अर्को क्षेप्यास्त्र परीक्षणको संकेत छैन ः द. कोरिया

South_Korea_2

सोल १३ साउन । उत्तर कोरियाले तत्कालै अर्काे ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गर्ने तयारी गरिरहेको भनिए पनि त्यसको कुनै संकेत नभेटिएको दक्षिण कोरियाको रक्षा मन्त्रालयले जानकारी दिएको छ । विश्व समुदायको आग्रहको बेवास्ता गर्दै उत्तर कोरियाले यसै महिनाको सुरुआतमा एक शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको समाचार आएको थियो । त्यसपछि पनि उसले लगत्तै अर्काे क्षेप्यास्त्र परीक्षण गर्नसक्ने भनी समाचारहरू आएका थिए ।दक्षिण कोरियाली रक्षा मन्त्रालयद्वारा बिहीबार सोलमा आयोजित पत्रकार सम्मेलनका क्रममा दक्षिण कोरियाली सैन्य प्रमुखले सो जानकारी दिएका हुन् । सन् १९५० देखि १९५३ सम्म भएको उत्तर र दक्षिण कोरियाबीचको युद्धपछि भएको सैन्य सम्झौताको ६४औँ वार्षिकोत्सवको अवसरमा उत्तरले यसै हप्ताभित्र अर्काे परीक्षण गर्न लागेको भनी समाचार आएको थियो ।

‘तर तत्कालका लागि उत्तर कोरियाले उत्तर र दक्षिण कोरियाली सैनिक सम्झौताको अवसर पारेर यस्तो परीक्षण गर्नसक्ने भनी आएको समाचार सही हुने अवस्था देखिँदैन’, सैनिक प्रमुखले भने । हालैका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उत्तर कोरियाले अर्काे क्षेप्यास्त्र हान्ने तयारी गरिरहेको बताएका थिए । सो समाचारको दक्षिण कोरियाली रक्षा मन्त्रालयले यसअघि पनि खण्डन गरेको थियो ।  दक्षिण कोरियाली रक्षा मन्त्रालयले आगामी केही समयभित्रै उसले अर्काे क्षेप्यास्त्र परीक्षण गर्ने बारेमा गरिएको खोजीमा त्यस्तै कुनै पनि संकेत नपाइएको जानकारी दिएको छ । यसअघि उत्तरले ४ जुलाईमा गरेको परीक्षणलाई शक्तिशाली रहेको भनिएको छ । विज्ञहरूले उक्त परीक्षण यसअघिको भन्दा शक्तिशाली रहेको र यसले अलास्कासम्म मार हान्नसक्ने खालको रहेकोसमेत बताएका छन् ।

यसअघि ४ जुलाईमा गरिएको क्षेप्यास्त्र परीक्षण दक्षिण कोरियाले गरेको पाँचौँ परीक्षण हो । यस लगत्तै उसले अर्काे छैटौँ र यस्तै शक्तिशाली परीक्षणको तयारी गरिरहेको अनुमानका बारेमा बिहीबार दक्षिण कोरियाले स्पष्ट गरेको हो । उत्तर कोरियाले गएको कम्तीमा पनि २ वर्षयतादेखि निरन्तररूपमा आणविक परीक्षण जारी राखेको छ । साथै उसले हरेक परीक्षणसँगै दक्षिण कोरिया र अमेरिकाको विरोध पनि गर्ने गरेको छ । संयुक्त राष्ट्रसंघ र विश्व समुदायले उत्तर कोरियाले बारम्बार गर्ने गरेको यस्तो आणविक परीक्षणले अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डका साथै प्रचलित कानुनको उल्लंघन गरेको प्रतिक्रिया दिँदै आएका छन् । उत्तर कोरियाली राजधानी प्योङयाङको नजिकको समुद्रबाट परीक्षण गरिएको यो क्षेप्यास्त्र अलास्कासम्म पुग्नसक्ने भनिएको थियो ।

तर, दक्षिण कोरियाले भने मंगलबारको यो परीक्षण बढीमा ९ सय ३० किलोमीटरसम्म मात्र पुग्न सक्ने बताएको छ । जापानले भने सो क्षेप्यास्त्र करिब २ हजार ५ सय किलोमिटरसम्म मार हान्न सक्ने क्षमताको रहेको अनुमान गरेको थियो ।

प्रतिक्रिया