कहिले बन्छन् भूकम्पबाट क्षतिग्रस्त ६ लाख संरचना ?

earthquakeभक्तपुर । २ वर्षअघि गएको भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणले गतिलिन सकिरहेको छैन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दिएको जानकारीअनुसार अहिलेसम्म ४७ हजार १ सय ९९ घर मात्रै पूर्णरूपमा निर्माण भएका छन् । अभैm करिब ६ लाखको हाराहारीमा भौतिक संरचना निर्माण हुन सकेका छैनन् ।

अहिलेसम्म निर्माण गरिएका संरचनाहरू सरकार र गैरसरकारी संस्थाहरूको अनुदान सहयोग र व्यक्तिगत खर्चमा निर्माण भएको र कतिपय निर्माणाधीन अवस्थामा रहेको प्राधिकरणले जनाएको छ ।

अहिले १ लाख १९ हजार ६ सय ८७ घर निर्माण भइरहेको प्राधिकरण भक्तपुरका प्रमुख मुरारी अवस्थीले बताए । प्राधिकरणले ७ लाख ६५ हजार ६ सय १८ घरधुरीलाई लाभग्राहीको सूचीमा राखेको जानकारी दिए । अहिलेसम्म निर्माण भएका र निर्माणाधीन घरको आँकडा जोड्दा १ लाख ६६ हजार ८ सय ८७ घर पूरा भइसकेको उनले बताए ।

प्राधिकरणले भूकम्पपछाडि अतिप्रभावित १४ जिल्ला र प्रभावित १७ जिल्लाका ९ लाख ९६ हजार १ सय ६२ घरको सर्भे गरेको उनले जानकारी दिए । सर्वेक्षणमा परेका यी घरमध्ये ७ लाख ६५ हजार ६ सय १८ घर लाभग्राहीको सूचीमा परेका हुन् । ०७४ साल ८ भदौसम्म ६ लाख ३५ हजार २ सय ७२ घरधनीसँग अनुदान सम्झौता भइसकेको छ । जसमध्ये ६ लाख ३ हजार ६ सय ९० धरधनीले पहिलो किस्ताको रकम पाइसकेको केन्द्रको तथ्यांकमा देखाएको उनले बताए ।

यस्तै सर्वेक्षणबाट घर मर्मत अर्थात् प्रवलीकरण सूचीमा २४ हजार ९ सय ९१ घर परेका छन् । यी घरहरूले घर मर्मतसंभारका लागि १ लाख रुपैयाँ अनुदान पाउने उनले बताए ।

उपत्यकामा फेरि सर्भे
प्राधिकरणले उपत्यकालगायत केही जिल्लामा फेरि सर्भे सुरु गरेको छ । यसअघि गरेको सर्वेक्षणमा नपरेका घर, अनुदानको लिस्टमा घर नपरेको, पुनः सर्वेक्षण गरिदिनुप¥यो भन्दै प्राधिकरणमा निवेदन परेपछि फेरि सर्भे सुरु गरिएको अवस्थीले बताए ।

२ लाख ७ हजार ८ सय ६१ घरधनीले प्राधिकरणमा गुनासो दर्ता गराएका थिए । जसमध्ये २ लाख १ हजार ९ सय ५१ गुनासो पुनरावलोकन गरिएको र १ लाख ९८ हजार ३ सय २१ गुनासो फस्र्योट भएको प्राधिकरणले जनाएको छ ।

गुनासो प्राप्त अतिप्रभावित १४ जिल्लामा पुनः सर्भेका लागि २ भदौदेखि प्राधिकरणले ३ सय ३२ जना इन्जिनियरलाई खटाएको छ । उनीहरूले भदौ मसान्तभित्र १ लाख २८ हजार घरको पुनः सर्वेक्षण गरी अनुदान लिनबाट वञ्चित हुन नदिने प्रक्रिया अघि बढाइएको प्राधिकरणले जनाएको छ । जसमा उपत्यकाका ३ जिल्लासहित १४ जिल्लामा सर्भे भइरहेको छ ।

सम्पदा निर्माणमा ढिलाइ
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपत्यकालगायत भूकम्पप्रभावित जिल्लामा रहेका दर्जनौँ सम्पदाको मर्मत तथा पुनर्निर्माणमा खासै चासो देखाएको छैन । व्यक्तिका निजी आवासको निर्माणको काममा केही तदारुकता देखाए पनि सम्पदा निर्माणमा प्राधिकरण उदासीन नै रहेको छ ।

