सीप सिकेर जीविकोपार्जन गर्दै मुक्तकमैया

धनगढी, १३ भदौ । अर्काको घरमा कमैया बसेर जीविका चलाउँदा सुन्दरी चौधरीले आफ्नो पनि पक्की घर बनाउन सकिएला भनेर कहिल्यै सोच्नु भएको थिएन । तर कमैयामुक्तिपछिको स्वतन्त्र जीवनमा गरिएको स्वरोजगारले उहाँको परिवारलाई अहिले पक्की घर बनाएर बस्ने हैसियतमा पुर्याइदिएको छ ।

कमैया बस्दाको समयमा केवल खेती सम्बन्धी काम सिकेका सुन्दरी र उनका श्रीमान् नरेश हाल डकर्मी काम गरेर मनग्य आम्दानी गरिरहेका छन् । पतिको कामलाई सघाउँदै सुन्दरी पनि डकर्मीको काम सिक्दै छिन् ।

डकर्मीको काम गरेर उािनहरुले आफ्नो पक्की घर समेत निर्माण गरिरहेका छन् । “एउटा ठाउँमा पक्की घर चुनाइ गर्ने काम पाएकै बेला अर्को ठाउँमा घर निर्माणका लागि बोलावट भइहाल्छ,” श्रीमती सुन्दरीले भनिन् ।

आर्थिक समस्याकै कारण कुनै समय विद्यालय पठाउनसक्ने अवस्थामा नरहेका उनका चार छोराछोरी अहिले पढ्न थालेका छन् ।

कैलालीको चौमालाका एक किसानको घरमा कमैयाको रुपमा विगतमा काम गरेका सुन्दरीको परिवार मुिक्तपछि धनगढीको पुरानो हवाई मैदानमा बसेका अन्य मुक्तकमैया परिवारसँगै अलग कच्ची घर बनाएर बसेको छ ।

धनगढीको पुरानो हवाई मैदानमा बसेका मुक्तकमैयालाई पुनःस्थापना जिल्ला समितिले प्रति परिवार पाँच धुर जग्गा उपलब्ध गराउने पहल थालेको छ । सोही ठाउँमा जग्गा पाइने विश्वासमा सुन्दरीसहितका पूर्वकमैया परिवार अहिले आफ्नो पक्की घर निर्माणमा लागेका छन् ।

पुरानो हवाई मैदानमा झण्डै ५० मुक्तकमैया परिवारको बसोवास छ । मुक्तिपछिका दिनमा स्वरोजगारमूलक काम सिकेर त्यसको उपयोग गर्दा भएको आम्दानीले पूर्व कमैयालाई जीविकोपार्जन गर्न सहज भएको हो ।

अर्का मुक्तकमैया गोपाल चौधरी किस्तामा विद्युतीय रिक्सा खरिद गरेर व्यवसाय गर्दै आएका छन् । उनले रु चार लाखमा रिक्सा किनेर व्यवसाय गरिरहेका छन् । रिक्सा व्यवसायबाट भएको कमाइबाट उनले पनि विस्तारै आफ्नो पक्की घर निर्माण गर्ने सोच बनाएका छन् ।

मुक्तिपछि पूर्वकमैयालाई पुनःस्थापना गराउने क्रममा जिल्ला भूमिसुधार कार्यालयलगायतका सरकारी र गैरसरकारी संघ संस्थाले दिएको सीपको पूर्व कमैया अधिकांशले उपयोगमा ल्याउँदै कमाइ गर्न थालेका हुन् ।

भूमिसुधार कार्यालयका प्रमुख लक्ष्मण कठायतले हालसम्म झण्डै चार हजार मुक्तकमैयालाई विभिन्न सीपमूलक र आयमूलक तालीम दिइएकोमा करिब ७० प्रतिशतले आफ्नो सीपको व्यवहारिक सदुपयोग गरेको देखिएको बताए ।

मुक्तकमैयाले सिकर्मी, डकर्मी, सिलाइकटाइ, बंगुरपालन, कुखुरापालन, तरकारीखेती लगायतका विषयमा तालीम पाउने गरेका छन् । सीप सिकेपछि सिकर्मी डकर्मी सिलाइकटाइ सम्बन्धी कामको व्यवहारिक उपयोग गरेर पूर्व कमैयाले मनग्य आम्दानी गरिरहेको कठायतले बताए ।

कैलालीमा पहिचान भएका आठ हजार ९०० मुक्तकमैया परिवारमध्ये अधिकांशलाई पुनःस्थापित गरिसकिएको छ । झण्डै छ सय परिवारलाई पुनःस्थापित गराउन बाँकी छ ।

प्रतिक्रिया