भेनेजुयला १७ साउन । दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा विवादास्पद संविधानसभा निर्वाचन सम्पन्न भएको छ । जसमा ४१ दशमलव ५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । ८० लाखभन्दा केही बढी मानिसले मतदान गरेको प्रमुख आयुक्त तिबिसे लुसेनाले पत्रकार सम्मेलनमा जानकारी दिइन् ।
आइतवार भएको निर्वाचनमा हिंसा भएको थियो र कम्तीमा १० जना मारिएका थिए । व्यापक विरोधबीच निर्वाचन भएको थियो । विपक्षी दलले भने जम्मा १२ प्रतिशत मतदान भएको बताएको छ । उसले निर्वाचनलाई अस्वीकार गर्दै सोमाबार थप विरोधको घोषणा गरेको छ ।राष्ट्रपति निकोलास मदुरोले निर्वाचनलाई ‘क्रान्तिका लागि सबभन्दा ठूलो मत’ का रूपमा प्रशंसा गरेका छन् । भेनेजुएलाको नयाँ संविधानसभासँग संविधान पुनर्लेखन गर्ने तथा विपक्षीको नियन्त्रणमा रहेको कंग्रेसमाथि हावी हुने अधिकार हुनेछ ।
मदुरोका अनुसार महिनौंको विरोध र राजनीतिक गतिरोधपछि शान्ति पुनर्बहालीका लागि यो नै एकमात्र उपाय थियो । तर उनका आलोचकहरूले यसलाई शक्ति हत्याउने कदम बताएका छन् । हिंसाका बाबजुद निर्वाचन ‘सफल’ रहेको तथा मतदाताको संख्या ‘असाधारण’ रहेको बताइन् ।भेनेजुएलाले नयाँ संविधानसभाका विषयमा अन्तर्राष्ट्रिय आलोचनाको सामना गरिरहेको छ र अमेरिकाले उसमाथि थप नाकाबन्दी लगाउने बताइसकेको छ ।यसअघि, संविधानसभा चुनावमा विपक्षीको अवरोधका कारण हिंसा भड्किएको थियो । सो हिंसामा कैयौं मानिस मारिएको बताइएको छ । मृत्यु हुनेमा २ जना राजनीतिज्ञ पनि छन् जसमध्ये संविधानसभाका एकजना उम्मेदवार र अर्का विपक्षी नेता छन् । चुनाव सुरु हुने बखत सडकहरू सुनसान देखिएका थिए ।
५ सय ४५ सदस्यीय संविधानसभाका लागि ६ हजारभन्दा बढी उम्मेदवार छन् तर, त्यसमा १ जना पनि विपक्षी दलबाट छैनन् ।विपक्षीहरूले सत्तामा राष्ट्रपति निकोलास मडुरोको पकड बलियो बनाउने अस्त्र भएको भन्दै मतदान बहिष्कार गरेका छन् । तर, मडुरोले देशलाई राजनीतिक र आर्थिक संकटबाट पार लगाउन त्यो एकमात्र विकल्प भएको तर्क गरेका छन् । मतदान सुरु हुनुअघि टेलिभिजनमा सम्बोधन गर्दै राष्ट्रपति मडुरोले चुनावमा ‘ठूलो जित’ हुने बताउँदै देशको राजनीतिक प्रणालीमा सबैभन्दा महत्वपूर्ण चुनाव भएको उल्लेख गरेका थिए ।भेनेजुएलाको छिमेकी मुलुक कोलम्बियाको सरकारले संविधानसभालाई आफूहरूले मान्यता नदिने बताएको छ भने फ्रान्स, स्पेन, अमेरिका र युरोपेली संघले चुनाव रद्ध गर्न आग्रह गरेका थिए । संविधानसभा निर्वाचन गराउने घोषणापछि जारी हिंसामा एक सयभन्दा बढीले ज्यान गुमाइकेका छन् ।
प्रतिक्रिया