विद्यालय तथा सांस्कृतिक सम्पदाको पुनर्निर्माणको कामलाई पनि द्रुत गतिमा अघि बढाउन सहजीकरण गर्न नसक्दा सम्पदास्थलमा अवलोकनका लागि आउने पर्यटकसमेत मन खिन्न बनाएर फर्किने गरेको भक्तपुरका स्थानीय राकेश श्रेष्ठ बताउँछन् । प्राधिकरणले १ सय ११ सांस्कृतिक सम्पदा निर्माण भइसकेको आफ्नो आँकडामा देखाए पनि महत्वपूर्ण मानिएका र विश्वसम्पदा सूचीमा समावेश सम्पदाहरूको पुनर्निर्माणको कामलाई गति दिन सकेको छैन । बौद्धनाथबाहेक अन्य सम्पदाहरूमा अझै पनि निर्माणको काम अघि बढेको छैन । प्राधिकरणले २ हजार ४ सय ५६ सांस्कृतिक सम्पदा पुनर्निर्माणको क्रममा रहेको दाबी गरेको छ ।

प्राधिकरणको आँकडाअनुसार हालसम्म ९८ सरकारी भवन निर्माण पूरा भए पनि १ सय २८ कार्यालय निर्माणको क्रममा रहेका छन् । १ सय ४० स्वास्थ्य संस्था तथा केन्द्र निर्माण भइसकेका छन् । ५६ वटा पुनर्निर्माणको क्रममा छन् । १ हजार ६ सय १ शैक्षिक संस्था पनि पुनर्निर्माणको क्रममा छन् । २ हजार ४ सय ५६ विद्यालय पुनर्निर्माण भएको प्राधिकरणले बताएको छ ।

भूकम्पपीडितले बुझे दोस्रो किस्ता
भूकम्पपीडितका लागि आवास निर्माण गर्न सरकारले दिने अनुदान स्वरूपको रकमको दोस्रो किस्ता वितरण भइरहेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण भक्तपुर शाखाले दिएको जानकारीअनुसार बुधबारसम्म दोस्रो किस्ताका लागि २ सय ६६ जनाले रकम बुझिसकेका छन् ।

दोस्रो किस्तामा प्राधिकरणले डेढ लाखका दरले रकम वितरण गरेको प्रमुख मुरारी अवस्थीले जानकारी दिए । दोस्रो किस्ताका लागि भक्तपुरमा १ अर्ब रुपैयाँ आएको र यो रकम यहाँका ७ हजार भूकम्पपीडित जो घर बनाउन सुरु गरेका र घर बनाइसकेका भूकम्पपीडितलाई वितरण गरिने उनले बताए ।

पहिलो किस्तामा प्रतिव्यक्ति ५० हजारका दरले बाँडिने भनिएको राहत रकममध्ये करिब ३८ करोड फ्रिज भएको बताउँदै प्रमुख अवस्थीले अहिले प्राधिकरणमा आवश्यक प्रक्रिया पूरा गरी आउने भूकम्पपीडित पहिचान भएको व्यक्तिले राहत रकम पाउने जानकारी दिए ।
यसमा भूकम्पपीडित भएको पहचिानसहितको कागजात आवश्यक पर्नेछ भने घर बनाउन सुरु गरेको र बनाइसकेको भए त्यसको पनि प्रमाण आवश्यक पर्ने बताइएको छ ।

काठमाडांै, भक्तपुर जिल्लाका कतिपय भूकम्पपीडित दोस्रो किस्ताबापतको रकम लिन आएका छैनन् । यसअघि काठमाडौंमा ३५ हजार ९ सय ५१ घरधुरीले अनुदान सम्झौता गरेका थिए । तैपनि, ३४ हजार ९ सय ८ जनाले पहिलो र थोरैको संख्यामा दोस्रो किस्ताको रकम लिएका छन् ।

भक्तपुरमा २१ हजार ८७ जनाले अनुदान सम्झौता गरेकोेमध्ये २० हजार ६ सय २६ जनाले पहिलो र ५० घरधुरीले दोस्रो किस्ता लिएको प्राधिकरण शाखा भक्तपुरले जानकारी दिएको छ ।

भक्तपुरका भूकम्पपीडितले पहिलो किस्ताबापतको प्रतिपरिवार ५० हजार बुझेको र दोस्रो किस्ताका लागि अभियान चलिरहेको छ । आगामी वर्षको असार मसान्तसम्म सबै भूकम्पपीडितले सबै किस्ताको रकम लिइसक्नुपर्ने प्रावधान रहेको अवस्थीले जानकारी दिए ।
वितरण भइरहेको दोस्रो किस्ताका लागि भने पीडितले आगामी पुससम्ममा रकम लिन सक्ने व्यवस्था गरिएको छ । भक्तपुरका ४ वटै नगरपालिकामा २ भदौदेखि भूकम्पपीडितको पुनः सर्वेक्षणका काम पनि सुरु भइसकेको छ ।

प्रतिक्रिया