तेह्रथुम, ९ असोज । एउटा मानिस आफ्नै घरमा फलामको खोरमा रहेको सुन्दा जोसुकैलाई अचम्म लाग्न सक्छ तर यो यथार्थ हो । तेह्रथुमको आठराई गाउँपालिका–६ चुहानडाँडा, बोखीका उदयनारायण दाहाललाई पाँच वर्षदेखि फलामको खोरमा थुनेर राखिएको छ ।
घरको एउटा कुनामा राखिएको फलामे खोरसम्म, ३४ वर्षीय दाहाललाई वैदेशिक रोजगारीले नै पुर्याएको हो । वैदेशिक रोजगारीका लागि दाहाल विसं २०६३ मा दुवई गएका थिए । दाहाललाई कक्षा ८ मा पढ्दापढ्दै कमाउन विदेश जाने हावाले छोयो ।
बुबाआमाले रु एक लाख ५० हजार खर्च गरेर दुवई पठाइदिए । छ महिनापछि उनले पहिलो कमाइ रु ७० हजार घर पठाए । वैदेशिक रोजगारीका क्रममा दुवई पुगेका दाहालले १० महिनापछि मानसिक सन्तुलन गुमाएर घर फर्किनुपर्यो ।
दसौँ महिनामा बिरामी भएको खबर आयो, काठमाडौँ ल्याएर उपचार गर्यौँ । बुबा चूडामणि दाहालले भने, “छ महिनासम्म औषधि खाएपछि सन्चो भयो ।” निको भएपछि उदयनारायण पुनःभारतको मद्रास गए ।
दुई महिना नपुग्दै फेरि बिरामी भएर फर्किनुपर्यो । बुबाआमाले ललितपुरको मानसिक अस्पताल उपचारका गराए । अस्पतालमा डा. सुरेन्द्र शेरचनले उदयनारायणलाई ‘बाइपोलार डिस्अर्डर’ रोग लागेकाले लामो समयसम्म नियमित औषधि सेवन गर्नुपर्ने सल्लाह दिए ।
आमा मैना भन्छिन्, “औषधि उपचारमा करिब रु पाँच लाख खर्च भयो । “ऋण लिएर औषधि उपचार गरियो, एक वर्ष नबित्दै एक दिन अचानक रोग बल्झेछ । घरमा काम गरिरहेका बुबालाई काठको मुंग्रोले हिर्काएर लडायो ।
बुबा बेहोस भएपछि एम्बुलेन्स झिकाएर उपचार गर्न लानुपर्यो ।” थप उपचारका लागि खर्चको अभावमा उपचार गर्न नसकेपछि छोरालाई खोरमा राख्न बाध्य भएको विरक्तिँदै बुबा चूडामणिले बताए ।
“नियन्त्रणमा नराखे थप क्षति हुने देखेर छिमेकी जिल्ला पाँचथरको फिदिम पुगेर रु ३५ हजारमा फलामको खोर अर्डर गर्र्यौं । अहिले त्यही खोरमा थुनेर राखिएको छ ।”
छोरालाई थुनेर राख्नुपर्दा कुन बाबुआमाको मन नरोला र ?” उदयनारायण खोरभित्रै खानेकुरा थापेर खान्छन् । कपडा फेर्न, कपाल, दाह्री काट्न दुई/चार जना लाठे खोजेर उनलाई बाहिर निकाल्नुपर्छ ।
खोरभित्रै शौचालयको प्रबन्ध मिलाइएको छ । बेलाबेला सामान्य अवस्थामा उनि आउँछन् र कुरा गर्छन । सामान्य अवस्थामा आउँदा उदयनारायणले भने, “औषधि गर्न पाए ठीक हुन्थें होला !”
उदयनारायणले राम्रो उपचार पाए पहिलेकै अवस्थामा आउने परिवारको आशा छ । छोराको उपाचारका लागि दाहाल परिवारले आवश्यक सहयोगको याचना गरेको छ ।
प्रतिक्रिया