बल्ल सबैको ध्यान २ नं. प्रदेशतर्फ

2 number state copyकाठमाडौं । स्थानीय तहको तेस्रो चरणको निर्वाचन नजिकिँदै गर्दा सरकारका साथै सबै राजनीतिक दल र निर्वाचन आयोगको ध्यान अब २ नं. प्रदेशतर्फ केन्द्रित हुन थालेका छन् । पटकपटकको निर्वाचनको मिति सारिनु, संविधान संशोधनको एजेन्डा र हालै आएको बाढीका कारण अन्योलग्रस्त अवस्थामा रहेको २ नं. प्रदेशको स्थानीय तहको निर्वाचनले सबै अप्ठाराहरू पार गर्दै भदौको पहिलो हप्तामा आइपुगेपछि गति लिन थालेको हो ।

तेस्रो चरणको निर्वाचनअन्तर्गत १ सय ३६ स्थानीय तहमा आगामी २ असोजमा निर्वाचन हुन लागेको छ । २ नं. प्रदेशका ८ जिल्लामा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १ सय ३६ स्थानीय तह कायम गरिएको छ । देशमा हाल ७ सय ५३ स्थानीय तह कायम रहेकोमा त्यसमध्ये महानगरपालिका ६, उपमहानगरपालिका ११, नगरपालिका २ सय ७६ र गाउँपालिकाको संख्या ४ सय ६० रहेको छ ।

उक्त निर्वाचनमा २६ लाख ६४ हजार ७ सय ९२ मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्ने अधिकार रहेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

 ६ हजार ६ सय २७ जनप्रतिनिधि
स्थानीय तहको तेस्रो चरणको निर्वाचनबाट ६ हजार ६ सय २७ जना जनप्रतिनिधि चुनिनेछन् । जसमा ७७–७७ प्रमुख र उपप्रमुख, ५९–५९ अध्यक्ष र उपाध्यक्ष, १ हजार २ सय ७१ वडाध्यक्ष तथा महिला, दलित र खुला गरी ५ हजार ८४ वडासदस्य निर्वाचित हुने आयोगमा प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

निर्वाचन हुने सबै जिल्लामा ७ भदौदेखि मुख्य निर्वाचन अधिकृतको कार्यालय खुलिसकेको छ । निर्वाचन अधिकृतको कार्यालय सोमबारदेखि खुल्ने तयारी छ । यसका लागि आवश्यक तयारी पूरा भइसकेको आयोगले बताएको छ ।

२१ भदौमा मनोनयन दर्ता
आयोगले २१ भदौमा उम्मेदवारको मनोनयनपत्र दाखिला गर्ने मिति तय गरेको छ । २४ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ । निर्वाचनका लागि सरकारले आवश्यक शान्तिसुरक्षालगायत अन्य व्यवस्था मिलाइसकेको बताएको छ ।

यसअघि मुलुकका प्रदेश नं ३, ४ र ६ का ३४ जिल्लाका २ सय ८३ मा ३१ वैशाख तथा प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा १४ असारमा भएको निर्वाचनबाट १ सय ७५ स्वतन्त्रसहित १४ राजनीतिक दलका २८ हजार ४ सय २३ उम्मेदवार विजयी भइसकेका छन् । तीमध्ये पुरुष १६ हजार ७ सय ९३ र महिला ११ हजार ६ सय ३० रहेको आयोगले जनाएको छ ।
बदर मत प्रतिशत घटाउन २ नं प्रदेशमा सडक नाटकसहित मतदाता शिक्षाका कार्यक्रम तथा सञ्चारकर्मीका लागि आचारसंहिताको पालनासम्बन्धी कार्यक्रम सुरु गरिएको छ ।

राजपाको जित उत्साहजनक हुने दाबी
२ नं प्रदेशको स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनता पार्टीको जित उत्साहजनक हुने राजपाले दाबी गरेको छ ।  राजपाका महासचिव केशव झाले भय र त्रासको स्थिति समाप्त भएकाले शान्तिपूर्ण र व्यापक मतदाताको सहभागितामा २ नं प्रदेशमा हुने स्थानीय तहको निर्वाचनमा पार्टीले निकै स्थानमा राम्रो विजय हासिल गर्ने विश्वास लिएको बताए ।

प्रचारप्रसार र उम्मेदवार छनोट प्रक्रिया सुरु भइसकेको उनले जानकारी दिए । घोषणापत्र बनाउने कार्यलाई अहिले तीव्र तुल्याइएको उनले बताए । स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा एमालेका १२ हजार ८ सय ४८, कांग्रेसका ९ हजार ७ सय १९, माओवादी केन्द्रका ४ हजार ३ सय १३, संघीय समाजवादी फोरम नेपालका ३ सय ८२, नेपाल लोकतान्त्रिक फोरमका २ सय ९५, राप्रपाका २ सय ५७, राष्ट्रिय जनमोर्चाका १ सय ८६, नेपाल मजदुर किसान पार्टीका ९९ जना जनप्रतिनिधि विजयी भइसकेका छन् ।

यसैगरी नयाँ शक्ति पार्टीका ८८, बहुजन शक्ति पार्टीका ३७, राष्ट्रिय जनमुक्ति पार्टीका १२, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका ७, नेकपा (माले) का ४ र नेपाल परिवार दलका १ उम्मेदवार विजयी भएका थिए ।

प्रतिक्रिया