दाहालको ‘युरोपको यात्राः अक्षरको खेती’ विमोचित

ram pd dahalकाठमाडौं १४ भदौ । लेखक प्रा.रामप्रसाद दाहालको ‘युरोपको यात्राः अक्षरको खेती’ नियात्रा पुस्तक सार्वजनिक भएको छ । लेखकले युरोपको यात्राका क्रममा देखेभोगेका विषयलाई पुस्तकमा चित्रण छन् । पुस्तकको विमोचन गर्दै सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले गुरुको किताब विमोचन गर्न पाउँदा खुसी लागेको बताए ।  पुस्तकबारे प्राडा भाषाविद् माधव पोखरेलले भने, ‘ताना शर्माको बेलायततिर बरालिँदा पछिको काव्यात्मकलाई साँधेर लेखिएको यो नियात्रा कृति हो ।’

पुस्तकमा आत्मपरकता र वस्तुपरकताको समन्वय र सन्तुलन रहेको बताउँदै पोखरेलले भने, ‘पढेर पनि नसकिने, बुझेर पनि नसिद्धिने, जति पढ्यो, जत्ति बुझ्यो झन्झन् गहिरो कुवा, पोखरी, ताल, तलैया, हुँदै समुद्रमा डुबुल्की मार्दा पनि नसकिने यदि कुनै संसारमा वस्तु छ भने त्यो अक्षरको खेती नै हो ।’ लेखक दाहालले सरल वाक्यमा कर्ता, कर्म र क्रियाको संयोजन भन्दा साहित्यिक उन्मुक्ततामा कृति लेखिएको जनाए । कार्यक्रममा नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष नगेन्द्र शर्माले दाहालको लेखनी कवितात्मक र रसस्वादन गर्ने किसिमको रहेको बताए । रचनाले रौनकका साथै केही न केही सन्देश दिइरहेका जनमत मासिक पत्रिका तथा प्रतिष्ठानका अध्यक्ष मोहन दुवालले धारणा राखे ।

साहित्यकार शैलेन्द्र साकारले भने, ‘दाहालले आफूलाई याद भएका कविता गीतहरू राखेर झन् कृतिलाई दाल, भात, तरकारीपछिको अचारजस्तो चखिलो बनाउनुभएको छ ।’ कार्यक्रममा नेपाल प्राध्यापक संघका अध्यक्ष रामेश्वर उपाध्याय, नेपाल सरकारका पूर्वसचिव परराष्ट्रविद् मधुरमण आचार्य, अध्यक्ष काशीराज दाहाल, सञ्चारकर्मी अनिता आचार्यले पनि कृतिबारे बोलेका थिए । साथै सो कार्यक्रममा लेखक दाहाललाई सेयर वल्र्ड टोकियो र माया नेटवर्कले साहित्यिक र सामाजिक योगदान पु¥याएबापत २५ हजार नगदसहित ताम्रपत्र स्रष्टा सम्मान गरिएकोे थियो ।

प्रतिक्रिया