नेकका प्रिन्सिपल शोभाकान्त निष्कासन

necकाठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक) चाँगुनारायणका प्रिन्सिपल शोभाकान्त देव र भाइस प्रिन्सिपल तीर्थ निरौलालाई विद्यार्थी र स्थानीयबासी मिलेर कलेजबाट निकालेका छन् । निजीकरण गर्न सहयोग पु¥याएको भन्दै मंगलबार कलेजबाट निकालिएको जानकारी अनेरास्ववियुकी सचिवालय सदस्य आद्रता रेग्मीले दिइन् । उनका अनुसार बुधबारदेखि ती दुवैलाई कलेज प्रवेशमा रोक लगाइने भएको छ ।

सामाजिक संस्थालाई निजीकरण गरी अर्बांै रकम कुम्ल्याउने दाउमा रहेका कलेजका अध्यक्ष लम्बोदर न्यौपानेलगायत अन्य ४ जना सञ्चालकविरुद्ध विद्यार्थी स्थानीय बासिन्दासँग मिलेर कलेजको भौतिक सम्पत्ति तथा शैक्षिक भविष्य जोगाउन लागिपरेका हुन् । कलेजलाई निजीकरणबाट जोगाउन अनेरास्ववियु, नेपाल विद्यार्थी संघ र अनेरास्ववियु क्रान्तिकारीले विभिन्न निकायमा गएर कलेजलाई निजीकरण गर्न नहुने भनी बचाउ अभियान थालेका छन् ।

उनीहरूले भक्तपुर जिल्ला प्रशासन कार्यालय, चाँगुनारायण नगरपालिका र पोखरा विश्वविद्यालयमा ज्ञापनपत्र बुझाएका छन् । उनीहरूले निजीकरणविरुद्ध हस्ताक्षर अभियानसमेत सञ्चालन गरेका छन् । अनेरास्ववियुकी रेग्मीले सामाजिक संस्थाको रूपमा रहेको कलेजलाई निजीकरण गर्नबाट बचाउन ती निकायमा ज्ञापनपत्र बुझाइएको बताइन् । उनले सामाजिक संस्था भनेर शैक्षिक शुल्क लिएर कलेज सञ्चालन गरेपछि अहिले फाइदा देखेर निजीकरण गर्न खोजेको बताइन् ।

०६० मा सामाजिक संस्थाको रूपमा दर्ता गरी सञ्चालनमा रहेको उक्त कलेजलाई अध्यक्ष लम्बोदर न्यौपानेलगायत सदस्य रामरत्न उपाध्याय, लवराज भट्टराई, उपेन्द्र गौतम र सूर्यबहादुर केसीले कलेजलाई निजीकरण गरी अर्बांै रकम कुम्ल्याउने दाउमा रहेका छन् ।। कम्पनी रजिस्ट्रार कार्यालयमा निजीकरणका लागि कम्पनी दर्ता गरे पनि चौतर्फी विरोध भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन प्रक्रिया थालेको छ । बोर्डका सदस्य हरि पाण्डे, सलिल भट्टराई र संस्थापक अध्यक्ष दीपक भट्टराई भने कलेजलाई सामाजिक संस्थाको रूपमा रहनु पर्दछ भन्ने पक्षमा रहेका छन् । पाण्डे र भट्टराईलाई विद्यार्थी संगठनले साथ दिएका छन् ।

अध्यक्ष न्यौपानेविरुद्ध सञ्चालक सदस्य पाण्डे र भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त उक्त कलेजमा अहिले इन्जिनियर संकायमा स्नातक, स्नातकोत्तर तह गरी करिब १७ सय विद्यार्थी पढ्ने गर्दछन् । न्यौपानेसहित ४ जनाले निजीकरण गरी पोखरा विश्वविद्यालयबाट सम्बन्धन टुटाएर मध्यपश्चिम विश्वविद्यालय सुर्खेतबाट सम्बन्धन लिने प्रक्रिया थालेका छन् । अख्तियारमा उजुरी परेपछि अहिले सम्बन्धन नदिनका लागि अख्तियारले पत्र काटेको छ ।

प्रतिक्रिया