फार्क लडाकूहरू नयाँ पार्टीमा रूपान्तरित

बोगोटा १३ भदौ । कोलम्बियाका पूर्व विद्रोहीहरूको संगठन द रिभोलुसनरी आर्मड फोर्सेस अफ कोलम्बिया (फार्क) ले आइतबार नयाँ राजनीतिक पार्टीमा रूपान्तरित हुने प्रक्रियामा रहेको घोषणा गरेको छ । अहिलेकै व्यवस्थामा नयाँ पार्टीमार्फत सामाजिक न्यायका लागि संघर्ष गर्न पार्टीमा रूपान्तरण गर्नुपरेको उनीहरूको भनाइ रहेको छ । पार्टीको राष्ट्रिय सम्मेलनका लागि राजधानी बोगोटामा १ हजार २ सय पूर्वलडाकूहरू जम्मा भएका थिए । सम्मेलनको प्रतिनिधिको रूपमा आएका उनीहरूले पार्टीको विधान निर्माणसमेत गर्ने भएको छ ।

‘यो घटनासँगै फार्क नयाँ पार्टीमा रूपान्तरण हुने प्रक्रिया सुरु भएको छ, यो चाँडै नै वैधानिक रूपमा सक्रिय हुनेछ,’ फार्क नेता रोड्रिगो लोन्डोनोले सम्मेलनमा भनेका छन् । ‘हामीले लोकतान्त्रिक राजनीतिक प्रणाली स्थापनाका लागि निरन्तर लड्ने छौँ, यो पार्टीले कोलम्बियामा बस्नेका लागि शान्तिपूर्वक सामाजिक न्याय, मानवअधिकारको सम्मान र आर्थिक विकासका लागि काम गर्नेछ,’ टिमोचेन्कोको भनाइ थियो ।नयाँ पार्टीको नाम ‘कोलम्बियाज् रिभोलुसनरी अल्टरनेटिभ फोर्स’ रहने भएको छ । कोलम्बियामा अर्को वर्ष राष्ट्रपतीय निर्वाचन हुन लागेको छ । तर, नयाँ पार्टीले सो निर्वाचनमा आफ्नो तर्फबाट उम्मेदवार उठाउने अपेक्षा भने गरिएको छैन ।

बरु अहिलेकै राष्ट्रपति जोन म्यानुएल सान्तोषकै नेतृत्वको सत्तारूढ दलको उम्मेदवारलाई समर्थन गर्न सक्नेछ ।  कोलम्बियाको अनुदारवादी पक्ष भने अहिलेको शान्ति सम्झौताको विपक्षमा छ । फार्कको सम्मेलन आउँदो १ सेक्टेम्बरसम्ममा नयाँ पार्टी घोषणा गर्दै सम्पन्न गर्ने तयारी गरिएको छ । सान्तोष र लोन्डोनोले गत २४ नोभेम्बरमा शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए । सन् २०१८ मा हुने निर्वाचनसम्मका लागि संसद्मा नयाँ पार्टीको १० सिट दिइएको छ । शान्ति सम्झौतापछि कोलम्बियामा झन्डै ५ दशकदेखि चलेको आन्तरिक द्वन्द्व अन्त्य भएको छ । सो शान्ति सम्झौतालाई गत डिसेम्बरमा संसद्ले अनुमोदन गरेको छ ।

प्रतिक्रिया