अमेरिकी कारबाहीमा ४३ सर्वसाधारणको मृत्यु

दमास्कस २३ साउन । अमेरिकी नेतृत्वको हवाई सेनाले सिरियाको उत्तरतर्फ पर्ने राक्वा सहरमा शनिबार गरेको आक्रमणमा परी कम्तीमा ४३ जना सर्वसाधारणको मृत्यु भएको छ ।  लडाकू विमानबाट राक्वाको आवास क्षेत्रलाई लक्ष्यगरी शनिबार मध्यान्ह हवाई आक्रमण गरेको सिरियाली सरकारी समाचार संस्था सानाले जनाएको छ । राक्वामै शुक्रबार राती ७ बालबालिकाको मृत्यु भएको केही घन्टामा यो आक्रमण भएको पनि उक्त समाचार समितिले शनिबार दिएको समाचारमा उल्लेख छ । अमेरिकी गठबन्धन सेनाले आवास क्षेत्रमा लक्ष्य गरेर हवाई आक्रमण गर्ने गरेको र त्यसको विरुद्धमा विगतमा लामो समयदेखि विरोध गरिएको भए पनि हवाई कारबाही भने निरन्तर नै रहेको सानाले उल्लेख गरेको छ ।

सिरियाली अरब रेड क्रिसेन्टकी राक्वास्थित प्रतिनिधि डिना असदलाई उद्धृत गर्दै सानाले राक्वाको राष्ट्रिय अस्पतालनजिकै पनि यस्तो आक्रमण भएको पुष्टि गरेकी छिन् ।‘अस्पतालमा २० भन्दा बढी बमहरू सञ्चित गरिएको छ, अस्पतालमा रहेका विद्युतीय सामग्री, जेनेरेटर, एम्बुलेन्स र विभिन्न प्रकारका सामान पनि ती बमले नष्ट गरिदिएको छ,’ असदले भने । अस्पतालले सहरका १ लाखभन्दा बढी जनतालाई सेवा दिँदै आएको छ । असदले अस्पतालमा इस्लामिक स्टेट (आइएस) लडाकूको उपस्थिति नभएको बताए । उनले थपे, ‘राक्वा आतंकवादीका नाममा आक्रमण गर्न मिल्ने ठाउँ होइन, नष्ट गर्ने मात्र हो ।’  ‘आक्रमण विद्यालयहरू र खाजा पसललाई लक्ष्य गरेर भएको थियो, सरकारी संस्था र संरचना पनि ध्वस्त भएका छन्,’ असदले भने ।

सो संस्थाका राक्वा प्रमुख फावाज असाफले अमेरिकी नेतृत्वको गठबन्धन र कुर्दिस नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्स (एसडिएफ) राक्वामा संयुक्तरूपमा आइएसविरुद्ध लगेको बताए । उनले ६५ भन्दा बढी सरकारी संस्था र भवन पूर्णरूपमा नष्ट भएको र त्यसमध्ये चिनीमिल अरूभन्दा निकै महत्वपूर्ण रहेको बताए । हवाई आक्रमण विद्यालयहरू, बैंक, बजार क्षेत्र, खाजा पसलहरूमा बढी लक्ष्य हुने गरेको पनि उनको भनाइ थियो । यसले गर्दा उपभोक्ता तथा क्रेताहरू कोही नभएपछि सडक पूरै खाली भएको थियो ।  सिरियाको विदेश मन्त्रालयले अमेरिकी नेतृत्वको गठबन्धनलाई यहाँबाट हटाउन संयुक्त राष्ट्रसंघ मार्फत् आग्रह गर्दै आएको छ । सिरियामा सन् २०१४ देखि अमेरिकी नेतृत्वको गठबन्धनले कारबाही सुरु गरेको जनाइएको छ ।

प्रतिक्रिया