दोहा १८ साउन । आफ्नो व्यापारमाथि हस्तक्षेप गरेको र आफ्ना उत्पादनलाई बाहिरी बजारसँग पहुँच नदिई कब्जा गरेको भन्दै कतारले गल्फ राष्ट्रहरूविरुद्ध विश्व व्यापार संगठन, (डब्ल्युटिओ) मा उजुरी गरेको छ । कतारले छिमेकी गल्फ देशहरूले आफ्नो उत्पादनलाई अवैध रूपमा कब्जा गरेको र अन्तर्राष्ट्रिय व्यापारमा पनि वाधा उत्पन्न गरेको भन्दै कतारले विश्व व्यापार संगठनमा उजुरी गरेको समाचारमा जनाइएको छ । कतारका छिमेकी अरब देशहरूले नै उसमाथि नाकाबन्दी लगाएका छन् । कतारमाथि छिमेकी गल्फ देशले गत ५ जुनदेखि नाकाबन्दी लगाई कतारको उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा जान दिएका छैनन् । सुरुमा कतारमाथि अकस्मात कूटनीतिक सम्बन्ध विच्छेदको घोषणा गरेका ती देशले गएको करिब २ महिनायतादेखि कतारमाथि नाकाबन्दी लगाएका छन् भने कतार एयरवेजलाई गल्फमा उडान भर्न पनि दिएका छैनन् ।
साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स, बहराइन र इजिप्टले कतारसँगको कूटनीतिक सम्बन्ध विच्छेद गर्नुको साथै नाकाबन्दी लगाएपछि आफूमाथि अन्याय भएको भन्दै कतारले सो उजुरी दिएको बताइएको छ । उनीहरूले कतारसँगको सम्बन्धलाई पुरानै अवस्थामा ल्याउन विभिन्न सर्त पनि राखेका भए पनि कतारले भने ती कुनै पनि सर्त मान्न तयार नभएको अडान राख्दै आएको छ । कतारको अर्थ तथा वाणिज्य मन्त्रालयले मंगलबार सो जानकारी दिएको हो । उसले भनेको छ, ‘हामीमाथि आर्थिक रूपमा पनि अन्याय भएको छ, हाम्रा उत्पादनहरूलाई बाहिरी बजारसँग पहुँचको सट्टा कब्जा नै गरिएको छ, त्यसैले हामी विश्व व्यापार संगठनसँग यो विषयमा उजुरी गरेका छौँ ।’ साउदी अरब नेतृत्वको उक्त ४ देशीय गठबन्धनले कतारमाथि विभिन्न सर्त राखेर जारी राखेको विरोधका कारण कतारलाई ठूलो आर्थिक क्षति पुगेको दाबी कतारले उक्त उजुरीमा गरेको छ ।
उक्त कूटनीतिक तनावको समाधानका लागि बहराइनमा आइतबार अरब राष्ट्रका विदेशमन्त्रीहरूको बैठक बसेको भए पनि कुनै निष्कर्ष भने निस्किएको छैन । कतारको टेलिभिजन अल–जजिरा बन्द गर्नुपर्ने र इरानसँगको कूटनीतिक सम्बन्ध तोड्नुपर्ने लगायतका १३ वटा सर्त सो गठबन्धनले राखेको छ । कतार समस्याको समाधानका लागि कुवेतले मध्यस्थता गरिरहेको छ । त्यस्तै टर्कीले पनि समाधानको पहल गरिरहेको बताएको छ । तर, त्यो प्रभावकारी हुन सकिरहेको छैन । ती देशले कतारले इरानसँगको कूटनीतिक सम्बन्ध पनि तोड्नुपर्ने र कतारमा रहेको टर्कीको सैनिक पोस्ट हटाउनुपर्ने भनी राखेका सर्त मान्न कतार तयार नरहेको जानकारी यसअघि नै दिएको छ ।
प्रतिक्रिया