहुलकी आमा सोनिया गान्धी भारतीय काँग्रेसकी वर्तमान अध्यक्ष छिन् । उनले स्वास्थ्यलगायतका कारणले पार्टी अध्यक्ष पदमा निरन्तरता दिनसक्ने अवस्था नरहेको बताइएको छ ।
त्यसैले आगामी सन् २०१९ मा हुन लागेको पार्टीको महाधिवेशनका लागि पार्टीको अध्यक्षमा उम्मेदवारी दर्ता गराउने अन्तिम दिन सोमबारसम्म रहेको छ ।
राहुल गान्धी हाल पार्टीको उपाध्यक्ष रहेका छन् । उनी गत पाँच वर्षयता उपाध्यक्ष पदमा छन् । यस पदमा केही वर्षयता कसैले पनि उम्मेदवारी दिएको थिएन ।
पार्टीको अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउने अन्तिम समयावधि सोमबारै साँझसम्म यदि कसैले उम्मेदवारी दिएनन् भने राहुल गान्धी नै पार्टीको अध्यक्ष हुने बताइएको छ ।
सन् १९९८ बाट पार्टीको अध्यक्ष पद सम्हाल्दै आएकी सोनिया गान्धीले आफ्नो छोरालाई सो पदको बागडोर दिन लागेकी हुन् ।
अहिलेको अवस्थामा भारतीय काँग्रेसका लागि यो एक राम्रो कुरा भएको र राहुल गान्धीले अगामी दिनमा अन्यन्त राम्रोसँग कार्यसम्पादन गर्ने उत्तरी भारतीय राज्य पञ्जावका मुख्यमन्त्री अमारीन्दर सिंहले बताएका छन् ।
प्रतिक्रिया