हिरोसिमा वियोगको ७२ वर्ष

हिरोसिमा २३ साउन । जापानको हिरोसिमामा सन् १९४५ को अगस्ट ६ मा एटमिक बमको आक्रमणबाट भएको नरसंहारको आइतबार सो नगरमा विशेष समारोहको आयोजना गरी स्मरण गरिएको छ ।  हिरोसिमा नगरमा जम्मा भएका दसौं हजारको संख्याका नागरिकले सन् १९४५ मा भएको सो आक्रमणको स्मरण गर्दै त्यस बम आक्रमणमा परी भएको नरसंहारमा ज्यान गुमाउने प्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । दोस्रो विश्व युद्धका समयमा अमेरिकाबाट भएको त्यस हमलामा परी कम्तीमा पनि १ लाख ४० हजार नागरिकको ज्यान गएको थियो । एटम बमको विकीरणका कारण घटनास्थल मै ती नागरिकको ज्यान गएको थियो भने अरू कैयौँ घाइते भएका थिए । उनीहरूले निकै पछिसम्म पनि स्वास्थ्य र शारीरिक जटिलताको समस्या झेलेर बसेका थिए । सो हमलाको ७२ वर्ष पूरा भएको छ । हिरोसिमामा बम खसालिएको स्थानमा प्रत्येक वर्ष यसै दिन दसौँ हजार नागरिक जम्मा हुन्छन् र शान्तिको कामना गर्ने गर्दछन् हिरोसिमाबाट प्राप्त समाचारमा जनाइएको छ ।

बम खसालिएको सो स्थानमा शान्ति स्तुपा निर्माण गरिएको छ । उक्त स्तुपामा जम्मा भएका नागरिकले संसारमा फेरि यस्तो कहिल्यै नहोस् भनेर कामना गर्ने गर्दछन् । त्यस घटनाका जीवित केही अहिले पनि रहेका छन् । उनीहरू पनि उक्त वार्षिकी कार्यक्रममा उपस्थित भएका थिए । सो वार्षिकीमा कम्तीमा पनि ५० हजार जम्मा भएका थिए ।  यो दिन हिरोसिमामा संसारका विभिन्न देशका प्रतिनिधि पनि सहभागी हुने गर्दछन् । आइतबार पनि उनीहरू यहाँ पुगेका बताइएको छ । हिरोसिमाबाट प्राप्त समाचारमा जनाएअनुसार आइतबार यहाँ विश्वका ८० देशका नागरिक आएका थिए । उनीहरूले हिरोसिमामा विश्व युद्धका समयमा भएको नरसंहारबाट अब संसारमा यस्तो हिंसा कहिल्यै नहोस् भन्ने सन्देश आफ्नो देशमा लिएर जाने बताइएको छ । दोस्रो विश्वयुद्धका समयमा अमेरिकी सेनाले सन् १९४५ को अगस्ट ६ मा हिरोसिमामा र त्यसको ३ दिनपछि ९ अगस्टमा नागासाकीमा हेलिकोप्टरबाट एटम बम खसालेर हमला गरेका थिए । यी दुवै स्थानमा गरी २ लाखभन्दा बढी मानिसको ज्यान गएको थियो ।

अमेरिकाले यी दुवै सहरमा एटम बमबाट हमला गरेपछि जापानले अगस्ट १५ मा आत्मसमर्पण गरेको थियो ।  जापानको यो आत्मसमर्पणसँगै दोस्रो विश्वयुद्धको अन्त्य भएको थियो । त्यस यता संयुक्त राष्ट्रसंघ एवं विश्वका विभिन्न देशमा कार्यरत शान्तिका कार्यकाकर्ताहरूले युद्ध नगर्न र संसारमा शान्ति स्थापना गर्न प्रेरित गर्ने गरेका छन् ।  हिरोसिमामा आयोजित विशेष वार्षिकी कार्यक्रमलाई सम्बोधन गर्दै हिरोसिमा नगरका मेयर काजुमी मात्सुइले हिरोसिमाको नरसंहार हेरेर पनि संसारका देशले युद्धको पक्षमा कुनै काम गर्न नहुने धारणा राखे । उनले बमरहित विश्व निर्माणका लागि जापान सरकारले जे गर्न सक्छ संसारका लागि त्यो गरोस भनि आग्रह पनि गरे ।  उनले त्यस समयमा जापानको हिरोसिमा सहरमा भएको मानवीय र भौतिक मात्र नभएर सांस्कृतिक र भावनात्मक क्षतिको पनि फेहरिस्त प्रस्तुत गरेको प्राप्त समाचारमा जनाइएको छ । उनले उक्त बम हमलाबाट बाँचेका नागरिकलाई थप सहयोग गर्न र उनका परिवारको मानसिक घाउ निको पार्न केही न केही काम गरोस् भीन आग्रह गरे ।

सो समारोहलाई सम्बोधन गर्दै जापानी प्रधानमन्त्री सिन्जो आबेले आणविक हतियाररहित विश्व निर्माणका लागि जापानले गरिरहेको प्रयत्न संसारमा कुनै न कुनै दिन सार्थक हुने बताए । उनले विश्वमा बढ्दो मात्रामा देखिएका विभन्न खाले हिंसाको अन्त्य गरी शान्ति स्थापनाका लागि संसारका मानिसलाई हिरोसिमा नरसंहारले सन्देश दिन सकोस् भने ।

प्रतिक्रिया