रुस, इरान र कोरियामाथि नाकाबन्दी लगाइँदै ःअमेरिकी संसद्मा मतदान

focland

वासिंगटन ११ साउन । रुस, उत्तर कोरिया र इरानमाथि नाकाबन्दी गर्ने सम्बन्धमा अमेरिकी संसद्मा मंगलबार मतदान हुँदैछ ।  इरान र उत्तर कोरियामाथि यसअघि पनि नाकाबन्दी जारी नै छ । तर, त्यसमा पनि थप नाकाबन्दीका लागि अमेरिकी संसद्मा विधेयक लगिने भएको हो । त्यसैगरी रुसका विरुद्धमा पनि यसअघि नै पूर्वराष्ट्रपति बाराक ओबामाको प्रशासनले केही क्षेत्रमा नाकाबन्दी लगाएको थियो । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि पनि त्यसलाई खासै खारेज गर्न सकेका छैनन् । यो पछिल्लो विधेयक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अधिकार कटौतीका लागि लक्ष्य गरेर आएको छ । यस विषयमा गएको २ हप्तादेखि अमेरिकी संसद्मा व्यापक मात्रामा बहस जारी छ । उत्तर कोरिया र इरानका लागि गरिएको यो नयाँ नाकाबन्दी खासगरी पछिल्लो समयमा उत्तर कोरियाले जारी राखेको आणविक परीक्षणको विरुद्धमा गरिएको छ ।

साथै रुसका लागि लक्षित नाकाबन्दी उनले रुसका पक्षमा गर्नसक्ने कुनै पनि निर्णयको अधिकार कटौतीका लागि ल्याइएको हो । यो विधेयक पारित भएमा उनको अधिकारमाथि कांग्रेसको अंकुश कायमै रहने छ ।यस विधेयकमा राष्ट्रपति ट्रम्पले पनि प्रारम्भिकरूपमा सहमति जनाएका छन् । उनले यस विषयमा आफू सहमत भएको कुरा प्रारम्भिकरूपमा भने पनि यसको मतदानको प्रक्रियासम्म रिपब्लिकन र डेमोक्र्याटको सहमतिको आधार के हुन्छ भन्ने बारेमा केही खुलेको छैन ।  गत महिना पनि सिनेटमा रुसका विरुद्धमा नाकाबन्दी गर्ने विषयमा मतदान भएको थियो । रुसमाथि कडा खालको नाकाबन्दी लगाउने विषयमा भएको सो मतदानमा सो प्रस्तावको पक्षमा मत प्रकट भएको थियो ।  त्यस समय विषयवस्तु नखुलाइएको भए पनि रुसका विरुद्धमा कडा प्रकारको नाकाबन्दी गर्ने भनी गरिएको मतदानमा रुसका विपक्षयमा अत्यधिक मात्रामा मतदान र सहमति भएकोले यो वर्तमान विधेयकको आधार बनेको अधिकारीको भनाइ छ ।

यस विषयमा अमेरिकी कांग्रेसमा शनिबार सहमति भएको हो । सो सहमतिमा रुसमाथि नाकाबन्दी गर्ने बारेमा राष्ट्रपति ट्रम्पको दल रिपब्लिकन र डेमोक्र्याटसमेतले सहमति गरेका छन् ।  यो पछिल्लो विधेयकले हालैका दिनमा अमेरिकी राष्ट्रपति ट्रम्पको रुसी प्रशासनसँग बढ्दै गएको भनिएको सम्बन्ध थप अघि नबढोस् भनी ल्याइएको पनि अनुमान गरिएको छ । खासगरी गत वर्ष भएको अमेरिकी राष्ट्रपतिको निर्वाचनका समयमा प्रजातान्त्रिक प्यानलका प्रत्यासी हिलारी क्लिन्टनलाई हराउन रुसी अधिकारीले गरेका भनिएका गोप्य पत्राचारका विषयमा अमेरिकी सिनेट समितिमा राष्ट्रपति ट्रम्पका छोरालाई उपस्थित हुन भनेकै बेला अमेरिकी संसद्मा यो विधेयक ल्याइएको छ । त्यसैगरी हालै मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग गोप्य वार्ता गरेको भनी अमेरिकामा व्यापक मात्रामा विरोध भइरहेका बेला यो विधेयक संसद्मा ल्याइएको छ ।

यो विधेयक कांग्रेसबाट पारित भएपछि आगामी अगस्ट महिनाको अन्त्यतिर फेरि अन्तिम पारित गर्ने प्रक्रियाको लागि सिनेटमा नै फिर्ता पठाइनेछ । यो विधेयकमा शनिबार भएको दुवै पार्टीको सहमतिले आगामी दिनमा रिपब्लिकन र डेमोक्र्याट सँगसँगै र एकै आवाजका साथ काम गर्न तयार भएको पनि सन्देश दिएको बताइएको छ ।

प्रतिक्रिया