छोरा नपाउँदा सडकको बास !

काठमाडौ । ‘बाह्र छोरा तेह्र नाती बुढाको धोक्रो काँधमाथि’ भन्ने नेपाली उखान लक्ष्मी नेपालीको जीवनमा चरितार्थ भएको छ । घरमा परिवारको स्याहारमा बस्नुपर्ने उमेरमा उनी फुटपाथमा नाङ्ले पसल थापेर जीवन धान्न बाध्य छिन् ।  आफूलाई ७० वर्ष नाघेको बताउने लक्ष्मी निःसन्तान भने होइनन् । छोरा नपाएकै आरोपमा पतिले छोडेर हिँडेपछि उनको दिन फुटपाथमा बित्न थालेको हो । ‘एकपछि अर्को गरेर लगातार तीन छोरी जन्मेपछि बुढाले छोडेर हिँडे’ उनले बताइन् ।

छोरीहरूले बेलाबेला सोधखोज गर्ने भए पनि सँगै मर्ने सँगै बाँच्ने भनी अग्निसाक्षी राखेर कसम खाएका पतिको भने कुनै खुटखबर नभएको उनी बताउँछिन् । ‘छोरीछोरी भएपछि घर छोडेर हिँडेका कहाँ गए, के गर्दैछन् केही थाहा छैन’ पतिका बारेको जिज्ञासामा उनले भनिन् । ‘मरेपछि पिण्ड दिने छोरा नभएपछि सन्तान भए नभएको के सार भो र !’ पतिले बेलाबेला भन्ने गरेको उनी सम्झिन्छिन् ।

सडकमा रातै सारी, चुरा, पोतेमा सजिएर बसेकी यी बुढी आमैलाई कसैले यसबारे प्रश्न गरे सहज जवाफ दिन्छिन् ‘मरेको लास देखेको छैन अनि सिन्दुर पोते कसरी फुकाल्नु त ?’ छोरीहरूले वास्ता गर्ने भए पनि उनीहरू सबैको विवाह भएको उनले बताइन् । ‘छोरीले हिँड त भन्छन् तर, उनका घरमा सम्धिसम्धिनीलगायत परिवारमा अरु पनि भएकाले अप्ठ्यारो लाग्यो’ उनले भनिन् ‘शास्त्रलाई मान्नु प¥यो नि ! मरेपछि पिण्ड तर्पण गर्ने छोरा त छैनन् नै बाँच्दा पनि छोरीलाई स्याहार्न लगाएर त्यो पाप कसरी पखाल्नु ?’

मकवानपुरको टिस्टुङमा गाउँकै २० वर्षीय युवासँग १३ वर्षको उमेरमा बिहे भएको बताउने लक्ष्मी काठमाडौंको टेकुमा एउटा कोठा भाडा लिएर बस्दै आएकी छन् । कृषि विकास बैंकको केन्द्रीय कार्यालय अगाडिको फुटपाथमा नाङ्ले पसल थापेर बस्न थालेको पनि २० वर्ष नाघेको ती आमैले बताइन् ।

बिहानै उठेर पकाउने खाने अनि ८÷९ बजेसम्ममा यहाँ आइपुग्ने उनको दैनिकी बनेको छ । उनको नाङ्ले पसलमा चुरोट, चिनियाँ बदाम, चकलेट, विस्कुट, गुट्खालगायतका सामग्री पाइन्छन् । दिनको ५ सयदेखि कहिले हजारसम्मको व्यापार हुने बताउने लक्ष्मी आमै दिनको २ सय जतिको नाफाले जीवन चलाएको बताउँछिन् । हातखुट्टा लागुञ्जेल कसैको बोझ नबन्ने दृढता व्यक्त गर्ने उनी भन्छिन् ‘नसकेपछि छोरीकै शरण पर्नुपरे पनि भगवानले माफ गर्लान् नि !’

प्रतिक्रिया