जित निकाल्ने दाउमा नेपाली पुरुष भलिबल

1
काठमाडौं १३ भदौ । नेपाली राष्ट्रिय भलिबल टोली मंगलबार बंगलादेशसँग आमनेसामने हुँदै छन् । अघिल्लो संस्करणमा हार बेहोरेको नेपाल यसपटक जित हात पार्ने दाउका साथ मंगलबार उत्रँदै छ । पछिल्लो समय धेरै सकारात्मक सफलता हासिल गरेको नेपाली राष्ट्रिय भलिबल टोलीले घरेलु मैदानमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै छ । नेपाल र बंगलादेशले मंगलबार र बुधबार लगनखेलस्थित आर्मीको कभर्डहलमा मैत्रीपूर्ण खेल खेल्नेछन् । नेपाल र बंगलादेशको स्तर समान भएकोले सकारात्मक नतिजा निकाल्न प्रयासमा नेपाली टोली रहेको प्रशिक्षक जगदीश भट्टले दाबी गरेका छन् ।

सोमबार पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक भट्टले मंगलबारको खेललाई टोलीको स्तर बढाउने खेलको रूपमा लिएको बताए । नेपाल र बंगलादेश पछिल्लोपटक दोस्रो एभिसी सेन्ट्रल जोन भलिबलमा आमनेसामने भएका थिए । सो खेलमा नेपाल पराजित भएको थियो । नेपाली टोलीका कप्तान इम रानाले मैत्रीपूर्ण खेल भए पनि जितका लागि खेल्ने बताएका छन् । सेन्ट्रल जोनमा बंगलादेशसँग हारेका नेपालले मैत्रीपूर्ण खेल भए पनि सेन्ट्रल जोनमा भोगेको हारको बदला लिने मौका पाउनेछ । रानाको नेतृत्वमा नेपालले बंगलादेशविरुद्ध पछिल्लो ३ खेल खेलेको छ । त्यसमा नेपालले २ जित र १ मा हारको सामना गरेको छ ।खेलका लागि बंगलादेशी टोली आइतबार नै नेपाल आइपुगेका छन् ।

बंगलादेशको मैत्रीपूर्ण खेल मंगलबार २ बजे लगनखेलस्थित नेपाल आर्मीको शारीरिक व्यायाम तथा प्रशिक्षण केन्द्रमा हुनेछ । नेपाली टोलीका प्रशिक्षक भट्टले भने, हामीले पछिल्लो समय धेरै सकारात्मक सफलता हासिल गरेको छौँ । नेदरल्यान्ड प्रशिक्षकको सहयोगले टिमको कमजोर सुधार गर्न सहयोग गरेको छ । ३ हप्ताको प्रशिक्षणले टिममा धेरै सुधार गर्न सकिन्न । तर, हामीले यो अवधिमा टोलीको कमजोर पक्ष रिसिभ र ब्लक सुधार गर्न केन्द्रित भयौँ ।’ नेपालले आइतबार डेनमार्कको ‘ए’ डिभिजन क्लब भिलओभालाई हराएको थियो ।  डेनिस क्लबविरुद्धको सफलताले पनि जित हासिल गर्न सहयोग गर्ने रानाले बताए । बंगलादेशका इरानी प्रशिक्षक अली पोअर एरोजीले नेपालसँग खेल्न पाउनुलाई सुखद अनुभवका रूपमा लिएको बताए ।

अलीले भने, ‘नेपाललाई हामीले यसअघिको खेलमा हराएको थियौँ । तर, अहिलेको अवस्था फरक छ । नेपालले पछिल्लो समय राम्रो गरिरहेको छ । दुवै टिमको स्तर समान छ । जित हासिल गर्ने हामी कोशिस गछौँ ।’ बंगलादेशका कप्तान मोहमद इमरान हैदरले मैत्रीपूर्ण खेलका लागि पर्याप्त तयारी गर्न नपाए पनि जित्नका लागि खेल्ने बताए । उनले भने, ‘केही प्राविधिक कारणले खेलाडीको स्वास्थ्यमा केही असर गरेको छ । हामी त्यसबाट अगाडि बढ्दै नेपालसँग खेल्न तयार भइकेको छौँ । नेपालसँग हामीले खेलिसकेका छौँ । नेपालका केही खेलाडी राम्रा छन् । उनीहरूलाई हामीले कमजोर रूपमा लिएको छैनाैँ ।’

प्रतिक्रिया